सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीले बगाएपछि‍…

जलसरोकार
मंगलबार, असोज १३, २०८३ | १०:१३:२९ बजे

 

म्याग्दी : कालीगण्डकी नदीमा आएको बाढीले प्रसारण लाइनका टावर नै बगाएपछि म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजना विद्युत् प्रणालीबाट बाहिरिएका छन् । बाढीले २२० केभी कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनमा क्षति पुर्‍याएपछि १७६ मेगावाट क्षमताका छ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा आपूर्ति प्रभावित भएको हो ।

अन्नपूर्ण गाउँपालिका–१ दोवाको भिरकाटेपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइन टावर कालीगण्डकीको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओम फगामीले बताए । टावरसँगै प्रसारण लाइनका तारसमेत बगाएपछि नारच्याङ क्षेत्रमा रहेका पाँचवटा जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन ।

प्रसारण लाइन अवरुद्ध भएपछि अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेका पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्त्रीखोला, ३८ मेगावाटको निलगिरी–१, ७१ मेगावाटको निलगिरी–२ र छ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् ।

मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् भने यसअघि नै केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन । यससँगै अन्नपूर्ण गाउँपालिका–४ पोखरेबगरमा रहेको १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना पनि बाढीपहिरोका कारण बन्द छ । त्यसको विद्युत्‌गृह पहिरोले पुरिएपछि गत साउनको अन्तिम सातादेखि नै आयोजना बन्द अवस्थामा छ ।

पछिल्लो क्षति असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकीमा आएको बाढीका कारण भएको हो । नदीको बहाव बढेपछि प्रसारण लाइनका टावर रहेको क्षेत्रमा कटान हुँदा टावर बगेका हुन् ।

टावर बगेपछि विद्युत् उत्पादन मात्र प्रभावित भएको छैन, म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङको विद्युत् आपूर्तिमै समस्या देखिएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रिडका प्रमुख रोशन खड्काका अनुसार अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पोखरेबगरसम्मका प्रसारण लाइनका टावरमा विपद्बाट क्षति पुगेको छ ।

क्षतिको अवस्था बुझ्न प्राधिकरणले प्राविधिक टोलीलाई स्थलमार्गबाट प्रभावित क्षेत्रमा पठाएको छ । सडक तथा सञ्चार सम्पर्कमा आएको समस्याका कारण क्षतिको विस्तृत अवस्था तत्काल पहिचान गर्न कठिन भएको खड्काले बताए ।

उनका अनुसार मुस्ताङ र म्याग्दीको उत्तरी क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्न तत्कालका लागि वैकल्पिक उपाय अपनाउने र क्षतिग्रस्त प्रसारण लाइन पुनर्निर्माणको कामलाई पनि सँगसँगै अघि बढाउने तयारी भइरहेको छ ।

पुरानो ३३ केभी प्रसारण लाइनको संरचनामा समेत बाढीपहिरोले क्षति पुर्‍याएको छ । दाना सबस्टेसनबाट मुस्ताङतर्फ विद्युत् आपूर्ति गराउने प्रयास भइरहेको भए पनि टावरमा भएको क्षतिको अवस्था पहिचान गर्न सडक र सञ्चार सम्पर्कको समस्या बाधक बनेको छ ।

यता बाढीपहिरोले विद्युत् प्रसारण संरचनासँगै सडक सम्पर्कसमेत तहसनहस पारेको छ । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकका विभिन्न ठाउँमा नदीले कटान गरेपछि आवतजावत थप कठिन बनेको छ ।

बेनीदेखि पैदल पोखरेबगर हुँदै शिख पुग्नुभएका सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)का अनुसार बेनी–पोखरेबगर सडकखण्डका धेरै ठाउँमा सडक भासिएको र कटान भएको छ । ठाउँठाउँमा पहिरो थुप्रिएको तथा विद्युत्का तार र पोलमा समेत क्षति पुगेको उनले बताए । 

सडक र विद्युत् दुवै संरचनामा क्षति पुगेपछि मुस्ताङको बाहिरी जिल्लासँगको सम्पर्कसमेत प्रभावित भएको छ । सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या छ भने विद्युत् अभावका कारण मोबाइल र इन्टरनेट सेवा पनि प्रभावित भएको स्थानीयले बताएका छन् । मुस्ताङसँगै म्याग्दी र बागलुङका ग्रामीण क्षेत्रमा समेत विद्युत्, सडक तथा यातायात सेवा अवरुद्ध बनेको स्थानीय प्रशासनले जनाएको छ ।

बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनालाई पनि असर गरेको छ । निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

कालीगण्डकीमा आएको बाढीले जलविद्युत् आयोजना, प्रसारण लाइन र सडक पूर्वाधारमा एकैपटक क्षति पुर्‍याएपछि म्याग्दीको उत्तरी क्षेत्रदेखि मुस्ताङसम्म विद्युत् आपूर्ति र यातायात दुवै चुनौतीपूर्ण बनेको छ । क्षतिग्रस्त प्रसारण संरचनाको अवस्था पहिचानपछि मात्र पुनःनिर्माणको कामले गति लिने प्राधिकरणले जनाएको छ।

 

 

प्रकाशित मिति : मंगलबार, असोज १३, २०८३ | १०:१३:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया