किसानका सुझाव लिएर सिक्टा सिँचाइको बाँकी काम अघि बढाउँदै आयोजना
दुई–तीन वर्षभित्र शाखा तथा उपशाखा नहर निर्माण सक्ने लक्ष्य, हालसम्म ५१ प्रतिशत भौतिक प्रगति
जलसरोकार
बाँके : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको कामलाई प्रभावकारी बनाउन स्थानीय किसान तथा सरोकारवालासँग सुझाव र गुनासो सङ्कलन थालेको छ।
आयोजनाले पूर्वी नहर प्रणालीअन्तर्गतका राजकुलो, शाखा, उपशाखा तथा प्रशाखा नहरबाट सिँचाइ सुविधा लिइरहेका तथा भविष्यमा सिँचाइ सुविधा लिने किसानलाई लक्षित गर्दै मंगलबार राप्ती सोनारी गाउँपालिका–३ बैजापुरमा गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्य स्वयं उपस्थित भएर किसानका समस्या, गुनासा र सुझाव सुन्नुभएको थियो। निर्माणका क्रममा स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी किसानको रायअनुसार आयोजना अघि बढाउने उद्देश्यले गुनासो सुनुवाइ गरिएको उनले बताए ।
“आयोजना किसानका लागि हो, भइरहेको कामप्रति किसानको राय बुझ्न गुनासो सुनुवाइ कार्यक्रम गरिरहेका छौँ,” निर्देशक आचार्यले भने ।
उहाँका अनुसार यसअघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरअन्तर्गतका चारवटा शाखा नहरमा गुनासो सुनुवाइ तथा सुझाव सङ्कलन गरिसकिएको छ। अब पूर्वी नहरअन्तर्गतका बाँकी शाखाका किसान तथा सरोकारवालामाझ पुगेर गुनासो सुनुवाइ गरिने उनले बताए ।
आयोजनाले आगामी दुई–तीन वर्षभित्रै शाखा तथा उपशाखा नहर निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित किसानको राय–सुझाव सङ्कलन गरिरहेको जनाएको छ। बैजापुरमा आयोजित कार्यक्रममा किसानले आफूहरूले कुनै अवरोधबिना नियमित रूपमा सिँचाइ पानी पाउनुपर्ने माग गरेका थिए।
स्थानीयवासीसमेत रहनुभएका संविधानसभा सदस्य पट्टु थारूले सरोकारवाला किसानसँग प्रत्यक्ष छलफल गरेर आयोजनाले निर्माणको काम अघि बढाउनु सकारात्मक भएको बताए । राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरी तथा सिँचाइ महासङ्घ बाँकेका पूर्वअध्यक्ष शालिकराम डाँगीले किसानले सहज र नियमित रूपमा सिँचाइ सुविधा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
आयोजना निर्देशक आचार्यका अनुसार सिक्टा सिँचाइ आयोजनाको हालसम्म ५१ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाको पूर्वाधार निर्माणतर्फ हालसम्म करिब रु २४ अर्ब खर्च भइसकेको उहाँले जानकारी दिए ।
आर्थिक वर्ष २०६२/६३ मा निर्माण सुरु भएको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ। आयोजनाले बाँकेका ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ।
आयोजनाअन्तर्गत पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ। हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले बताए ।
नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको राष्ट्रिय गौरवको यस आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न स्थानीय किसान तथा सरोकारवालाको सुझावलाई समेत समेटेर निर्माण अघि बढाउने आयोजनाको तयारी छ। नियमित र भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यअनुसार शाखा, उपशाखा तथा प्रशाखा नहरको निर्माण र सञ्चालनलाई प्रभावकारी बनाउनेतर्फ आयोजना केन्द्रित भएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
६० अर्ब रुपैयाँ निक्षेपमा तान्दै राष्ट्र बैंक
-
सुन र चाँदीको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
किसानका सुझाव लिएर सिक्टा सिँचाइको बाँकी काम अघि बढाउँदै आयोजना
-
चिलिमे उद्धार टोली १५० मिटरभित्र पुगेको श्रीराम न्यौपानेको भनाइ
-
असोजमा पनि घट्यो बैंकको निक्षेप ब्याजदर, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
-
देशभर बदली, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना