माथिल्ली त्रिशूली-१ मा ११ दिनपछि एकको उद्धार
जलसरोकार
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा उत्पन्न संकट व्यवस्थापनका लागि सरकारले उद्धार र पुनःस्थापनाको काम तीव्र पारेको जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट बाढी आएको ११औँ दिन एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
ऊर्जा मन्त्रालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाको विपद् विशेषज्ञ टोलीले २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट ती नागरिकको सकुशल उद्धार गरेको हो। मन्त्रालयले बाँकी व्यक्तिको खोजी तथा उद्धारका लागि उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी सुरुङ तथा अन्य भग्नावशेषमा खोजी जारी रहेको जनाएको छ।
११ दिनपछि सुरुङबाट एक व्यक्तिको जीवित उद्धार हुनु निस्सन्देह उद्धार अभियानको महत्वपूर्ण उपलब्धि हो। यति लामो समयपछि पनि जीवितै उद्धार हुनुले सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजीप्रति आशा पनि जगाएको छ।
तर, यही सफलतासँगै ऊर्जा मन्त्रालयको विवरणले संकटको एउटा महत्वपूर्ण तस्वीर भने अझै स्पष्ट पारेको छैन।माथिल्लो त्रिशूली-१ को सुरुङमा कति जना फसेका थिए? कति जनाको उद्धार भइसकेको छ? कति जना अझै सम्पर्कविहीन छन्?
मन्त्रालयको विवरणमा एक चिनियाँ नागरिकको उद्धार भएको उल्लेख छ र ‘बाँकी व्यक्तिहरूको उद्धारका लागि’ खोजी जारी रहेको भनिएको छ। तर ‘बाँकी व्यक्ति’ कति जना हुन् भन्ने तथ्य सार्वजनिक गरिएको छैन।
विपद्को यस्तो अवस्थामा उद्धारमा परिचालन भएका जनशक्ति, उपकरण र विदेशी सहयोगको विवरण महत्वपूर्ण हुन्छ। तर उद्धारको वास्तविक प्रगति बुझ्न त्यससँगै सुरुङमा फसेका वा सम्पर्कविहीन व्यक्तिको संख्या पनि उत्तिकै आवश्यक हुन्छ। एक व्यक्तिको उद्धार भएको सूचना महत्वपूर्ण भए पनि त्यसले संकटको सम्पूर्ण अवस्था देखाउँदैन।
चिलिमेमा १०० मिटर सफा, तर खोजी कसको?
ऊर्जा मन्त्रालयका अनुसार चिलिमे जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका २१ जना उद्धारकर्मी परिचालित छन्। प्रतिकूल मौसम, विकट भूगोल र सडक सञ्जाल अवरुद्ध भएको अवस्थामा उनीहरूले सुरुङभित्र म्यानुअल रूपमा भग्नावशेष हटाउँदै २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरेका छन्।
ठूलो क्षमताको एक्स्काभेटर घटनास्थलसम्म पुर्याउन स्याफ्रु पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण सुरु गरिएको र सुरुङभित्र उपकरण लैजान माटो हटाउने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ। साना हेलिकोप्टरबाट सामग्री र उपकरण ढुवानी भइरहेको छ।
यसबाट उद्धार अभियान कति कठिन अवस्थामा सञ्चालन भइरहेको छ भन्ने स्पष्ट हुन्छ। तर यहाँ पनि एउटा प्रश्न अनुत्तरित छ, चिलिमेको सुरुङभित्र कति जनालाई खोजिँदै छ?
मन्त्रालयले २५० मिटरमध्ये १०० मिटर सुरुङ सफा भएको विवरण दिएको छ। तर बाँकी भागको अवस्था कस्तो छ, त्यहाँ उद्धार टोली कुन स्थानसम्म पुग्न खोजिरहेको छ र खोजीको लक्ष्य के हो भन्ने स्पष्ट विवरण दिइएको छैन।
उद्धार कार्यको प्रगतिलाई केवल ‘कति मिटर सुरुङ सफा भयो’ भनेर मात्र बुझ्न सकिँदैन। सुरुङभित्र मानिसको सम्भावित स्थान कहाँ छ र उद्धार टोली त्यो स्थानसम्म पुग्न कति नजिक पुगेको छ भन्ने जानकारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
ड्रोन आयो, तर त्यसले के पत्ता लगायो?
ऊर्जा मन्त्रालयका अनुसार मन्त्रीको पहलमा स्विट्जरल्यान्डबाट सुरुङभित्र खोज तथा उद्धारका लागि अत्याधुनिक ड्रोन उपलब्ध गराइएको छ। मन्त्रालयले उक्त ड्रोनले जोखिम मूल्याङ्कन, खोजी तथा उद्धार कार्यलाई सुरक्षित, छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ। विदेशबाट विशेष प्रविधि ल्याएर उद्धारमा प्रयोग गर्नु संकटको गम्भीरतालाई ध्यानमा राखिएको प्रयासका रूपमा लिन सकिन्छ।
तर मन्त्रालयको विवरणमा अर्को प्रश्नको उत्तर छैन, ड्रोन उपलब्ध भइसकेपछि त्यसको प्रयोगबाट अहिलेसम्म के परिणाम निस्कियो?
ड्रोन उपलब्ध हुनु आफैंमा उपलब्धि हुन सक्छ, तर संकटमा त्यसको महत्व वास्तविक उद्धार परिणामसँग जोडिन्छ। सुरुङभित्रको अवस्थाबारे ड्रोनबाट नयाँ सूचना प्राप्त भयो कि भएन, मानिसको सम्भावित स्थान पहिचान भयो कि भएन वा उद्धार रणनीतिमा त्यसले के परिवर्तन ल्यायो भन्ने विवरण सार्वजनिक गरिएको छैन।
धेरै टोली, धेरै उपकरण, तर उद्धार कहाँ पुग्यो?
ऊर्जा मन्त्रालयका अनुसार सुरुङमा फसेकाको उद्धारका लागि नेपाली सेना, भारतीय सेना, कोरियाली विज्ञ र आयोजना इन्जिनियरको संयुक्त टोली परिचालित छ। टोलीले सुरुङभित्र विभिन्न स्थानमा पुगेर रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो हटाउने काम गरिरहेको मन्त्रालयले जनाएको छ।
थप एक्स्काभेटर, ब्याक लोडर, बबक्याट र ड्रोनलगायत उपकरण परिचालन गरेर उद्धार अभियानलाई तीव्र बनाइएको पनि मन्त्रालयको भनाइ छ।
यसले उद्धारमा राज्यले ठूलो जनशक्ति, उपकरण र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरेको देखाउँछ। तर संकटको ११औँ दिनसम्म आइपुग्दा जनताले जान्नुपर्ने प्रश्न केवल कति टोली परिचालन भयो भन्ने मात्र होइन।
उद्धार अभियान अहिले कुन चरणमा पुगेको छ?
कुन सुरुङमा कति अवरोध बाँकी छ, कुन स्थानमा उद्धार सबैभन्दा जटिल छ र आगामी दिनमा उद्धारको सम्भावना तथा चुनौती के छन् भन्ने विषयमा मन्त्रालयको पछिल्लो विवरण मौन छ।
विपद्को समयमा सरकारले ‘के गरिरहेको छ’ भन्ने जानकारी दिनु आवश्यक हुन्छ। तर ‘त्यसको परिणाम के आयो’ भन्ने जानकारी अझ महत्वपूर्ण हुन्छ।
रसुवामा ७८ र नुवाकोटमा ९६ प्रतिशत के?
ऊर्जा मन्त्रालयले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा विद्युत् सेवा पुनःसञ्चालनको काम निरन्तर भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार रसुवामा करिब ७८ प्रतिशत र नुवाकोटमा करिब ९६ प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ। धादिङमा भने करिब सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भइसकेको मन्त्रालयको दाबी छ।
तर यहाँ प्रयोग भएको ‘विद्युतीकरण सम्पन्न’ भन्ने शब्दले पनि स्पष्टता माग्छ।
बाढीअघि नै विद्युत् पुगेका क्षेत्रमा अहिले ‘विद्युतीकरण’ भन्नाले के जनाइएको हो? क्षतिग्रस्त वितरण संरचना मर्मत भएको हो कि विद्युत् आपूर्ति पुनःसञ्चालन भएको हो?
रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत भन्नुको आधार के हो? कति ग्राहकको विद्युत् सेवा पुनःसञ्चालन भयो र कति अझै सेवाबाट बाहिर छन्? कति ट्रान्सफर्मर, पोल वा वितरण लाइन क्षतिग्रस्त भएका थिए?
मन्त्रालयले प्रतिशतमा प्रगति दिएको छ, तर प्रभावित नागरिकका लागि प्रतिशतभन्दा महत्वपूर्ण प्रश्न भनेको आफ्नै घर वा बस्तीमा विद्युत् कहिले पुग्छ भन्ने हो।
बाँकी क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सोलार टुकीलगायत वैकल्पिक ऊर्जा स्रोत उपलब्ध गराउने काम भइरहेको मन्त्रालयले जनाएको छ। यो तत्कालका लागि राहतको उपाय हुन सक्छ। तर क्षतिग्रस्त विद्युत् संरचना पूर्ण रूपमा पुनःस्थापना कहिलेसम्म हुन्छ भन्ने प्रश्नको जवाफ पनि आवश्यक छ।
सूचना मात्र होइन, संकटको पूरा तस्वीर चाहिन्छ
ऊर्जा मन्त्रालयको पछिल्लो विवरणले एउटा कुरा स्पष्ट देखाउँछ, सरकार उद्धार र विद्युत् सेवा पुनःस्थापनाका लागि निष्क्रिय बसेको छैन। सेना, विदेशी विज्ञ, आयोजना इन्जिनियर, भारी उपकरण र नयाँ प्रविधि परिचालन गरिएको छ। ११ दिनपछि एक व्यक्तिको जीवित उद्धार हुनु त्यसको महत्वपूर्ण परिणाम पनि हो।
तर विपद् व्यवस्थापनमा गतिविधिको सूची मात्र पर्याप्त हुँदैन। सार्वजनिक सूचनाले संकटको वास्तविक परिमाण पनि देखाउनुपर्छ। कति मानिस फसेका छन्, कति जनाको उद्धार भयो, कति जना अझै सम्पर्कविहीन छन्, उद्धार टोली कहाँ पुगेको छ र बाँकी चुनौती के हो, यी प्रश्नको स्पष्ट जवाफबिना उद्धार अभियानको पूर्ण मूल्याङ्कन हुन सक्दैन।
ऊर्जा मन्त्रालयको विवरणले आशा जगाउने एउटा समाचार दिएको छ, ११ दिनपछि सुरुङबाट एक व्यक्ति जीवितै उद्धार भए।
तर त्यससँगै उसले अझै जवाफ दिन बाँकी राखेको सबैभन्दा ठूलो प्रश्न पनि छ, रसुवाका जलविद्युत् सुरुङमा अझै कति मानिस छन् र उनीहरूसम्म उद्धार टोली कहिले पुग्छ?
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले दुई जलविद्युत् आयोजना बगायाे
-
सुनको मूल्य तीन हजार एक सय र चाँदी ४० रुपैयाँले घट्यो
-
एक वर्षमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान
-
भोटेकोशी बाढी : ६४ करोडका ५५ खानेपानी आयोजनामा क्षति
-
बाढीपछि ११ दिन : रसुवागढीमा खोजी, उद्धार र ९३ जना सम्पर्कविहीनको घटनाक्रम
-
रसुवागढी हाइड्रोपावरका ९३ जना अझै सम्पर्कविहीन, को-को छन् सूचीमा?