सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एक वर्षमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान

जलसरोकार
आइतबार, भदौ २१, २०८३ | १०:०३:२९ बजे

 

म्याग्दी : म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न ठाउँमा सात सय नयाँ उपभोक्ता थपिएको जनाएको छ ।

केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार एक वर्षयता धवलागिरि गाउँपालिकाको मल्कवाङ, खोरिया, लमसुङ, फलियागाउँ तथा मालिकाको महभिरमा विद्युत् सुविधा विस्तार भएको छ । मल्कवाङमा ११०, खोरियामा ६०, लमसुङमा २५, महभिरमा १२० र फलियागाउँमा १५० वटा विद्युत् मिटर जडान गरिएको उनले जानकारी दिए । 

“धवलागिरिको लुलाङ र रघुगंगाको चिमखोलामा केन्द्रीय लाइन पुगे पनि लघुजलविद्युत् परियोजनाको विद्युत् उपभोग गरिरहेका उपभोक्ता मिटर लिन आएका छैनन्,” उनले भने, “फलियागाउँमा यसअघि नै विद्युतीकरण भए पनि लघुजलविद्युत् परियोजना बन्द भएपछि उपभोक्ताले मिटर लगेका छन् ।”

केन्द्रका प्रमुख गामीका अनुसार धवलागिरिको खिवाङ, मालिकाको पन्थोक, जुग्जा, सिस्नेरी र खवाङ तथा अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल मोहरेडाँडा, फुलबारी र डाँडाखर्कमा केन्द्रीय लाइन विस्तारको तयारी भएको छ ।

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा विद्युत् पुगेपछि खुसीयाली छाएको धवलागिरि गाउँपालिका–५ का वडाध्यक्ष अमर छन्त्यालले बताए । विद्युत् विस्तारसँगै घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको उनले बताए ।

पछिल्लो वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत विद्युत्का ग्राहक सङ्ख्या २४ हजार ४९० पुगेको केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिनुभयो । प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८७४, २०८०/८१ मा एक हजार ४३८, २०७९/८० मा एक हजार २३८ र २०७८/७९ मा ७७० घरधुरीमा नयाँ लाइन जडान भएको थियो ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज र वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेसनमार्फत विद्युत् वितरण हुँदै आएको छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्न प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।

गत आर्थिक वर्षमा म्याग्दी वितरण केन्द्रमार्फत एक करोड ८४ लाख ७३ हजार ७७९ युनिट विद्युत् खपत हुँदा रु ९९ करोड ८५ लाख ६९ हजार ७४९ महसुल सङ्कलन भएको छ । समयमा महसुल नबुझाउने ९८ जना ग्राहकको लाइन काटेर रु २५ लाख ६८ हजार ३३० बक्यौता असुल गरिएको केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार ६० दिनसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने र छ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिनेछ ।

 

 

प्रकाशित मिति : आइतबार, भदौ २१, २०८३ | १०:०३:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया