वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
जलसरोकार
वीरगञ्ज : चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज भन्सार नाका हुँदै चार अर्ब रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन आयात भएका छन्। विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणसँगै आयात र राजस्व दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको १० महिनामा १५ हजार २७१ वटा विभिन्न प्रकारका विद्युतीय सवारीसाधन आयात भएका छन्। ती सवारीसाधनको कुल मूल्य रु चार अर्ब दुई करोड पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब ३७ करोड अर्थात् १४३.६० प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रु एक अर्ब ६५ करोड मूल्य बराबरका नौ हजार ४२ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए। त्यसबापत रु ८१ करोड ४७ लाख राजस्व सङ्कलन भएको थियो।
चालु आवमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमतासम्मका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। ती सवारीसाधनको मूल्य रु एक अर्ब ८७ करोड रहेको छ भने त्यसबाट रु एक अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ। गत वर्ष सोही अवधिमा यस्ता केवल छ वटा सवारीसाधन मात्रै आयात भएका थिए, जसको मूल्य रु दुई करोड छ लाख थियो।
त्यसैगरी, चालु आवको १० महिनामा आठ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। ती सवारीसाधनको मूल्य रु एक अर्ब १७ करोड रहेको छ भने त्यसबाट रु ३८ करोड ५५ लाख राजस्व सङ्कलन भएको छ। गत वर्ष सोही अवधिमा चार हजार ८३४ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका थिए।
भन्सार कार्यालयका अनुसार चालु आवको १० महिनामा वीरगञ्ज नाका हुँदै इन्धन र विद्युत्बाट चल्ने सवारीसाधन तथा तिनका पार्टपुर्जा गरी कुल रु ३१ अर्ब ३१ करोड बराबरको आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु नौ अर्ब ६५ करोड अर्थात् ४४.५८ प्रतिशतले बढी हो।
यही अवधिमा रु एक अर्ब २५ करोड मूल्यका ६२८ वटा जीप, कार र भ्यान आयात हुँदा सरकारको राजस्व सङ्कलन रु तीन अर्ब १७ करोड पुगेको छ। यद्यपि, गत वर्षको तुलनामा यस्ता पेट्रोलियम सवारीसाधनको आयात सङ्ख्या भने घटेको देखिएको छ।
त्यस्तै, ५१ हजार ४२३ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन्, जसको मूल्य रु सात अर्ब ३२ करोड रहेको छ। ती मोटरसाइकलबाट मात्रै रु सात अर्ब नौ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।
विद्युतीय सवारीसाधनमा उपभोक्ताको आकर्षण बढ्दै जाँदा वीरगञ्ज नाका हुँदै हुने आयातमा तीव्र वृद्धि देखिएको छ। यसले स्वच्छ ऊर्जामा आधारित यातायातको प्रयोग विस्तार हुँदै गएको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह