बाढीपहिरोले माउण्टेन र दरमखोला जलविद्युत् आयाेजनाकाे विद्युत् उत्पादन र प्रसारण ठप्प,नेप्सेलाई पठाइयाे छुट्टाछुट्टै पत्र
जलसरोकार
काठमाडौं : अविरल वर्षासँगै आएको बाढीपहिरोले प्रसारण लाइनका टावर, पोल तथा तारमा क्षति पुर्याएपछि म्याग्दी र बागलुङमा सञ्चालित दुई जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित ४२ मेगावाट क्षमताको मिष्ट्री खोला जलविद्युत् आयोजना र बागलुङमा सञ्चालित ९.६ मेगावाट क्षमताको दरमखोला हाइड्रो इलेक्ट्रीक परियोजनाको विद्युत् उत्पादन तथा प्रसारण बन्द भएको हो ।
दुवै आयोजनाले बाढीपहिरोका कारण विद्युत् प्रसारण अवरुद्ध भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई छुट्टाछुट्टै पत्रमार्फत दिएका छन् ।
माउण्टेन इनर्जी नेपाल लिमिटेडले सञ्चालन गरेको मिष्ट्री खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीपहिरोपछि बन्द भएको हो । कम्पनीका वरिष्ठ अधिकृत दिवाकर प्याकुरेलका अनुसार बाढीपहिरोले नेपाल विद्युत् प्राधिकरणको दाना–कुश्मा २२० केभी प्रसारण लाइनको टावरमा क्षति पुर्याएको छ ।
नेपाल विद्युत् प्राधिकरणले असोज १२ गते पठाएको पत्रअनुसार प्रसारण लाइनको टावरमा क्षति पुगेपछि आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् प्रसारण बन्द भएको कम्पनीले जनाएको छ ।
यसैगरी, बागलुङमा सञ्चालित दरमखोला हाइड्रो इलेक्ट्रीक परियोजनाको विद्युत् उत्पादन तथा प्रसारण पनि असोज ९ गतेदेखि बन्द छ । कम्पनीका सञ्चालक माधवप्रसाद खरेलका अनुसार उक्त दिन आएको बाढीले आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुर्याएको हो ।
प्रसारण संरचनामा क्षति पुगेपछि असोज ९ गते राति ८ बजेदेखि नै आयोजनाको विद्युत् उत्पादन र प्रसारण पूर्ण रूपमा बन्द रहेको कम्पनीले जनाएको छ ।
यद्यपि, बाढीले आयोजनाको हेडवर्क्स, पावरहाउस तथा अन्य मुख्य संरचनामा भने खासै क्षति नपुर्याएको कम्पनीले जनाएको छ । प्रसारण लाइनको मर्मतसम्भारको काम सम्पन्न भएपछि विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने कम्पनीले जानकारी दिएको छ ।
बाढीपहिरोका कारण उत्पादनभन्दा प्रसारण संरचनामा बढी क्षति पुगेपछि दुवै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा पठाउन नसकिएको हो । प्रसारण लाइन पुनःस्थापना भएपछि मात्र आयोजनाको विद्युत् उत्पादन र प्रसारण नियमित हुने देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
चार दिनको भारी वर्षामा ५४२ विपद्का घटना, २७ जनाको मृत्यु
-
चार दिनपछि खुल्यो बिपी राजमार्ग
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले माउण्टेन र दरमखोला जलविद्युत् आयाेजनाकाे विद्युत् उत्पादन र प्रसारण ठप्प,नेप्सेलाई पठाइयाे छुट्टाछुट्टै पत्र
-
दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीले बगाएपछि…