सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कुलेखानी बाँधबाट पानी खोल्ने तयारी, बागमती किनारका बासिन्दालाई पूर्वसूचना

बाँधको सुरक्षाका लागि स्पिलवे गेट खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै जिल्ला प्रशासनलाई पत्राचार

जलसरोकार
शनिबार, कात्तिक १५, २०८३ | १४:३२:१३ बजे

काठमाडौं : कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले मकवानपुरको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जलाशयको जलसतह थप बढेमा बाँधको सुरक्षाका लागि मुख्य ढोका (स्पिलवे गेट) खोल्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणले जनाएको छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गर्दै जलाशयको जलसतह र सम्भावित जोखिमबारे जानकारी गराएको हो।

प्राधिकरणका अनुसार २०८३ कात्तिक १४ गते दिउँसो १२ बजे जलाशयको सतह १ हजार ५२८.१५ मिटर पुगेको थियो। पानीको बहावका आधारमा सोही दिन साँझ ४ बजेसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको थियो।

जलसतह १ हजार ५२८.५ मिटर पुगेपछि पूर्वसतर्कताका लागि पहिलो चरणको साइरन बजाउने र मोबाइलमा एसएमएस अलर्ट पठाउने तयारी गरिएको प्राधिकरणले जनाएको छ।

गेट खोल्नुपर्ने अवस्था आउन सक्ने

मौसममा क्रमिक सुधार देखिए पनि जलाधार क्षेत्रमा अप्रत्याशित रूपमा भारी वर्षा भएमा जलाशयको सुरक्षा र जलसतह सन्तुलन कायम राख्न बाँधका मुख्य ढोका खोल्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने प्राधिकरणको भनाइ छ।

गेट खोल्नुपर्ने अवस्था आएमा कुलेखानी जलाशयको तल्लो तटीय क्षेत्रअन्तर्गत सिस्नेरी खोला तथा बागमती नदी किनारमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्राधिकरणले नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न तथा सुरक्षित स्थानमा रहन स्थानीय बासिन्दालाई अनुरोध गरेको छ। साथै, स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।

तीन चरणमा साइरन र एसएमएस अलर्ट

सम्भावित बाढीको जोखिम व्यवस्थापनका लागि कुलेखानी जलविद्युत् केन्द्रले तीन चरणको आपतकालीन साइरन प्रणाली र एसएमएस अलर्टको व्यवस्था गरेको जनाएको छ।

मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा निर्धारित प्रक्रियाअनुसार दोस्रो र तेस्रो चरणको आपतकालीन साइरन बजाउनुका साथै मोबाइलमा एसएमएसमार्फत सूचना प्रवाह गरिनेछ।

प्राधिकरणका अनुसार सम्भावित जोखिम व्यवस्थापनका लागि प्राविधिक कर्मचारीको टोली कात्तिक १३ गतेदेखि नै स्थलगत क्षेत्र र नियन्त्रण कक्षमा पूर्ण तयारीका साथ परिचालन गरिएको छ।

स्थानीय प्रशासन र सुरक्षा निकायलाई समन्वय गर्न आग्रह

कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पठाएको पत्रमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता र सुरक्षा अपनाउन सूचना प्रवाह गरिदिन अनुरोध गरिएको छ।

पत्राचारमा स्थानीय तह, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमप्रति सजग रहन र आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

प्राधिकरणले कुलेखानी जलाशयको जलसतह, पानीको बहाव र मौसमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।

जलाशयको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र प्राधिकरण तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ।

प्रकाशित मिति : शनिबार, कात्तिक १५, २०८३ | १४:३२:१३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया