लक्ष्मीपूजामा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी
तिहारभरि बत्ती नजाने
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
तिहार तथा छठ पर्वका समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ। बैठकमा पर्वका समयमा विद्युत् आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो।
त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत् आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनबारे छलफल तथा समन्वय गरिएको थियो।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। विद्युत् आपूर्तिमा कुनै समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका छन्।
त्यसैगरी, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका काम तत्काल सम्पन्न गरी विद्युत् आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिइएको छ। विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि सम्बन्धित कार्यालय प्रमुखहरूलाई भनिएको छ।
तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट रहने अनुमान गरिएको छ। उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्। उनका अनुसार सो अवधिमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुनेछ। प्राधिकरणका अनुसार मंसिर १५ गतेसम्म नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था छैन।
पर्व अवधिभर विद्युत्को माग तथा आपूर्तिको अवस्थाको नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिने प्राधिकरणले जनाएको छ। प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको छ।
यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ।
विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मीपूजामा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी
-
जलविज्ञान र हिमाली जोखिमसम्बन्धी विज्ञ कार्यशाला : प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउने निष्कर्ष
-
सरकारको एक साता : ठूला जलविद्युत् आयोजनामा अर्बौँ लगानी अघि बढ्यो
-
सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार; जलविद्युत् कम्पनीमा पनि उल्लेख्य सक्रियता
-
मिड सोलु हाइड्रोपावरको नाफा ३७ प्रतिशतले बढ्यो
-
नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी कार्यदिशा र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा