सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

‘बिजुलीको अँध्यारो हटायौँ, अब बेथिति र भ्रष्टाचारको अँध्यारो हटाउने संकल्प छ’ : कुलमान

जलसरोकार
आइतबार, कात्तिक २३, २०८३ | ०९:५२:२४ बजे

 

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा देशले भोगेको लोडसेडिङको अँध्यारो सम्झिँदै अब बेथिति, भ्रष्टाचार, अन्याय र निराशाविरुद्ध लड्ने संकल्प गरेका छन्।

तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै घिसिङले २०७३ सालअघिको अवस्था स्मरण गरेका हुन्। उनले उज्यालोको पर्व तिहारसमेत विद्युत् अभावका कारण अँध्यारोमै मनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्।

घिसिङले नागरिकको साथ, विश्वास र दृढ संकल्पका कारण असम्भवजस्तै मानिएको लोडसेडिङ अन्त्य गर्न सफल भएको दाबी गरेका छन्। विद्युत् उत्पादन तथा वितरणमा भएको सुधारसँगै देशका अधिकांश घरमा विद्युत् सेवा पुगेको र अहिले नेपालमा उत्पादित बिजुली विदेशसम्म निर्यात हुन थालेको उनले बताएका छन्।

उनले विगतको विद्युत्को अँध्यारो हटे पनि देशमा अझै बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो कायमै रहेको भन्दै त्यसविरुद्ध नयाँ अभियान आवश्यक रहेको बताएका छन्।

‘हिजो बिजुलीको अँध्यारो हटायौँ, अब बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ,’ घिसिङले सन्देशमा भनेका छन्।

उनले चुनौती जति आए पनि आफ्नो यात्रा नरोकिने उल्लेख गर्दै परिवर्तनका लागि अँध्यारोलाई गाली गरेर मात्र नहुने बताएका छन्। अँध्यारो हटाउन आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्ने उनको धारणा छ।

विगतमा आफूलाई प्राप्त साथ, विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै घिसिङले अब सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको अभियानमा पनि नागरिकको साथ आवश्यक रहेको बताएका छन्।

उनले तिहार, नेपाल संवत् र छठले नेपाली समाजमा नयाँ आशा र उत्साह ल्याओस् भन्दै हरेक घरमा खुसी, हरेक मनमा आशा र हरेक नेपालीको जीवनमा समृद्धिको उज्यालो छाओस् भन्ने शुभकामना दिएका छन्।

प्रकाशित मिति : आइतबार, कात्तिक २३, २०८३ | ०९:५२:२४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया