नेप्सेमा दोहोरो अंकको गिरावट, ३२ अंक घट्दा कारोबार रकम पनि साढे ७ अर्बमुनि
जलसरोकार
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावटले निरन्तरता पाएको छ । गत शुक्रबार सामान्य करेक्सनमा देखिएको बजारले सोमबार पनि ओरालो यात्रालाई निरन्तरता दिँदा नेप्से परिसूचक ३२ अंकभन्दा बढी घटेर बन्द भएको छ । बजार परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ ।
सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ५.९३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९८ अंकले ओरालो लागेको छ ।
बजार घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । गत शुक्रबार ८ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम घटेर ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । यस दिन ३४३ वटा कम्पनी तथा सामूहिक लगानी कोषका १ करोड ९८ लाख २२ हजार कित्ता सेयर ७० हजार २२८ पटकको कारोबारबाट खरिदबिक्री भएका छन् ।
समग्र बजारमा गिरावट देखिए पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो प्रतिफल पाएका छन् । सोमबार बेनी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १३.५८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य पनि साढे ५ प्रतिशतले वृद्धि भएको छ ।
यता, कारोबारमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य भने करिब ५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सोमबार पनि घलेम्दी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकको करिब २९ करोड ५० लाख रुपैयाँ र कुमारी बैंकको करिब २८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
सोमबार बजारका सबै १३ उपसमूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी विकास बैंक उपसमूहको परिसूचक १.८८ प्रतिशतले घटेको छ । बैंकिङ, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन् ।
बजारका सबै उपसमूहमा एकैसाथ गिरावट आउनुले सोमबारको कारोबारमा बिक्री चाप व्यापक रहेको संकेत गरेको छ । केही कम्पनीको सेयरमूल्यमा वृद्धि भए पनि समग्र बजारमा देखिएको कमजोरीका कारण लगानीकर्ताको मनोबल दबाबमा परेको देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
संघीय निजामती सेवा विधेयक : सुधारको नाममा अर्को भद्रगोल हुनुहुँदैन
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ३२ अंक घट्दा कारोबार रकम पनि साढे ७ अर्बमुनि
-
धान सिजनमा किसानका खेतसम्म पानी पुर्याउँदै प्रमुख नहर, ८२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा
-
नेशनल सोलारको भुक्तानी विवादमा विद्युत् नियमन आयोगद्वारा प्राधिकरणसँग प्रमाण माग
-
सुन र चाँदीकाे मुल्य बढ्याे, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन