अन्तिम समयमा सम्हालियो सेयर बजार, नेप्से ६ अंकले बढ्दा कारोबार रकम घट्यो
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । कारोबारको अधिकांश समय ओरालो लागेको नेप्से परिसूचक अन्तिम समयमा सम्हालिँदै सकारात्मक भएर बन्द भएको हो । बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेर २ हजार ६६४.१३ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.४८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचकमा सुधार आए पनि बजारमा लगानीकर्ताको कारोबार सहभागिता भने केही खुम्चिएको देखिएको छ । सोमबार ७ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम घटेर ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ ।
यस दिन ३४९ वटा स्टकको १ करोड ५४ लाख २० हजार कित्ता सेयर ५७ हजार ४४ पटकको कारोबारबाट खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा अघिल्लो दिनको तुलनामा मंगलबार करिब १ अर्ब ५३ करोड रुपैयाँले कमी आएको हो ।
मंगलबार शिखर पावर डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै, रिभर फल्स पावरको सेयरमूल्य पनि करिब ६ प्रतिशतले वृद्धि भएको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ ।
पछिल्ला कारोबार दिनमा लगातार सकारात्मक सर्किट लाग्दै आएको बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्य भने यस दिन सर्वाधिक ५.०४ प्रतिशतले घटेको छ । अघिल्ला दिनमा तीव्र वृद्धि भएको उक्त कम्पनीको सेयरमा मंगलबार नाफा सुरक्षित गर्ने प्रवृत्ति देखिएको छ ।
कारोबार रकमका आधारमा मंगलबार ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको करिब १९ करोड ५० लाख रुपैयाँ र कुमारी बैंकको १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये नौ वटाको परिसूचक बढेको छ भने चार वटाको घटेको छ । होटल तथा पर्यटन उपसमूह सबैभन्दा बढी १.०७ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहमा पनि सामान्य सुधार देखिएको छ ।
यता, बाँकी चार उपसमूहको परिसूचक भने घटेको छ । अधिकांश समय बिक्री चापमा रहेको बजार अन्तिम समयमा सकारात्मक हुनुले लगानीकर्ताको मनोविज्ञानमा केही सुधार आएको संकेत गरे पनि कारोबार रकम घट्नुले बजारमा अझै बलियो खरिद चाप निर्माण भइनसकेको देखाउँछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा रुख कटान सुरु
-
माण्डु हाइड्रोपावरकाे विद्युत् बिक्रीबाट आम्दानी ३४ करोड, नाफा २१ करोड ७० लाख रुपैयाँभन्दा बढी
-
अन्तिम समयमा सम्हालियो सेयर बजार, नेप्से ६ अंकले बढ्दा कारोबार रकम घट्यो
-
नेपालीको राष्ट्रियता (राष्ट्रवादीता) र नेपाल–भारत सम्बन्ध, २०८३
-
जलविद्युत् क्षेत्रले निर्माणमा रोजगारी बढाए पनि अर्थतन्त्रको रोजगारी आधार साँघुरो
-
रोजगारी सिर्जना र सामाजिक सुरक्षा विस्तार गर्न विश्व बैंकको सुझाव