सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

१० दिन बित्दा पनि रसुवागढीको विद्युत्‌गृहमा पुग्न सकेन मिनी एक्साभेटर

जलसरोकार
शनिबार, भदौ २०, २०८३ | १३:४०:२८ बजे

काठमाडौं : रसुवागढी हाइड्रोपावर आयोजनामा आएको विपत्तिको १० दिन बितिसक्दा पनि उद्धारका लागि आवश्यक मिनी एक्साभेटर र ठूलो डिजेल जेनेरेटर विद्युत्‌गृहसम्म पुर्‍याउन सकिएको छैन। मौसम खराबी र आयोजना क्षेत्रमा पुग्ने पहुँचको समस्याका कारण साना क्षमताका उद्धार सामग्री मात्रै घटनास्थलतर्फ पठाउन सकिएको कम्पनीले जनाएको छ।

रसुवागढी हाइड्रोपावर कम्पनीले शनिबार  बिहान १० बजे सार्वजनिक गरेको पछिल्लो अवस्थाको विवरणअनुसार मिनी एक्साभेटर र ठूलो डिजेल जेनेरेटरबाहेक ६.५ केभीए डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइप तथा त्यससँग सम्बन्धित विद्युतीयलगायत अन्य सामग्री मौसम खराबीका कारण १९ गते बिहान ११ः२० बजे मात्र धुन्चेबाट पठाउन सम्भव भएको हो।

विद्युत्‌गृह क्षेत्रमा उद्धारका लागि आवश्यक उपकरण र सामग्री पुर्‍याउन नसकिएको अवस्थामा शुक्रबार भने नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार टोली र आवश्यक सामग्री विद्युत्‌गृहतर्फ पठाउन थालेको छ। कम्पनीका अनुसार शुक्रबार बिहान सेनाको उद्धार टोलीले आयोजना स्थलको रेकी गरेपछि बिहान ९ः२० देखि ९ः५० बजेसम्म आवश्यक सामग्री तथा कम्पनीका वरिष्ठ भूगर्भविद् विष्णु शिवाकोटीसहित सेनाको उद्धार टोली रहेका तीनवटा हेलिकप्टर विद्युत्‌गृहतर्फ प्रस्थान गरेका छन्। तत्काल अर्को एउटा उडानको तयारी भइरहेको जानकारी पनि कम्पनीले दिएको छ।

कम्पनीले विपत्तिपछि विद्युत्‌गृह क्षेत्रमा खोजी तथा उद्धारका लागि मिनी एक्साभेटर, डिजेल जेनेरेटर, सबमर्सिबल पम्प र होज पाइपलगायत सामग्री परिचालन गर्ने प्रयास गर्दै आएको थियो। तर मौसम र पहुँचमार्गको प्रतिकूलताका कारण आवश्यक उपकरण घटनास्थलसम्म पुर्‍याउन समस्या भइरहेको यसअघिको विवरणमा पनि उल्लेख थियो।

पछिल्लो विवरणअनुसार हालसम्म कम्पनीका नियमित कर्मचारी ५१ जना, सञ्चालक १ जना, दैनिक ज्यालादारी कामदार २ जना र तीनवटा ठेकेदार कम्पनीका ३९ जना गरी जम्मा ९३ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको कम्पनीले जनाएको छ।

खोजी तथा उद्धार कार्यको समन्वयका लागि नुवाकोटको बट्टारमा वरिष्ठ इन्जिनियरसहित दुई जना, रसुवाको धुन्चेमा दुई जना इन्जिनियर तथा विद्युत्‌गृहको उद्धार टोलीलाई विद्युतीय जडान कार्यमा सहयोग गर्न एक जना इलेक्ट्रिकल ओभरसियर तयारी अवस्थामा राखिएको छ। कम्पनीका पूर्वकर्मचारी तथा वरिष्ठ भूगर्भविद् विष्णु शिवाकोटीलाई समेत उद्धार कार्यमा परिचालन गरिएको छ।

विद्युत्‌गृहबाहिर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि भने कम्पनीले आफ्नै प्रयासमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर परिचालन गरेको छ। हिमालय समिट क्लब प्रालिको टोलीसँग सम्झौता गरी घट्टेखोला क्याम्प र त्यस वरपरको क्षेत्रमा थप जमिनबाट खोजी भइरहेको कम्पनीले जनाएको छ।

टोलीले १९ गते हेलिकप्टरमार्फत घट्टेखोला पुगेर खोजी थालेको थियो। हिजो बेलुकासम्म प्राप्त प्रतिवेदनअनुसार त्यस समयसम्म कुनै पनि सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे जानकारी प्राप्त भएको थिएन। शुक्रबार बिहान ७ः३० बजेदेखि पुनः खोजी सुरु भएको भए पनि त्यसको पछिल्लो विवरण आउन बाँकी रहेको कम्पनीले जनाएको छ।

कम्पनीले सम्पर्कविहीन कर्मचारी तथा जलविद्युत्‌ केन्द्रमा कार्यरत कर्मचारीका परिवार र आफन्तलाई घटनाको अवस्थाबारे नियमित जानकारी दिन विभिन्न ह्वाट्सएप समूहसमेत सञ्चालनमा ल्याएको जनाएको छ। ती माध्यमबाट प्राप्त सूचना, गुनासा र सुझावलाई समेत खोजी तथा उद्धार कार्यमा उपयोग गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : शनिबार, भदौ २०, २०८३ | १३:४०:२८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया