४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
जलसरोकार
बाँके : राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको कामलाई तीव्रता दिइएको छ । सरकारले पाँच वर्षभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएपछि पछिल्लो समय निर्माणाधीन संरचनाको काम द्रुत गतिमा अघि बढाइएको हो ।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यका अनुसार बजेट र जनशक्तिको अभाव नहुने हो भने अबको पाँच वर्षभित्र आयोजनाको पूर्वाधार निर्माणको बाँकी काम पूरा गर्न सकिनेछ । हालसम्म आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ भने पूर्वाधार निर्माणतर्फ करिब रु २४ अर्ब खर्च भइसकेको छ ।
मर्मतसम्भारको काम नियमित रूपमा चलिरहने भए पनि आयोजना निर्माणको बाँकी काम पाँच वर्षभित्र सक्ने लक्ष्यसहित काम अघि बढाइएको निर्देशक आचार्यले बताए ।
आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ । नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको आयोजनाबाट पश्चिम मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब नौ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।
हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।
आयोजनाको पहिलो गुरुयोजना विसं २०६४ मा स्वीकृत हुँदा रु १२ अर्ब ८० करोड लागतमा आर्थिक वर्ष २०७०/७१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्माणका क्रममा थप नौ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने गरी पूर्वी मूल नहरसहित अन्य संरचना थपिएपछि आयोजनाको लागत र समयावधि बढेको हो ।
आर्थिक वर्ष २०७१/७२ मा संशोधित गुरुयोजना स्वीकृत गरी रु २५ अर्ब दुई करोड लागतमा आव २०७६/७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त लक्ष्यअनुसार पनि आयोजना सम्पन्न हुन नसकेपछि विसं २०७९ मा स्वीकृत गुरुयोजनाले आयोजनाको सम्पूर्ण काम रु ५२ अर्ब ८९ करोड लागतमा आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ ।
आयोजनाका सूचना अधिकारी मनोजकुमार साहका अनुसार अहिले शाखा तथा प्रशाखा नहर निर्माणको काम धमाधम भइरहेको छ । निर्माणका लागि थप ३० वटा बोलपत्रसमेत आह्वान गरिएको छ ।
आयोजनाअन्तर्गत ४५ किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको छ । यसअन्तर्गत सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर निर्माण सम्पन्न हुने चरणमा छन् भने डुडुवा शाखा नहरको निर्माण भइरहेको छ ।
करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको डुडुवा शाखा नहरको निर्माण लामो समयदेखि अलपत्र परेको थियो । ठेकेदार कम्पनी कोस्टल पप्पु जेभीसँगको विवाद तथा अदालतमा विचाराधीन मुद्दाका कारण रोकिएको निर्माण कार्य गत वर्ष विवाद समाधान भएपछि नयाँ ठेकेदारमार्फत अघि बढाइएको हो ।
पश्चिम मूल नहरअन्तर्गत थप उपशाखा तथा प्रशाखा नहर निर्माणका लागि समेत बोलपत्र आह्वान गरिएको सूचना अधिकारी साहले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८२/८३ मा डुडुवा सिँचाइ प्रणालीअन्तर्गत करिब ९ दशमलव ५ किलोमिटर, पश्चिम नहरतर्फ शाखा, उपशाखा तथा प्रशाखा गरी नौ किलोमिटर र पूर्वी नहरतर्फ शाखा, उपशाखा तथा प्रशाखा गरी ९ दशमलव ५ किलोमिटर नहर निर्माण भएको थियो । सोही अवधिमा सिञ्चित क्षेत्र बचाउ तथा संरक्षणअन्तर्गत ७ दशमलव ५ किलोमिटर तटबन्ध निर्माण र पाँच दशमलव ५ हेक्टर जमिन अधिग्रहण गरिएको छ ।
गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाका लागि रु एक अर्ब ५७ करोड बजेट विनियोजन भएकामा रु एक अर्ब ४१ करोड खर्च भएको थियो । यो करिब ८९ प्रतिशत वित्तीय प्रगति हो । सो अवधिमा आयोजनाको भौतिक प्रगति भने ९६ प्रतिशतभन्दा बढी रहेको सूचना अधिकारी साहले बताए ।
तर आयोजनाको ५३ किलोमिटर लामो पूर्वी मूल नहर निर्माण अझै अधुरो छ । पूर्वी मूल नहरअन्तर्गत बाँधदेखि वैशागाउँ हुँदै करिब ३५ किलोमिटरसम्म नहर निर्माण भएको छ । नरैनापुर गाउँपालिका क्षेत्रमा भने निर्माण कार्य रोकिएको छ ।
दुवै मूल नहरअन्तर्गत शाखा, उपशाखा र प्रशाखा नहर निर्माण पूरा नहुँदा किसानले आवश्यक परेको समयमा खेतबारीमा सिँचाइ सुविधा पाउन नसकेको सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए । आयोजना निर्माणले गति लिए पनि नहर सञ्जाल पूर्ण रूपमा विस्तार नहुँदा अपेक्षित रूपमा सिँचाइ सुविधा उपयोग गर्न नसकिएको उनकाे भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर
-
ऊर्जा मन्त्रालयले जलविद्युत्का लाइसेन्स रोक्दा 'खोला व्यापारी' लाई खुदो पल्ट्यो
-
भेरी-बबईको नयाँ कार्यतालिका : २०८५/८६ भित्र सक्ने लक्ष्य, बाँध र विद्युत्गृहको काम अझै बाँकी
-
विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति, प्रसारण संरचना विस्तार अझै चुनौती
-
सुनकोसी-मरिणको बाँध ठेक्का निर्णायक चरणमा, पुरानो ठेक्काको विवाद र ढिलाइको मूल्य अझै बाँकी