कुलेखानी जलाशयको सतह बढ्दै, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
जलसतह १५२९ मिटर पुग्न सक्ने अनुमान, आवश्यक परे बाँधका मुख्य ढोका खोलिने
जलसरोकार
काठमाडौं : कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह निरन्तर बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार २०८३ कात्तिक १४ गते दिउँसो १२ बजे जलाशयको जलसतह १ हजार ५२८.१५ मिटर पुगेको छ। पानीको बहावका आधारमा सोही दिन साँझ ४ बजेसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।
जलसतह १ हजार ५२८.५ मिटर पुगेपछि पूर्वसतर्कताका लागि पहिलो चरणको साइरन बजाउने र मोबाइलमा सन्देश (एसएमएस अलर्ट) पठाउने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
मौसममा क्रमिक सुधार देखिए पनि जलाधार क्षेत्रमा अप्रत्याशित रूपमा भारी वर्षा भएमा बाँधको सुरक्षाका लागि मुख्य ढोका (स्पिलवे गेट) खोल्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको भनाइ छ।
तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सिस्नेरी खोला तथा बागमती नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले रातिको समयमा उच्च सतर्कता अपनाउन, नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरेको छ।
बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा दोस्रो र तेस्रो चरणको आपतकालीन साइरन बजाउनुका साथै एसएमएसमार्फत सूचना प्रवाह गरिने प्राधिकरणले जनाएको छ।
प्राविधिक टोली तयारी अवस्थामा
प्राधिकरणका अनुसार कुलेखानी जलाशयको अवस्था निगरानी गर्न प्राविधिक टोली कात्तिक १३ गतेदेखि नै स्थलगत क्षेत्र र नियन्त्रण कक्षमा परिचालन गरिएको छ।
जलाशयको जलसतह, पानीको बहाव र मौसमको अवस्थालाई निरन्तर अनुगमन भइरहेको जनाउँदै प्राधिकरणले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको स्पष्ट पारेको छ।
प्राधिकरणले कुलेखानीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सूचनालाई गम्भीरतापूर्वक लिन र सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलेखानी बाँधबाट पानी खोल्ने तयारी, बागमती किनारका बासिन्दालाई पूर्वसूचना
-
कुलेखानी जलाशयको सतह बढ्दै, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
आफ्नै लगानीको भ्रमदेखि विदेशी पुँजीको निर्भरतासम्म : नेपालको जलविद्युत् विकासमा नीतिगत विरोधाभास
-
सुनकोसी-मरिणको ठेक्का रद्द गराउन पक्राउ, रद्द गर्ने निर्णयपछि अधिकारीहरू रातारात रिहा
-
सुनकोसी-मरिण प्रकरण : ठेक्कामा हस्तक्षेप, उच्च सरकारी अधिकारीको पक्राउ र प्रधानमन्त्रीको सचिवालयको अधिकारमाथि गम्भीर प्रश्न
-
हिमाल जोगाउने नेपालको प्रस्तावलाई ५३ देशको समर्थन