हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, मंसिर १० गतेसम्म भरिने
जलसरोकार
काठमाडौं : हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले कात्तिक ११ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा अब स्थानीय बासिन्दाले मंसिर १० गतेसम्म आवेदन दिन सक्ने भएका छन्।
कम्पनीले मागभन्दा बढी आवेदन परेमा भने तोकिएको म्यादअघि नै सूचना प्रकाशित गरी निष्कासन तथा बिक्री बन्द गर्न सक्ने जनाएको छ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये प्रतिकित्ता १०० रुपैयाँका दरले १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
निष्कासन गरिएको शेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयर दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दाबीच बाँडफाँट हुनेछ। बाँकी ६ लाख ७६ हजार कित्ता भने बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।
आईपीओमा आवेदन दिने स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
दुई जलविद्युत आयोजना सञ्चालनमा
हिम पर्वत हाइड्रोपावरले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २८ वर्ष बाँकी छ।
साँगु खोला आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.०८ वर्ष रहेको छ। कम्पनीले यस आयोजनाबाट २०८२ असोज २५ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ।
त्यस्तै, कम्पनीले ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत आयोजना पनि सञ्चालनमा ल्याएको छ। उक्त आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ रहेको आयोजनाको विद्युत अनुमतिपत्रको अवधि पनि २८ वर्ष बाँकी छ।
साँगु खोला–१ आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.५६ वर्ष रहेको छ। कम्पनीले उक्त आयोजनाबाट २०८२ साउन ८ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीको रेटिङ ‘डबल बी प्लस’
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले हिम पर्वत हाइड्रोपावरलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आईपीओमा आवेदन दिन सक्नेछन्।
शेयर खरिद दरखास्त फाराम लिन भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाले २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तिहारमा झिलिमिली बत्ती बाल्दा विद्युत् सुरक्षामा ध्यान दिन प्राधिकरणको आग्रह
-
‘बिजुलीको अँध्यारो हटायौँ, अब बेथिति र भ्रष्टाचारको अँध्यारो हटाउने संकल्प छ’ : कुलमान
-
हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, मंसिर १० गतेसम्म भरिने
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना
-
लक्ष्मीपूजामा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी
-
जलविज्ञान र हिमाली जोखिमसम्बन्धी विज्ञ कार्यशाला : प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउने निष्कर्ष