काठमाडौं– नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ बुधबार जोडिएको छ ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत जनप्रतिनिधि, आयोजना, निर्माण कम्पनी र परामर्शदाताका प्रतिनिधिको उपस्थितिमा आज सुरुङ जोडिएको हो ।
जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कामका रुपमा मानिन्छ । राहुघाटको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना भएको हो ।
हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङ जोडिएको जानकारी दिए। ‘रघुगङ्गा गाउँपालिकाको अधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिटबाट एक हजार ८९७ मिटर सुरुङ खनिएको छ’, उनले भने, ‘राहुघाटको कूल छ हजार २७० मिटरमध्ये हालसम्म ९४ प्रतिशत अथवा पाँच हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ ।’
तीन सय ५३ मिटर सुरुङ खन्न बाँकी रहेको केसीले बताए । चार वर्षअघिदेखि बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट राहुुघाटको सुरुङ निर्माण सुरु गरिएको थियो ।
पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमध्ये तीन सय ५१ मिटर खन्न बाँकी छ । बाँध र पहिलो अडिट जोड्ने ७७ मिटर लामो सुरुङमध्ये ७५ मिटर खनिएको छ । पिप्लेस्थित तेस्रो अडिटबाट सर्ज साफ्ट जोड्ने २५ मिटर लामो सुरुङको यसअघि नै ‘ब्रेक थ्रु’ भएको थियो ।
सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको सञ्चालक केसीले जानकारी दिनुभयो । उनका अनुसार पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युत्गृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर ‘वटम प्रेसर साफ्ट’को सुरुङ यसअघि नै जोडिएको थियो ।
सर्ज साफ्टदेखि टप प्रेसर साफ्ट जोड्ने पाँच सय ४१ मिटरमध्ये ४८ मिटर खन्न बाँकी छ । टप प्रेसर साफ्टदेखि भर्टिकल सर्ज साफ्ट जोड्ने एक सय ७१ र भर्टिकल प्रेसर साफ्टदेखि वटम प्रेसर साफ्ट जोड्ने तीन सय २९ मिटर सुरुङ यसअघि नै निर्माण भएको थियो ।
राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका व्यवस्थापक राज विष्टले बताए । ‘आगामी सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ’, उनले भने, ‘सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको छ ।’
बाँध निर्माणस्थलमा ११९।७ मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको छ । एक सय १२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला डाइभर्सन गरेर डिसेन्डर बनाउन थालिएको विष्टले जानकारी दिए । १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माण ६० प्रतिशतभन्दा बढी सकिएको छ । विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ ।
इलेक्ट्रोमेकानिकलसम्बन्धी काम गर्न विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो । भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ ।
भारतीय आयातनिर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।
कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।
विसं २०७४ मङ्सिरमा रू छ अर्बमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो ।
सर्वोच्च अदालतको विसं २०७८ असार २९ को आदेशपछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन रोकिँदा आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतीका रुपमा देखिएको आयोजना कार्यालयले जनाएको छ । रासस
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का