हिजो मंगलबार साँझ सम्मेलन समापन गर्दै न्यायपूर्ण तथा समावेशी स्वच्छ ऊर्जा रुपान्तरणको माध्यमबाट दीगो विकास, जलवायु परिवर्तनबाट सिर्जित असरको सामना एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा प्रतिबद्धताको लागि सात बुँदे ‘काठमाडौं घोषणा पत्र’ जारी गरिएको हो ।
‘आज स्वच्छ ऊर्जा अपनाऔं, भोलि दीगो अर्थतन्त्र बनाऔं’ नारा सहित ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी काठमाडौं घोषणापत्र’ (Kathmandu Declaration on Energy Transition for a Resilient Low Carbon Economy) नाम दिइएको उक्त घोषणापत्रको नेपाली भावानुवाद यस प्रकार रहेको छ:
नेपालको राजधानी काठमाडौंमा आयोजित ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी सम्मेलन’ (Energy Transition for Resilient and Low Carbon Economy Summit- 2025) मा हामी न्यायपूर्ण तथा समावेशी स्वच्छ ऊर्जा रुपान्तरणको माध्यमबाट दीगो विकास, जलवायु परिवर्तनबाट सिर्जित असरको सामना एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासको लागि प्रतिबद्ध छौं ।
हामी तपसिल बमोजिमका विषयमा जानकार छौं :
· संयुक्त राष्ट्रसंघले स्वच्छ ऊर्जा रुपान्तरणको लगानीमा उल्लेख्य वृद्धिको लागि आव्हान गरिरहेको सन्दर्भमा यथाशिघ्र खनिज इन्धनबाट स्वच्छ ऊर्जामा रुपान्तरित हुनुपर्ने आवश्यकता रहेको
· नेपालको दोस्रो राष्ट्रिय निर्धारित योगदान र राष्ट्रिय जलवायु परिवर्तन नीतिले निर्देश गरे बमोजिम सन् २०४५ सम्ममा खुद शुन्य उत्सर्जन हासिल गर्ने लक्ष्य
· वित्तीय सहायता, प्रविधि आदान प्रदान तथा क्षमता अभिवृद्धिको माध्यमबाट जलवायु परिवर्तन सम्बन्धी लक्ष्य हासिलको लागि अन्तर्राष्ट्रिय साझेदारीको महत्व ।
हामी तपसिलका विषयवस्तुमा प्रतिबद्ध छौं :
१. नवीकरणीय ऊर्जा प्रवर्द्धनको हालको अवस्थामा तीन गुणाले वृद्धि गरी स्वच्छ ऊर्जा रुपान्तरणलाई तिव्रता दिन :
· सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत जस्ता नवीकरणीय ऊर्जाका स्रोतलाई प्रवर्द्धन गर्ने खालका नीति तथा रणनीति तयार गर्न ।
· नवीकरणीय ऊर्जा उपयोगमा सहयोग पुग्ने गरी ग्रिड संरचनाको स्तराेन्नति गर्न
२. ऊर्जा दक्षताको अवलम्बनलाई दुइ गुणाले वृद्धि गर्न :
· औद्योगिक, व्यावसायिक तथा घरायसी क्षेत्रको लागि ऊर्जा दक्षता मापदण्ड निर्धारण गर्न
· उपभोक्ता तथा व्यावसायिक क्षेत्रमा ऊर्जा दक्ष प्रविधि तथा अभ्यासहरुको अवलम्बनलाई प्रवर्द्धन गर्न
३. जलवायु अनुकूलन तथा उत्थानशीलतालाई मजबुत बनाउन :
· जोखिममा परेका समुदाय तथा पारिस्थितिकीय प्रणालीलाई लक्षित गरी जलवायु अनुकूलन योजना तर्जुमा गर्न
· राष्ट्रिय तथा स्थानीय स्तरमा विकास सम्बन्धी रणनीतिहरुमा जलवायु उत्थानशीलताका उपायहरु समावेश गर्न
४. वित्त परिचालन गर्न
· अनुकूल नीतिगत वातावरण तथा उत्प्रेरणाको माध्यमबाट स्वच्छ ऊर्जाको क्षेत्रमा लगानी आकर्षित गर्न
· अनुकूलन तथा न्यूनीकरण सम्बन्धी अन्तराष्ट्रिय कोषहरुबाट वित्तीय सहायताको लागि पहल गर्न
५. अन्तराष्ट्रिय सहायतामा वृद्धिको पहल गर्न
· जलवायु सम्बन्धी कार्ययोजनाहरुलाई प्रभावकारी रुपमा अघि बढाउन जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय वार्ता/सम्वाद/छलफलहरुमा सहभागिता जनाउन
· जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधानको लागि आवश्यक स्रोत तथा प्रविधिमा साझेदारी गर्न छिमेकी मुलुकहरुसँग सहकार्य गर्न
६. व्यवहारिक अनुसन्धान, विकास तथा नवीनतम उपायहरुको माध्यमबाट जनचेतना, शैक्षिक तथा क्षमता विकास अभिवृद्धि गर्न
· जलवायु तत्परता तथा दीगो अभ्यासको महत्व सम्बन्धमा आम नागरिकलाई सचेत गराउन अभियान सञ्चालन गर्न
· जलवायु परिवर्तन सम्बन्धी नीति तथा परियोजनाको निर्णय प्रक्रियामा सहभागिताको लागि स्थानीय समुदायलाई सशक्तिकरण गर्न
७. प्रभावकारी अनुगमन तथा अभिलेख प्रणालीलाई प्रोत्साहन गर्न
· जलवायु सम्बन्धी लक्ष्यको कार्य प्रगति अवलोकन तथा प्रमाणीकरण प्रणालीको स्थापना गर्न
· जलवायु नीति कार्यान्वयन प्रक्रियाको उत्तरदायित्व तथा पारदर्शिता सुनिश्चित गर्न
हामी :
· पेरिस सम्झौता बमोजिम आ-आफ्नो जलवायु लक्ष्य हासिल हुने गरी नेपाल जस्ता विकासोन्मुख देशहरुलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौं ।
· व्यावसायिक आदान प्रदान (बिटुबी) प्रणालीमा आधारित रही सार्वजनिक क्षेत्रको नेतृत्व र निजी क्षेत्रको सहयोगमा दीगो तथा जलवायुमैत्री प्रविधिमा लगानी गर्न अनुरोध गर्दछौं ।
· न्यायपूर्ण तथा समावेशी ऊर्जा रुपान्तरणमा सघाउ पुर्याउने एकीकृत तथा स्थिर नीति निर्माण गर्न अनुरोध गर्दछौं
· स्वच्छ ऊर्जा प्रविधि सम्बन्धी व्यवहारिक अनुसन्धान, विकास तथा नवप्रवर्तनात्मक कार्यको लागि प्राज्ञिक तथा औद्योगिक संघ संस्थासँग सहकार्यको लागि अनुरोध गर्दछौं ।
· जलवायु सम्बन्धी कार्यमा नागरिक समाजको साथै सम्पर्ण सरोकारवालाहरुको सहभागिता तथा उत्तरदायित्व सुनिश्चत गर्न आग्रह गर्दछौं ।
यो घोषणापत्रमा सहमति जनाउँदै नेपाल र अन्तत पृथ्वीमा दीगो, उत्थानशील तथा न्यून कार्बनमा आधारित वातावरण निर्माणको लागि प्रतिबद्धता व्यक्त गर्दछौं ।
स्वच्छ ऊर्जा राम्रो ! दीगो अर्थतन्त्र हाम्रो
यो घोषणापत्र सन् २०२५ जनवरी २८ मा आयोजित सम्मेलनमा भएका छलफलको आधारमा तयार गरी सम्मेलनको समापन समारोहमा प्रस्तुत गरिएको हो । घोषणापत्रमा सम्मेलनको समापन समारोहमा उपस्थित सम्पूर्ण सहभागीहरुद्वारा सहमति जनाइएको छ र सोही बमोजिम घोषणापत्र कार्यान्वयनमा सबै पक्षको सहयोग रहने सम्मेलनको निष्कर्ष रहेको छ ।
इति सम्वत् २०८१ माघ १५ गते रोज ३ शुभम् ।
‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’
पूर्वघोषित आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिने निर्माण व्यवसायी महासंघको निर्णय
निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु
यातायात कार्यालयद्वारा छ महिनामा रु २९ करोड एक लाख राजस्व सङ्कलन
सहिदको सपना देशले बुझेन कि देशलाई बुझाउन सकिएन ?