काठमाडौँ : घरखेत बैंकमा राखेर जलविद्युत्मा होमिएका २६ वटा आयोजनाका प्रवद्र्धकहरुले बिजुली उत्पादन गरेपछि पनि उल्टै खल्तीबाट रकम तिरिरहनु परेको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् खरिदसम्बन्धी अनुचित नीति, समयमै प्रसारण लाइन नबनाइदिएर बिजुली खेर फाल्नुपरेको स्थिति, प्राधिकरणकै लाइनमा समस्या आएर बिजुली लिन नसक्दा उल्टै हर्जाना तिर्नुपर्ने नियम र बैंकहरुको चर्काे ब्याजदरले प्रवद्र्धकहरु मर्कामा परेका छन् ।
कूल ६१.९ मेगावाटका यी २६ वटा आयोजनाले आव. २०७४÷७५ सम्म बैंकको करिब ११ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ । बिजुली उत्पादन गरेर पनि कमाउन नसक्दा यिनीहरुले उल्टै घरबाट दुई अर्ब ५० करोड रुपैयाँ हालेको तथ्यांकले देखाएको छ ।
यी आयोजना निर्माणका क्रममा प्रवद्र्धकहरु आफूले गर्नुपर्ने लगानी स्वपुँजी (इक्वीटी) मात्र आठ अर्ब रुपैयाँ हालेका थिए । यो पैसा जलविद्युत्मा लगानी नगरी बैंकको साधारण मुद्दती खातामा राखेको भए मात्र पनि प्रतिवर्ष ५६ करोड रुपैयाँ (वार्षिक ७ प्रतिशत ब्याजका दरले) स्वतः आइरहन्थ्यो । यता ब्याज नाश भयो, उता उल्टो ब्याज र प्राधिकरणलाई हर्जाना तिर्नुपर्दा स्थिति नाजुक बनेका प्रवद्र्धक सूर्य अधिकारी बताउँछन् ।
बैंकहरुले यी जलविद्युत् आयोजनालाई ऋण दिंदा न्यूनतम वार्षिक ब्याज ९ प्रतिशत र अधिकतम १५ प्रतिशतसम्म असुलिरहेको निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा ऊर्जा मन्त्रालयल अध्ययन गर्न गठन गरेको समिति प्रतिवेदनमा उल्लेख छ ।
यिनीहरुको तथ्यांक विश्लेषण गर्दा प्रतिमेगावाट ऋण औसतमा १० करोड रुपैयाँ परेको छ भने प्रतिमेगावाट स्वपुँजी औसतमा ८ करोड ७६ लाख रुपैयाँ परेको छ । यी आयोजनाले आर्थिक वर्ष २०७६÷७७ मा ब्याज मात्र एक अर्ब २४ करोड रुपैयाँ तिर्नुपर्ने देखिन्छ ।
विशेष गरी प्राधिकरणले यी अधिकांश आयोजनाहरुले उत्पादन गरेको बिजुली लिन नसक्दा (नन डिस्प्याच÷आउटेट) विगत पाँच वर्षको औसत स्वपुँजी प्रतिफल (रिटर्न अन इक्वीटी) ऋणात्मक छ । ३.४५ मेगावाटको चर्नावती खोला, ३ मेगावाटको मिदिम खोला, ९.६६ मेगावाटको सिप्रिङखोला, ९८० किलोवाटको सेती २, ४.५ मेगावाटको हेवा खोला र ६ मेगावाटको दरौदी ‘ए’ बाहेकका बाँकी सबै आयोजनाको स्वपुँजी प्रतिफल दर ऋणात्मक छ ।
यी संकटग्रस्तबाहेक अन्य सामान्य अवस्थाका जलविद्युत् आयोजनाको स्वपुँजी दर सामान्यतया १५ प्रतिशतभन्दा माथि हुने गर्छ । विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगले सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाको स्वपुँजी दर १७ प्रतिशतभन्दा बढी आर्जन गर्न नपाइने गरी सीमा तोकेको छ ।
स्वपुँजी दर ऋणात्मक हुँदा घरबाट हाल्नुपर्ने हुन्छ । कुनै आयोजनामा सय रुपैयाँ लगानी गरेको छ र त्यसको स्वपुँजी दर १५ प्रतिशत छ भने उसले वार्षिक १५ रुपैयाँका दरले प्रतिफल पाउनुपर्ने सामान्य वित्तीय नियम हो । यही स्वपुँजी प्रतिफल दरका आधारमा लगानीसम्बन्धी निर्णय गरिन्छ ।
नाेट : पत्रकार विकास थापा द्वारा लिखित विचारहरूकाे संग्रह
असार २४, २०७८ बिहिवार १८:२६ बजे
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का