सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

महिला उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा, केन्द्रीय महिला परिषद्को अध्यक्ष

जलसरोकार
सोमबार, कात्तिक १७, २०८३ | १८:२३:३४ बजे

काठमाडौं : चर्चित महिला उद्यमी तथा सामाजिक अभियन्ता प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छिन्। पार्टीले उनलाई केन्द्रीय महिला परिषद्को अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ।

महिला नेतृत्व विकास, आर्थिक आत्मनिर्भरता, उद्यमशीलता तथा राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले मैनालीलाई उक्त जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ।

महिला सशक्तीकरण, सामाजिक उद्यमशीलता, रोजगारी सिर्जना तथा वातावरणमैत्री व्यवसाय प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय मैनाली नेपालका परिचित महिला उद्यमीमध्ये एक हुन्। आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बनाउने अभियानमा उनको योगदान रहँदै आएको छ।

मैनालीले फोहोर तथा प्रयोग भइसकेका सामग्रीलाई पुनःप्रयोग गरी उपयोगी वस्तु उत्पादन गर्ने, महिलाका लागि रोजगारी सिर्जना गर्ने तथा वातावरण संरक्षणलाई आर्थिक गतिविधिसँग जोड्ने नवीन अभ्यासलाई सामाजिक उद्यमशीलतामार्फत अघि बढाउँदै आएकी छिन्।

उनी समाज कल्याण परिषद्अन्तर्गत सामाजिक उद्यमशीलता विकास कोषको संस्थापक बोर्ड सदस्यसमेत छिन्। यस भूमिकामार्फत सामाजिक उद्यमशीलताको विकास, नीतिगत सुधार तथा दिगो आर्थिक अवसर सिर्जनाका क्षेत्रमा उनले योगदान पुर्‍याएकी छिन्।

महिला उद्यमशीलताको प्रवर्द्धनमा योगदान पुर्‍याएबापत मैनालीले सन् २०२० मा नेपाल सरकारको राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्राप्त गरेकी थिइन्। त्यसैगरी, सन् २०२२ मा भारतमा प्रतिष्ठित इन्दिरा गान्धी प्रियदर्शिनी सम्मान तथा नेपालमा सामाजिक उद्यमशीलता पुरस्कारबाट सम्मानित भएकी थिइन्। उनी सन् २०१८ मा अमेरिकी सरकारको Professional Fellows Program मा समेत सहभागी भएकी थिइन्।

व्यवस्थापन विषय अध्ययन गरेकी मैनालीले महिला उद्यमशीलता, सामाजिक न्याय, हरित अर्थतन्त्र तथा चक्रीय अर्थतन्त्रका अवधारणालाई व्यावहारिक रूपमा अघि बढाउँदै आएकी छिन्। उनका सामाजिक उद्यमसम्बन्धी काम तथा उपलब्धि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित छन्।

उज्यालो नेपाल पार्टीले मैनालीको अनुभव र नेतृत्वबाट देशभरका महिलालाई संगठनमा आबद्ध गराउने, राजनीतिक नेतृत्व विकास गर्ने तथा उद्यमशीलता र स्वरोजगारमार्फत आर्थिक आत्मनिर्भरता प्रवर्द्धन गर्ने अभियान थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

महिला सहभागितालाई प्रतिनिधित्वमा मात्र सीमित नराखी नीति निर्माण, नेतृत्व, उद्यमशीलता र आर्थिक अवसरमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित केन्द्रीय महिला परिषद्लाई सक्रिय बनाउने पार्टीको योजना छ।

मैनालीको पार्टी प्रवेशसँगै सामाजिक उद्यमशीलता र महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा उहाँले हासिल गरेको अनुभवलाई राजनीतिक तथा नीतिगत तहसँग जोड्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : सोमबार, कात्तिक १७, २०८३ | १८:२३:३४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया