सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले दुई जलविद्युत् आयोजना बगायाे

जलसरोकार
आइतबार, भदौ २१, २०८३ | १२:०१:२९ बजे

 

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको छ । बाढीपछि चुमनुब्रीवासीको आवागमन र विद्युत् सेवा प्रभावित हुँदा जनजीवन समस्यामा परेको छ ।

पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए । 

थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ । बाढीका कारण बूढीगण्डकीको बहाव बढ्दा नाम्रुङभन्दा तल जङ्गलस्थित अर्को पुलसमेत बगेको जनाइएको छ ।

“बाढी पहिरोले हामीलाई जोखिममा पार्‍याे,” लामाले भने, “गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्यो । कतै जान पनि नमिल्ने भयो ।”

बाढीले स्थानीयले उपभोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ । तीमध्ये भर्खरै निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भइरहेको १०० किलोवाट क्षमताको आयोजना र पहिलेदेखि सञ्चालनमा रहेको २२ किलोवाट क्षमताको आयोजना बाढीले बगाएको हो ।

“एउटा भर्खर सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भएको १०० किलोवाटको जलविद्युत् थियो, त्यो पनि लग्यो,” लामाले भने, “अर्को पहिल्यैदेखि बालिरहेको २२ किलोवाटको जलविद्युत् थियो, त्यो पनि नामेट पारेर लग्यो । आवतजावत र विद्युत् ठप्प हुँदा जनजीवन समस्यामा परेको छ ।”

विद्युत् सेवा अवरुद्ध भएपछि बत्ती, सञ्चार सेवा तथा विद्युत्‌बाट सञ्चालन हुने अन्य सेवा प्रभावित भएका छन् । पुल बगेसँगै भर्खर सुरु हुँदै गरेको मनास्लु क्षेत्रको पर्यटक आवागमनसमेत प्रभावित भएको छ । लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल बगेपछि समस्यामा परेका छन् ।

यसैबीच, पहिरोसँगै आएको बाढीले राति स्थानीय चारजनाका घरसमेत बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बाढीले नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको प्रहरीले जनाएको छ ।

“भूकम्प आएजस्तो गरी गाउँ थर्काएछ । सबै बिउँझिएछन् । अनि बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,” वडाध्यक्ष पेमाग्याल्बो लामाले भने, “नत्र सबैलाई बढारेर लैजान्थ्यो ।”

बाढीबाट घर गुमाएका चार परिवारलाई तत्काल अल्पकालीन राहत उपलब्ध गराइने वडाध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार तत्काल खाद्यान्न तथा लत्ताकपडाका लागि प्रतिपरिवार रु २० हजारका दरले राहत दिइनेछ भने केही दिनभित्र गाउँपालिकाका तर्फबाट प्रतिपरिवार रु एक लाख बराबरको राहत उपलब्ध गराउने तयारी छ ।

अन्य निकाय तथा संस्थाबाट राहत उपलब्ध गराउनसमेत पहल गरिने वडाध्यक्ष लामाले बताए।

प्रकाशित मिति : आइतबार, भदौ २१, २०८३ | १२:०१:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया