भोटेकोशी बाढीमा १६५ जनाको शव फेला, ८२६ जना सम्पर्कविहीन
जलसरोकार
काठमाडौं : चीनसँगको सीमा क्षेत्र रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिमपहिरोपछि ल्हेन्दे खोलामा आएको गेग्रानसहितको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८२६ जना सम्पर्कविहीन रहेका छन्। फेला परेका शवमध्ये ७३ जनाको सनाखत हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्। नेपाल सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना तथा सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
यसैगरी, नेपाल पर्यटन बोर्डबाट प्राप्त प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रबाट ४६६ जना विदेशी र ११३ जना नेपाली गरी ५७९ जना यात्रु बेपत्ता भएका छन्।
रसुवागढीबाट १२३ जनाको उद्धार
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र पारिएको छ। रसुवाको टिमुरेबाट हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९४ जना नेपाली र २९ जना विदेशी नागरिक रहेका छन्।
प्राधिकरणका अनुसार नेपाल सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी हालसम्म ठूलो संख्यामा प्रभावितको उद्धार गरिएको छ। तत्कालीन विवरणअनुसार हेलिकप्टरबाट २३९ जनाको उद्धार गरिएकोमा नेपाल सेनामार्फत २११ जना र निजी हेलिकप्टरमार्फत २८ जनाको उद्धार गरिएको छ।
३५ मोटरेबल र ४५ झोलुङ्गे पुलमा क्षति
बाढीले भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएका छन्।
जिल्लागत रूपमा धादिङमा २७ वटा, नुवाकोटमा १२ वटा, रसुवामा दुई वटा, गोरखामा २० वटा, नवलपरासी पूर्वमा २६ वटा, तनहुँमा नौ वटा, चितवनमा ६४ वटा र नवलपरासी पश्चिममा पाँच वटा संरचनामा क्षति पुगेको विवरण छ।
मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलनको काम भने जारी रहेको प्राधिकरणले जनाएको छ।
७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
खोज, उद्धार तथा राहत कार्यका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार ७ हजार ४१५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित छन्।
जसमध्ये नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका २ हजार ३५५ र सशस्त्र प्रहरी बल नेपालका १ हजार ७४२ जना रहेका छन्।
घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल तथा त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहितका टोली खटिएका छन्।
भोटेकोशी हुँदै त्रिशूलीमा प्रवेश गरेको थियो बाढी
प्राधिकरणका अनुसार भदौ १० गते बिहान करिब ८ः४० बजे चीनतर्फको माथिल्लो जलाधार क्षेत्रमा हिमपहिरो तथा गेग्रानका कारण नदीको बहाव अवरुद्ध भई अचानक खुलेपछि ठूलो बाढी आएको थियो।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको थियो। त्यसपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम र संकटपूर्ण अवस्था सिर्जना भएको हो।
बाढीले टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली, बट्टार र देवीघाटलगायतका क्षेत्र प्रभावित भएका छन्।
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय
सरकारले बाढीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले भोटेकोशी–त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम घोषणा गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
सरकारले बाढीमा परी मृत्यु भएकाका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता तत्काल उपलब्ध गराउने निर्णयसमेत गरेको छ। घाइतेको निःशुल्क उपचार, प्रभावित तथा विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाना तथा आवासको व्यवस्था गर्ने निर्णय भएको छ।
त्यस्तै, अवरुद्ध सडक, खानेपानी, विद्युत् तथा दूरसञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने र क्षतिग्रस्त सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक स्रोत परिचालन गर्ने निर्णय सरकारले गरेको छ।
प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सुचारु
-
बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, ५०० सोलार पावर बैंक पठाउँदै
-
अपर त्रिशूली–३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
-
भोटेकोशी बाढीमा १६५ जनाको शव फेला, ८२६ जना सम्पर्कविहीन
-
भोटेकोशी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति, दर्जनौँ कर्मचारी सम्पर्कविहीन
-
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा