सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत

जलसरोकार
आइतबार, भदौ २८, २०८३ | ०९:५४:३० बजे

 

बाँके : राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको कामलाई तीव्रता दिइएको छ । सरकारले पाँच वर्षभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएपछि पछिल्लो समय निर्माणाधीन संरचनाको काम द्रुत गतिमा अघि बढाइएको हो ।

सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यका अनुसार बजेट र जनशक्तिको अभाव नहुने हो भने अबको पाँच वर्षभित्र आयोजनाको पूर्वाधार निर्माणको बाँकी काम पूरा गर्न सकिनेछ । हालसम्म आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ भने पूर्वाधार निर्माणतर्फ करिब रु २४ अर्ब खर्च भइसकेको छ ।

मर्मतसम्भारको काम नियमित रूपमा चलिरहने भए पनि आयोजना निर्माणको बाँकी काम पाँच वर्षभित्र सक्ने लक्ष्यसहित काम अघि बढाइएको निर्देशक आचार्यले बताए ।

आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको आयोजनाबाट पश्चिम मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब नौ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।

आयोजनाको पहिलो गुरुयोजना विसं २०६४ मा स्वीकृत हुँदा रु १२ अर्ब ८० करोड लागतमा आर्थिक वर्ष २०७०/७१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्माणका क्रममा थप नौ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने गरी पूर्वी मूल नहरसहित अन्य संरचना थपिएपछि आयोजनाको लागत र समयावधि बढेको हो ।

आर्थिक वर्ष २०७१/७२ मा संशोधित गुरुयोजना स्वीकृत गरी रु २५ अर्ब दुई करोड लागतमा आव २०७६/७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त लक्ष्यअनुसार पनि आयोजना सम्पन्न हुन नसकेपछि विसं २०७९ मा स्वीकृत गुरुयोजनाले आयोजनाको सम्पूर्ण काम रु ५२ अर्ब ८९ करोड लागतमा आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ ।

आयोजनाका सूचना अधिकारी मनोजकुमार साहका अनुसार अहिले शाखा तथा प्रशाखा नहर निर्माणको काम धमाधम भइरहेको छ । निर्माणका लागि थप ३० वटा बोलपत्रसमेत आह्वान गरिएको छ ।

आयोजनाअन्तर्गत ४५ किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको छ । यसअन्तर्गत सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर निर्माण सम्पन्न हुने चरणमा छन् भने डुडुवा शाखा नहरको निर्माण भइरहेको छ ।

करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको डुडुवा शाखा नहरको निर्माण लामो समयदेखि अलपत्र परेको थियो । ठेकेदार कम्पनी कोस्टल पप्पु जेभीसँगको विवाद तथा अदालतमा विचाराधीन मुद्दाका कारण रोकिएको निर्माण कार्य गत वर्ष विवाद समाधान भएपछि नयाँ ठेकेदारमार्फत अघि बढाइएको हो ।

पश्चिम मूल नहरअन्तर्गत थप उपशाखा तथा प्रशाखा नहर निर्माणका लागि समेत बोलपत्र आह्वान गरिएको सूचना अधिकारी साहले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८२/८३ मा डुडुवा सिँचाइ प्रणालीअन्तर्गत करिब ९ दशमलव ५ किलोमिटर, पश्चिम नहरतर्फ शाखा, उपशाखा तथा प्रशाखा गरी नौ किलोमिटर र पूर्वी नहरतर्फ शाखा, उपशाखा तथा प्रशाखा गरी ९ दशमलव ५ किलोमिटर नहर निर्माण भएको थियो । सोही अवधिमा सिञ्चित क्षेत्र बचाउ तथा संरक्षणअन्तर्गत ७ दशमलव ५ किलोमिटर तटबन्ध निर्माण र पाँच दशमलव ५ हेक्टर जमिन अधिग्रहण गरिएको छ ।

गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनाका लागि रु एक अर्ब ५७ करोड बजेट विनियोजन भएकामा रु एक अर्ब ४१ करोड खर्च भएको थियो । यो करिब ८९ प्रतिशत वित्तीय प्रगति हो । सो अवधिमा आयोजनाको भौतिक प्रगति भने ९६ प्रतिशतभन्दा बढी रहेको सूचना अधिकारी साहले बताए ।

तर आयोजनाको ५३ किलोमिटर लामो पूर्वी मूल नहर निर्माण अझै अधुरो छ । पूर्वी मूल नहरअन्तर्गत बाँधदेखि वैशागाउँ हुँदै करिब ३५ किलोमिटरसम्म नहर निर्माण भएको छ । नरैनापुर गाउँपालिका क्षेत्रमा भने निर्माण कार्य रोकिएको छ ।

दुवै मूल नहरअन्तर्गत शाखा, उपशाखा र प्रशाखा नहर निर्माण पूरा नहुँदा किसानले आवश्यक परेको समयमा खेतबारीमा सिँचाइ सुविधा पाउन नसकेको सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए । आयोजना निर्माणले गति लिए पनि नहर सञ्जाल पूर्ण रूपमा विस्तार नहुँदा अपेक्षित रूपमा सिँचाइ सुविधा उपयोग गर्न नसकिएको उनकाे भनाइ छ ।

प्रकाशित मिति : आइतबार, भदौ २८, २०८३ | ०९:५४:३० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया