सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्‌का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला

जलसरोकार
शुक्रबार, असोज ०२, २०८३ | १०:०४:३८ बजे

 

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले भोटेकोशी–त्रिशूली क्षेत्रका क्षतिग्रस्त जलविद्युत्‌का आयोजनामा कार्यरत ८५८ जना कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। यसबीच नेपाल इन्जिनियर्स एसोसिएसनको पछिल्लो विवरणअनुसार बेपत्तामध्ये १७ जना इन्जिनियर तथा प्राविधिकको शव फेला परिसकेको छ।

इप्पानका अनुसार प्रभावित १२ आयोजनामध्ये ८ वटा २८१ मेगावाट क्षमताका सञ्चालनमा रहेका र ४ वटा ३८८ मेगावाट क्षमताका निर्माणाधीन आयोजना छन्। यी आयोजनामध्ये ११ वटामा कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भएको छ। आयोजनाका ठूलो संख्यामा कर्मचारी तथा कामदार सुरुङ तथा आयोजनास्थलमा सम्पर्कविहीन भएपछि उद्धार तथा खोजी कार्य अझै जारी छ।

माथिल्लो त्रिशूली–१ को सुरुङमा फसेका तथा हराइरहेकाको खोजीका लागि नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत मिनी एक्साभेटर आयोजनास्थलमा पुर्‍याइएको छ। उपलब्ध दुईवटा एक्साभेटर प्रयोग गरी सुरुङभित्र थुप्रिएको गेग्रान हटाउँदै खोजी भइरहेको आयोजनाले जनाएको छ।

आयोजनाको एग्जिट–३ सुरुङबाट अपस्ट्रीमतर्फ आएको गेग्रानको बहाव रहेको क्षेत्रमा एक्साभेटर प्रयोग गरी गेग्रान बगेको दिशाको विपरीततर्फ खोजी भइरहेको छ। खोजी तथा उद्धारका लागि आवश्यक जेनेरेटर र कटिङ सेटसमेत हेलिकप्टरमार्फत आयोजनास्थलमा पुर्‍याइएको छ।

हराइरहेकाको खोजीका लागि सर्च डग परिचालन गर्ने तयारीसमेत गरिएको छ। हेलिकप्टरमार्फत खोजी कुकुर आयोजनास्थल लैजान नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिएको र अनुमति प्राप्त भएपछि परिचालन गरिने आयोजनाले जनाएको छ।

 

प्रकाशित मिति : शुक्रबार, असोज ०२, २०८३ | १०:०४:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया