तालतलैयामा हिउँदे पाहुना चराको चहलपहल बढ्यो
जलसरोकार
कञ्चनपुर — जाडो छल्नका लागि साइवेरियालगायत उत्तरका देशबाट हिउँदे पाहुना चराहरू कञ्चनपुर र कैलालीका सीमसार, नदी तथा तालतलैयामा पुग्न थालेका छन्। उत्तरी क्षेत्रका हिमाल छिचोल्दै लामो दूरी तय गरेर आउने चराको आगमनसँगै सुदूरपश्चिमका सीमसार क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।
नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराका अनुसार साइवेरिया, कीर्गिस्तान, उत्तरी चीन, तिब्बत र मङ्गोलियालगायत ठाउँबाट चराहरू हरेक वर्ष जाडो छल्न नेपालका सीमसार क्षेत्रमा आइपुग्ने गर्छन् । “त्यो क्षेत्रमा माइनस तापक्रम हुँदा चराहरू यहाँका तालतलैया र नदी क्षेत्रमा आइपुग्छन्,” उनले बताए ।
कञ्चनपुरको पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल, महाकाली र चौधर नदी, कैलालीको घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, कर्णाली नदी र डडेल्धुराको आलिताल क्षेत्रमा चराको आगमन सुरु भइसकेको डगौराले जानकारी दिए। बसाइँ सर्ने चरामध्ये हाँस प्रजातिका चरासँगै जलपन्छी र फिस्टे चराको संख्या बढी देखिएको छ ।
उनका अनुसार मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैले टाउके हाँससहित जीवल फिस्टो, डुबुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राई, मोटोठाँडे र ट्याकट्याकेललगायत प्रजाति चराहरू नेपालमा आउने गर्छन् ।
प्रत्येक वर्ष करिब एक सयभन्दा बढी प्रजातिका चरा नेपालमा जाडो छल्नका लागि आउने गरेका छन् । तीमध्ये आधाभन्दा बढी हाँस प्रजातिका हुने गर्छन् । कञ्चनपुर र कैलालीका तालतलैयामा मात्रै ३० देखि ५० प्रजातिका पाहुना चराहरू नियमित रूपमा देखिने गरेको चराविज्ञहरूले बताएका छन् ।
तर पछिल्ला वर्षहरूमा मानव अतिक्रमण र सीमसार क्षेत्रमा माछापालन बढ्दै जाँदा बसाइँ सर्ने चराको संख्या घट्दो क्रममा रहेको चराविज्ञ डगौराले बताए। उनले चराको दीर्घकालीन संरक्षणका लागि सीमसार क्षेत्रको व्यवस्थापन, जनचेतना अभिवृद्धि र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने