काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले मुलुक अब बिजुली बेच्ने अवस्थामा पुगेको घोषणा गरिरहँदा देशले खपत गर्ने आधा बिजुली भने भारतबाट आयात भइरहेको छ । प्रधानमन्त्री ओली गत माघ १९ गते देशकै ठूलो ४०० केभीको ढल्केबर सवस्टेशन उद्घाटन गर्दै अब नेपाल बिजुली निर्यात गर्ने अवस्थामा पुगेको उद्घोष गरेका थिए ।
ओलीले पर्वतको एउटा सवस्टेशनको भर्चुअल उद्घाटनमा पनि तिनै शब्द दोहोर्याएका थिए । ओलीले बोल्ने मौका पाउनासाथ बिजुली निर्यातको कुरा गर्न छाड्दैनन् । तर यथार्थ भने ठीक उल्टो छ । मुलुकको कूल १४८० मेगावाटको विद्युत् मागमा आधाभन्दा बढी भारतबाट आयात भइरहेको तथ्यांक छ । विद्युत् प्राधिकरण र निजी क्षेत्रका उत्पादन घटेको र आयात बढेको विद्युत् प्राधिकरणले जनाएको छ ।
पूर्वदेखि पश्चिमसम्मका विद्यमान नाकाहरुबाट बिजुली आयात हुँदै आएको छ । सबैभन्दा धेरै ४०० केभीको ढल्केबर-मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइनबाट आयात भइरहेको छ । यस सम्बन्धमा प्राधिकरणको प्रसारण निर्देशनालयका प्रमुख सुरेश भट्टराईले यो लाइनबाट तीन सय मेगावाट आयात भइरहेको जानकारी दिए । अघिपछि ढल्केबाट २५० मेगावाट आउँथ्यो । प्राधिकरणले यही लाइनबाट थप सय मेगावाट बिजुली ल्याउन प्रक्रिया अघि बढाइसकेको छ ।
प्राधिकरणले दुहबी-कटैया १३२ केभी प्रसारण लाइनबाट २०० मेगावाट बिजुली लिइरहेको छ । १३२ केभीकै रक्सौल-परवानीपुरबाट ८५ मेगावट, १३२ केभीकै गण्डक-रामनगरबाट ५२ मेगावाट, टनकपुरबाट ८० मेगावाट (१७ मेगावाट निःशुल्कसमेत), नानपाराबाट १० मेगावाट, आवश्यक परेको बेला राजविराज नाकाबाट ४ मेगावाट बिजुली आयत भइरहेको भट्टराईले उल्लेख गरे ।
यसरी आयात बढ्नुमा स्वदेशका निजी र स्वयं प्राधिकरणको उत्पादन घट्नु र माग भने बढ्नु रहेको छ । उनका अनुसार, करिब सात सय मेगावाट जडित क्षमता भएको निजी क्षेत्रले यतिबेला मुश्किलले २५० मेगावाट उत्पादन गरिरहेका छन् । प्राधिकरणको अर्धजलाशययुक्त र जलाशययुक्तसहित ४५० मेगावाट उत्पादन भएको छ ।
खोलामा पानीको स्तर निकै घटेकाले बिजुली उत्पादन ओरालो लागेको हो । १४४ मेगावाटको देशकै ठूलो कालीगण्डकी ‘ए’ ले यतिबेला ५२ मेगावाट मात्र उत्पादन गर्न सक्छ । कालीगण्डकीले केवल चार घण्टाका लागि मात्र जडित क्षमताअनुसार उत्पादन गर्न सक्छ । यसका लागि अरु बेला पानी थुनेर जम्मा गर्नुपर्ने (पिकिङ) हुन्छ ।
देशकै दोस्रो ठूलो मध्य-मर्स्याङ्दी (७० मेगावाट) ले यतिबेला २८ मेगावाट उत्पादन गरेको भट्टराईले जानकारी दिए । त्यसैगरी ६९ मेगावाटको तल्लो मर्स्याङ्दीले पनि ३० मेगावाटभन्दा बढी उत्पादन गर्न सकेको छैन । ३० मेगावाटको चमेलियाको उत्पादन १० मेगावाट छ ।
अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने खिम्ती, भोटेकोसी, माथिल्लो मर्स्याङ्दीका उत्पादन पनि घटेका छन् । ६० मेगावाटको खिम्तीको उत्पादन करिब २८ मेगावाटमा सीमित भएको छ । ४५ मेगावाटको भोटेकोसी १७ मेगावाटमा झरेको छ । एक सय दुई वटा निजी क्षेत्रका जलविद्युत् गृहले २४० मेगावाटभन्दा बढी उत्पादन गर्न सकेका छैनन् ।
जाडोमा बिजुलीको माग अत्यधिक बढेको र औद्योगिक ग्राहकले पनि खपत बढाएकाले साविकको भन्दा यतिबेला माग बढेको हो । भट्टराईका अनुसार उद्योग क्षेत्रको मात्र खपत १४० मेगावाटले बढेको छ । गत वर्ष कोभिड १९ का कारण औद्योगिक ग्राहकको बिजुली माग घटेको र यसवर्ष उच्च क्षमताका प्रसारण लाइनबाट लोड लिने औद्योगिक ग्राहकको संख्या पनि बढेको भट्टराईले बताए ।
काठमाडौं उपत्यकाको उच्चतम माग पनि बढेको छ । हिजो बुधबार उपत्यकाको उच्चतम माग ३५२ मेगावाट थियो । रातको समयमा पनि जम्मा ५२ मेगावाट बिजुली खपत भएको भट्टराईले बताए । प्राधिकरणले अझै केही वर्ष भारतीय आयातमा निर्भर रहनुपर्ने बताउँदै आएको छ । हिउँदयाममा खपत गर्ने बिजुली नेपालल उत्पादन गर्ननिम्ति त्यसखालको जलाशययुक्त आयोजना बनाउन सकेको छैन । सरकारले हिउँदको आयात घटाउने र विद्युत्मा स्वनिर्भर हुने नीति कहिले पनि लिएको छैन । बूढीगण्डकी आयोजना (१२०० मेगावाट) का लागि पेट्रोलियममा प्रतिलिटर १० रुपैयाँ उपभोक्तासँग असुल्दै आएको छ । तर यो आयोजना निर्माण गर्ने अत्तोपत्तो छैन ।
नाेट : पत्रकार विकास थापा द्वारा लिखित विचारहरूकाे संग्रह
माघ २९, २०७७ बिहिवार १४:८ बजे
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का