नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना, जग्गा अधिग्रहण सुरु
जलसरोकार
बाँके : निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइको पानी पुर्याउन शाखा तथा उपशाखा नहर विस्तारको काम अघि बढाएको छ । खजुरा र बैजनाथ गाउँपालिका क्षेत्रमा थप सिँचाइ सुविधा विस्तार गर्न पश्चिम मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा र उपशाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको हो ।
आयोजना निर्देशक राजु आचार्यका अनुसार गुरुवागाउँ शाखा तथा उपशाखा नहर निर्माणका लागि बाँकेका विभिन्न स्थानमा पर्ने जग्गा अधिग्रहण गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले २०८३ असोज ८ गते सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।
खजुरा गाउँपालिकाका वडा नं १, २, ५, ८ र ९ तथा बैजनाथ गाउँपालिकाका वडा नं ५ र ६ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ । अधिग्रहणमा पर्ने जग्गामध्ये साविक राधापुर गाविसका वडा नं ४ र ७, सीतापुर गाविसका वडा नं ३, ६ र ८, उढरापुर गाविसका वडा नं १ र ३ तथा रनियापुर गाविसका वडा नं ३, ६ र ९ अन्तर्गतका जग्गा रहेका छन् । यस्तै, साविक वनकटवा गाविसका वडा नं ४ र ५ अन्तर्गतका जग्गासमेत अधिग्रहण गरिनेछ ।
सम्बन्धित जग्गाधनी वा कानुनबमोजिमका वारिसले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय वा सिक्टा सिँचाइ आयोजनाको कार्यालयमा निवेदन दिई मुआब्जा दाबी गर्नुपर्नेछ ।
अधिग्रहण गरिने जग्गामा घर, गोठ, पर्खाल तथा रुख–बिरुवा रहेमा त्यसको विवरणसमेत निवेदनमा स्पष्ट रूपमा खुलाउनुपर्ने सूचनामा उल्लेख छ । त्यस्ता संरचना तथा रुख–बिरुवा बढीमा एक महिनाभित्र हटाई जग्गा खाली गरिदिनुपर्ने आयोजनाले जनाएको छ ।
सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरबाट राप्ती नदीको पश्चिम भेगमा रहेका ३३ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यस्तै, पूर्वी मूल नहरबाट राप्ती नदीको पूर्वी भेगका करिब ९ हजार हेक्टरसहित आयोजनामार्फत कूल ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । हाल करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले बताए ।
सिक्टा सिँचाइ आयोजनाका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा रु दुई अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब ५७ करोड बजेट विनियोजन गरिएकोमा चालु आवमा करिब रु एक अर्बले बजेट वृद्धि भएको हो ।
आयोजनाअन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माणको काम भइरहेको छ । सिधनीया, प्रसेनीपुर र अकलघरवा शाखा नहर निर्माणका लागि ठेक्का सम्झौता भई कामलाई तीव्रता दिइएको छ ।
यस्तै, गुरुवागाउँ र अकलघरवा शाखा तथा उपशाखा नहर र पूर्वी मूल नहरका बाँकी काम अघि बढाउन आवश्यक पूर्वतयारीका कामसमेत भइरहेको निर्देशक आचार्यले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
चार दिनको भारी वर्षामा ५४२ विपद्का घटना, २७ जनाको मृत्यु
-
चार दिनपछि खुल्यो बिपी राजमार्ग
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले माउण्टेन र दरमखोला जलविद्युत् आयाेजनाकाे विद्युत् उत्पादन र प्रसारण ठप्प,नेप्सेलाई पठाइयाे छुट्टाछुट्टै पत्र
-
दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीले बगाएपछि…