सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

जलसरोकार
आइतबार, कात्तिक २३, २०८३ | ०९:३३:४४ बजे

 

काठमाडौं : नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यही प्रभावका कारण आज देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनुका साथै एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। यस्तै कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू–भागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागसँगै कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यसैगरी रातिको समयमा तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले देशका बाँकी भू–भागमा तत्काल ठूलो मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम सामान्यतया सफा रहने जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाको मौसम विश्लेषणमा उल्लेख छ।

प्रकाशित मिति : आइतबार, कात्तिक २३, २०८३ | ०९:३३:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया