भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
जलसरोकार
भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ। लामो समयदेखि विद्युत् पहुँचबाट वञ्चित रहेको यो क्षेत्र अब राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ।
वडा कार्यालयको पहल तथा सम्बन्धित निकायसँगको समन्वयमा पोल, तार, ट्रान्सफर्मरलगायत आवश्यक पूर्वाधार निर्माण गरेपछि गाउँमा विद्युत् सेवा विस्तार गरिएको हो। यससँगै लुङ्गिनका अधिकांश बस्तीमा विद्युत्को पहुँच पुगेको वडा कार्यालयले जनाएको छ।
वडाध्यक्ष विचारी थापाले गाउँका सबै क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको जानकारी दिँदै यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
उनले भने, “विद्युत् पहुँच विस्तारसँगै यहाँका नागरिकको दैनिकी सहज बनेको छ। अब शिक्षा, स्वास्थ्य, सञ्चार तथा साना उद्योग–व्यवसाय सञ्चालनमा थप टेवा पुग्नेछ।”
स्थानीय महेश्वरी कार्कीका अनुसार विद्युत् सेवा विस्तार भएपछि घरायसी कामकाजमा सहजता आएको छ। बत्ती बाल्न, विद्युतीय उपकरण प्रयोग गर्न तथा बालबालिकाको पठनपाठनमा ठूलो सहयोग पुगेको उनले बताए ।
“पहिले दियो र टुकीको भर पर्नुपर्थ्यो । अहिले बिजुली आएपछि घरायसी काम र बालबालिकाको पढाइ दुवै सहज भएको छ,” उनले भने, ।
त्यस्तै स्थानीय हेमराज कार्कीले विद्युत् सेवा विस्तारसँगै साना तथा घरेलु उद्योग सञ्चालनमा सहज भएको बताउनुभयो। कृषिजन्य उत्पादन प्रशोधन, सिलाइ–कटाइ तथा कुटानी–पिसानी मिल सञ्चालनजस्ता गतिविधिमा विद्युत्ले महत्वपूर्ण सहयोग पुर्याएको उनकाे भनाइ छ।
गाउँमा विद्युत् पुगेपछि सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार हुनुका साथै डिजिटल सेवाको प्रयोगसमेत बढ्न थालेको स्थानीय शम्भु राईले बताए ।
स्थानीय तहले आगामी दिनमा विद्युत् सेवाको दिगोपना, गुणस्तरीय आपूर्ति तथा नियमित सञ्चालनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वयलाई निरन्तरता दिने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला