३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
जलसरोकार
काठमाडौं : नेपालको ऊर्जा क्षेत्रको उत्पादन विस्तार, लगानी, प्रविधि र जलवायु–उत्थानशील पूर्वाधारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म काठमाडौंमा एक्स्पो आयोजना हुने भएको हो । ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पो इप्पानले आयोजना गर्दै आएको ऊर्जा क्षेत्रको पाँचौं संस्करण हो ।
आयोजकका अनुसार एक्स्पोमा नेपालको ऊर्जा उत्पादन क्षमता विस्तारसँगै विद्युत् खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा तथा जलवायु प्रविधिलाई प्राथमिकतामा राखिनेछ ।
नेपालले आगामी १० वर्षमा विद्युत् उत्पादन क्षमता ३० हजार मेगावाट पुर्याउने लक्ष्य अघि सारेको अवस्थामा उक्त लक्ष्य हासिल गर्न आवश्यक लगानी, प्रविधि, बजार र साझेदारी निर्माण गर्ने साझा मञ्चका रूपमा एक्स्पोलाई विकास गर्न लागिएको इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले जानकारी दिए ।
हाल नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा करिब ४ हजार ३ सय मेगावाट विद्युत् उत्पादन क्षमता बराबरका आयोजना निर्माण सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न आयोजनामा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको उनकाे दाबी छ । त्यस्तै, करिब ६ हजार ४ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाले अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएका छन् ।
ऊर्जा उत्पादन विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारलाई समेत एक्स्पोले समेट्नेछ ।
जलवायु परिवर्तनजन्य जोखिमका कारण जलविद्युत् तथा ऊर्जा पूर्वाधारमा देखिएको जोखिमलाई समेत एक्स्पोको महत्वपूर्ण विषय बनाइने भएको छ । पछिल्ला वर्षहरूमा विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र गेग्रान बहावका कारण जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको सन्दर्भमा सुरक्षित, दिगो तथा विपद्–उत्थानशील ऊर्जा पूर्वाधार निर्माणका विषयमा एक्स्पोमा छलफल गरिने आयोजकले जनाएको छ ।
इलाम, सङ्खुवासभा, लमजुङलगायतका क्षेत्रमा भएका बाढीपहिरोदेखि भोटेकोशी र त्रिशूली नदी बेसिनमा हालै देखिएको विपद्सम्मका घटनाबाट प्राप्त अनुभवलाई समेत ऊर्जा पूर्वाधार निर्माणमा उपयोग गर्ने गरी जलवायु–उत्थानशीलता, जोखिम न्यूनीकरण र नयाँ प्रविधिका विषयमा बहस तथा अनुभव आदानप्रदान गरिनेछ ।
इप्पानका अध्यक्ष डाँगीका अनुसार एक्स्पोमा जलविद्युत्मा मात्र सीमित नभई सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसहितको एकीकृत स्वच्छ ऊर्जा बजार प्रदर्शन गरिनेछ ।
आयोजकका अनुसार एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, सरकारी तथा नियामक निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप र विकास साझेदारबीच व्यावसायिक सम्पर्क तथा लगानी साझेदारीका अवसर सिर्जना गरिनेछ ।
एक्स्पोका क्रममा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, विद्युतीय सवारी ¥याली तथा गाला नेटवर्किङ डिनर आयोजना गरिने भएको छ ।
टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि एक्स्पोमा प्रदर्शन गरिनेछ । विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धासमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायतका मुलुकका कम्पनी तथा सरोकारवालालाई एक्स्पोमा सहभागी गराउने तयारी गरिएको छ ।
सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञलाई समेत एक्स्पोमा सहभागी गराइनेछ ।
इप्पानले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गर्दै आएको एक्स्पोलाई अब हरेक वर्ष माघ ३, ४ र ५ गते आयोजना हुने नियमित वार्षिक ऊर्जा कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । यसले ऊर्जा क्षेत्रका नीति निर्माता, लगानीकर्ता, प्रविधि प्रदायक, उपकरण उत्पादक तथा निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउने आयोजकको अपेक्षा छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ३० हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्य पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै नयाँ प्रविधि, लगानी र बजारको आवश्यकता रहेको बताए । उनका अनुसार ऊर्जा क्षेत्रको बदलिँदो स्वरूपलाई ध्यानमा राख्दै जलविद्युत्सँगै सम्पूर्ण स्वच्छ ऊर्जा क्षेत्रलाई एक्स्पोमा समेट्न लागिएको हो ।
आयोजकले एक्स्पोमा १ सयभन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ । प्रदर्शनीसँगै ज्ञान, प्रविधि, लगानी तथा व्यावसायिक सम्पर्कलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
एक्स्पोका लागि स्टल बुकिङ तथा सहभागिता खुला गरिएको आयोजकले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स