सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की सिक्टा सिँचाइ नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तालतलैयामा हिउँदे पाहुना चराको चहलपहल बढ्यो

जलसरोकार
आइतबार, कात्तिक ०९, २०८२ | ११:०९:४० बजे

 

कञ्चनपुर — जाडो छल्नका लागि साइवेरियालगायत उत्तरका देशबाट हिउँदे पाहुना चराहरू कञ्चनपुर र कैलालीका सीमसार, नदी तथा तालतलैयामा पुग्न थालेका छन्। उत्तरी क्षेत्रका हिमाल छिचोल्दै लामो दूरी तय गरेर आउने चराको आगमनसँगै सुदूरपश्चिमका सीमसार क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।

नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराका अनुसार साइवेरिया, कीर्गिस्तान, उत्तरी चीन, तिब्बत र मङ्गोलियालगायत ठाउँबाट चराहरू हरेक वर्ष जाडो छल्न नेपालका सीमसार क्षेत्रमा आइपुग्ने गर्छन् । “त्यो क्षेत्रमा माइनस तापक्रम हुँदा चराहरू यहाँका तालतलैया र नदी क्षेत्रमा आइपुग्छन्,” उनले बताए ।

कञ्चनपुरको पुरैनी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल, महाकाली र चौधर नदी, कैलालीको घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, कर्णाली नदी र डडेल्धुराको आलिताल क्षेत्रमा चराको आगमन सुरु भइसकेको डगौराले जानकारी दिए। बसाइँ सर्ने चरामध्ये हाँस प्रजातिका चरासँगै जलपन्छी र फिस्टे चराको संख्या बढी देखिएको छ ।

उनका अनुसार मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैले टाउके हाँससहित जीवल फिस्टो, डुबुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राई, मोटोठाँडे र ट्याकट्याकेललगायत प्रजाति चराहरू नेपालमा आउने गर्छन् ।

प्रत्येक वर्ष करिब एक सयभन्दा बढी प्रजातिका चरा नेपालमा जाडो छल्नका लागि आउने गरेका छन् । तीमध्ये आधाभन्दा बढी हाँस प्रजातिका हुने गर्छन् । कञ्चनपुर र कैलालीका तालतलैयामा मात्रै ३० देखि ५० प्रजातिका पाहुना चराहरू नियमित रूपमा देखिने गरेको चराविज्ञहरूले बताएका छन् ।

तर पछिल्ला वर्षहरूमा मानव अतिक्रमण र सीमसार क्षेत्रमा माछापालन बढ्दै जाँदा बसाइँ सर्ने चराको संख्या घट्दो क्रममा रहेको चराविज्ञ डगौराले बताए। उनले चराको दीर्घकालीन संरक्षणका लागि सीमसार क्षेत्रको व्यवस्थापन, जनचेतना अभिवृद्धि र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

प्रकाशित मिति : आइतबार, कात्तिक ०९, २०८२ | ११:०९:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया