सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तिहारमा झिलिमिली बत्ती बाल्दा विद्युत् सुरक्षामा ध्यान दिन प्राधिकरणको आग्रह

जलसरोकार
आइतबार, कात्तिक २३, २०८३ | १४:४४:३७ बजे

 

काठमाडौं : तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटना न्यूनीकरणका लागि सावधानी अपनाउन सर्वसाधारणसँग आग्रह गरेको छ। चाडपर्वका क्रममा घर तथा कार्यालय सजाउन विभिन्न किसिमका विद्युतीय सामग्री प्रयोग गर्दा असावधानीका कारण विद्युत् दुर्घटना भई जनधनको क्षति हुने गरेको भन्दै प्राधिकरणले सुरक्षित ढंगले विद्युत् प्रयोग गर्न अनुरोध गरेको हो।

प्राधिकरणले दीपावली तथा छठ पर्व हर्षोल्लासका साथ मनाउने क्रममा सम्भावित विद्युत् दुर्घटना हुन नदिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी झिलिमिली बत्ती जडान गर्ने क्रममा विद्युत्‌का पोल, टावर, स्टे तथा तारजस्ता संरचनालाई नछुने गरी सुरक्षित ढंगले जडान गर्न प्राधिकरणले सचेत गराएको छ।

प्राधिकरणका अनुसार वितरण प्रणाली तथा सडक बत्तीको लाइन संरचनामा सिधै हुकिङ गरी झिलिमिली बत्ती जडान गर्नु हुँदैन। कसैले सिधै हुकिङ गरी बत्ती जडान गरेको देखिएमा तत्काल नजिकैको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा खबर गर्न पनि अनुरोध गरिएको छ।

त्यस्तै, तोकिएको मापदण्डविपरीत वितरण तथा प्रसारण लाइनमुनि पर्ने गरी धार्मिक तथा सांस्कृतिक कार्यक्रमका लागि आवश्यक संरचना निर्माण नगर्न प्राधिकरणले आग्रह गरेको छ। विद्युत् लाइनसँग अत्यधिक नजिक हुने संरचना वा कार्यक्रमस्थलका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने प्राधिकरणको भनाइ छ।

विद्युतीय तार लत्रिएको वा चुँडिएको अवस्थामा देखिए तत्काल नजिकैको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा खबर गर्न पनि प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्तै, विद्युत् प्रणालीमा रहेका इन्सुलेटर, तारलगायत उपकरणमा क्षति भएको देखिएमा वा विद्युत् लाइन नजिकै रहेका बाँस, लहरा वा रुखका हाँगाहरूले विद्युतीय लाइनलाई छोएको वा छुने अवस्थामा पुगेको देखिएमा तत्काल प्राधिकरणलाई जानकारी गराउन भनिएको छ।

चाडपर्वका बेला विद्युत्को खपत र विद्युतीय सामग्रीको प्रयोग बढ्ने भएकाले सानो असावधानीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै प्राधिकरणले विद्युत् सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले पर्वका अवसरमा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै यस्तो अनुरोध जारी गरेको हो।

प्रकाशित मिति : आइतबार, कात्तिक २३, २०८३ | १४:४४:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया