बाढीपछि ११ दिन : रसुवागढीमा खोजी, उद्धार र ९३ जना सम्पर्कविहीनको घटनाक्रम
जलसरोकार
काठमाडौं : भदौ १० गते बिहान रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी जलविद्युत् आयोजनाका बाँधस्थल, कार्यालय, कर्मचारी आवास, विद्युत्गृह र प्रसारण संरचनामा ठूलो क्षति पुर्यायो। बाढी आएको केही समयमै आयोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदारसँग सम्पर्क टुट्यो।
रसुवागढी हाइड्रोपावर कम्पनीले उपलब्ध गराएको भदौ २० गतेसम्मको विस्तृत विवरणअनुसार बाढी आएको दिनदेखि ११ दिनसम्म कम्पनीले खोजी तथा उद्धारका लागि हेलिकोप्टर, नेपाली सेना, प्राविधिक टोली, ड्रोन, भारी तथा साना उपकरण र विशेष खोजी टोली परिचालनका लागि विभिन्न प्रयास गर्यो। तर भदौ २० गतेसम्म आइपुग्दा पनि ९३ जना सम्पर्कविहीन रहेको कम्पनीको विवरणले देखाएको छ।
भदौ १० : बाढी आयो, ठूलो संख्यामा कर्मचारीसँग सम्पर्क टुट्यो
भदौ १० गते बिहान करिब ८:४० बजे रसुवा भोटेकोशी नदीमा अचानक विनाशकारी बाढी आएको जानकारी कम्पनीले प्राप्त गरेको थियो। प्रारम्भिक जानकारीअनुसार बाढी अत्यन्त ठूलो भएकाले आयोजनाका संरचनामा गम्भीर क्षति पुगेको र धेरै कर्मचारी तथा अन्य व्यक्तिले सुरक्षित स्थानमा पुग्ने समयसमेत नपाएको अनुमान गरिएको थियो।
कम्पनीले तत्काल काठमाडौं कार्यालयका कर्मचारीमार्फत साइटमा रहेका कर्मचारीसँग सम्पर्क प्रयास गर्यो। केही स्थानीय कर्मचारी ज्यान जोगाएर भाग्न सफल भएको जानकारी आए पनि अन्य धेरै कर्मचारीको अवस्था थाहा हुन सकेन।
प्रारम्भिक विवरणमा कम्पनीका ४९ जना नियमित कर्मचारी, ६ जना दैनिक ज्यालादारी कामदार र करिब ३५ जना ठेकेदार कम्पनीका जनशक्ति सम्पर्कविहीन भएको जानकारी आएको थियो। कम्पनीका एक सञ्चालक र उहाँकी धर्मपत्नी पनि सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी थियो।
सोही दिन कम्पनीले हेलिकोप्टरबाट तीन जना कर्मचारीलाई आयोजनास्थल र आसपासका क्षेत्रमा खोजीका लागि पठायो। एकजना कर्मचारी फोटो तथा भिडियो लिएर काठमाडौं फर्किए पनि दुई जना कर्मचारी टिमुरे क्षेत्रमा बसेर सम्भावित स्थानमा खोजीमा खटिए।
साँझ बसेको सञ्चालक समितिको आकस्मिक बैठकले सबैभन्दा पहिले कर्मचारीको खोजी तथा उद्धारलाई उच्च प्राथमिकता दिने निर्णय गरेको थियो। कम्पनीले प्रभावित कर्मचारीका परिवारसँग सम्पर्क र समन्वय गर्न सहायता कक्षसमेत स्थापना गरेको जनाएको छ।
भदौ ११ : सरकारी निकायसँग औपचारिक समन्वय, तर साइटमा पुग्न उडान स्वीकृति भएन
बाढीको दोस्रो दिन कम्पनीले जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरणलगायत सरकारी निकायसँग औपचारिक पत्राचार गरी खोजी तथा उद्धारका लागि सहयोग माग्यो।
विद्युत्गृह जाने सुरुङमा फसेका तथा सम्पर्कमा नआएका कर्मचारीको नामावलीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराइएको थियो। कम्पनीले सम्पर्कविहीन कर्मचारीका परिवारलाई नियमित जानकारी दिन छुट्टै ह्वाट्सएप समूह पनि बनाएको जनाएको छ।
कम्पनीले हेलिकोप्टरबाट पुनः आयोजनास्थल पुग्ने प्रयास गरे पनि त्यस दिन उडान स्वीकृति प्राप्त हुन नसकेको विवरणमा उल्लेख छ। अघिल्लो दिन टिमुरे क्षेत्रमा बसेर खोजी गरिरहेका कम्पनीका दुई कर्मचारीलाई भने पछि नेपाली सेनाले उद्धार गरी धुन्चे ल्याएको थियो।
भदौ १२ : सुरुङबाट चार जनाको उद्धार
खोज तथा उद्धार कार्य ढिलो भएको गुनासो बढिरहेका बेला भदौ १२ गते बाँधस्थलअन्तर्गत भूमिगत रूपमा रहेको बालुवा थिग्राउने पोखरीको सञ्चालन सुरुङमा कार्यरत छ जना दैनिक ज्यालादारी कामदारमध्ये चार जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको कम्पनीले जनाएको छ।
उद्धार गरिएकामा बलबहादुर माझी, भरतबहादुर माझी, राजन विक र सुनिल माझी रहेका थिए। बाँकी दुई जनाको अवस्था भने अज्ञात रहेको थियो।
कम्पनीले त्यस दिन हेलिकोप्टरमार्फत कर्मचारी र सम्पर्कविहीनका परिवारका सदस्यलाई समेत आयोजनास्थल आसपासको सम्भावित क्षेत्रमा खोजीका लागि पठाएको जनाएको छ। उद्धार निकायलाई सम्पर्कविहीन कर्मचारीको विवरण, सम्पर्कविहीन भएको स्थान, जिपिएस समन्वय र आयोजनाका नक्सासमेत उपलब्ध गराइएको थियो।
भदौ १३ : उद्धार ढिलो भएको गुनासो
भदौ १३ गते कम्पनीले नेपाल विद्युत् प्राधिकरणमार्फत उद्धार कार्यदलसँग प्रत्यक्ष समन्वयका लागि विभिन्न प्राविधिक समूहसँग सूचना आदानप्रदान गरेको जनाएको छ।
सम्पर्कविहीन कर्मचारीको फोटोसहित विवरण सार्वजनिक गर्दै उद्धार कार्य ढिलो भइरहेको गुनासो पनि विभिन्न सञ्चारमाध्यममार्फत राखिएको थियो।
कम्पनीका अनुसार विभिन्न स्थानबाट उद्धार गरी अस्पतालमा उपचाररत व्यक्तिको विवरण संकलन गर्ने तथा सामाजिक सञ्जालमा आएका सूचना र भिडियोमार्फत सम्पर्कविहीन कर्मचारीको पहिचान गर्ने प्रयास जारी थियो। तर जमिनबाट खोजी तथा विद्युत्गृह जाने सुरुङभित्र प्रवेश प्रभावकारी रूपमा अघि बढ्न नसक्दा परिवारजनको आक्रोश बढिरहेको कम्पनीको विवरणमा उल्लेख छ।
भदौ १४ : सेनासँग छलफल, पावरहाउस प्रवेशको योजना
भदौ १४ गते कम्पनीका सञ्चालक, सचिव र प्राविधिक टोली धुन्चे पुगेर नेपाली सेनाका अधिकारीसँग खोजी तथा उद्धारको प्रगति र आगामी योजनाबारे छलफल गर्न पुगेका थिए।
सेनाका अनुसार सुरुआती दिनमा नदेखिएको विद्युत्गृहको प्रवेशद्वार क्रमशः खुल्दै गएको र आयोजनाको निर्माणकालीन नक्सासहित इन्जिनियरको सहयोगमा भोलिपल्टदेखि सुरुङभित्र खोजी तथा उद्धार सुरु गर्ने तयारी भएको थियो।
तर प्रतिकूल मौसमका कारण कम्पनी र उद्धार टोली त्यस दिन आयोजनास्थल पुग्न सकेन। कम्पनीले सुरुङभित्र तथा घट्टेखोला क्षेत्रमाथि ड्रोन सर्वेक्षण गरी खोजी तीव्र बनाउन प्रशासन र विपद् व्यवस्थापन प्राधिकरणलाई पनि अनुरोध गरेको जनाएको छ।
भदौ १५ : सुरुङमा २२० मिटर पुगेपछि उद्धार टोली रोकियो
भदौ १५ गते नेपाली सेनाको उद्धार टोली, ड्रोन प्राविधिक र कम्पनीका इन्जिनियरसहितको टोली दुई पटकको प्रयासपछि विद्युत्गृहको सुरुङभित्र करिब २२० मिटरसम्म पुगेको थियो।
तर त्यहाँ कुनै कर्मचारी फेला परेनन्। त्यसपछि पावरहाउस सुरुङ र ट्रान्सफर्मर क्याभर्न सुरुङ दुवै पूर्ण रूपमा थुनिएको भेटिएपछि टोली अगाडि बढ्न नसकी फर्किएको कम्पनीले जनाएको छ।
कम्पनीले सुरुङभित्र थुप्रिएको लेदो र बाढीले ल्याएको सामग्री हटाएर कन्ट्रोल रुमसम्म पुग्न सकेमा कुनै कर्मचारी फेला पर्न सक्ने सम्भावना रहेको भन्दै थप खोजीका लागि सम्बन्धित निकायसँग पुनः आग्रह गरेको थियो।
त्यस दिन कम्पनीले अस्पतालमा उपचाररत तथा विभिन्न स्थानमा भेटिएका शवको विवरण संकलन गर्ने काम पनि अघि बढाएको थियो। सञ्चालक समितिले आवश्यक उपकरण खरिद गरी नेपाली सेनालाई उपलब्ध गराउने निर्णयसमेत गरेको कम्पनीले जनाएको छ।
भदौ १६ : सरकारसँग प्रत्यक्ष पहल
भदौ १६ गते कम्पनीले विद्युत्गृह र बाहिरी क्षेत्रमा खोजी तथा उद्धारको माग गर्दै सम्पर्कविहीन कर्मचारीको नाम र उनीहरू सम्पर्कविहीन भएको स्थानसहित विज्ञप्ति सार्वजनिक गरेको थियो।
कम्पनीका प्रतिनिधिले ऊर्जा मन्त्रालय र गृह मन्त्रालयमा पुगेर खोजी तथा उद्धार थप प्रभावकारी बनाउन छलफल गरेको कम्पनीको विवरणमा उल्लेख छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग पनि खोजी तथा उद्धारको अवस्था र आगामी प्रयासबारे जानकारी गराइएको कम्पनीले जनाएको छ।
सोही दिन सम्पर्कविहीन कर्मचारीका परिवार, कम्पनी व्यवस्थापन र सञ्चालकको सहभागितामा सरकारसँग छलफल गरी कम्पनी र सरकारको समन्वयमा आवश्यक सामग्री जुटाएर खोजी तथा उद्धारलाई निरन्तरता दिने निर्णय भएको थियो।
भदौ १७ : उपकरण तयारी र जमिनबाट खोजी
भदौ १७ गते कम्पनीले विद्युत्गृहभित्रको लेदो हटाउन आवश्यक मिनी एक्स्काभेटर, डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइपलगायत उपकरण संकलन गरी नेपाली सेनामार्फत आयोजनास्थल पुर्याउने तयारी गरेको जनाएको छ।
सोही दिन नेपाली सेनाको १० सदस्यीय टोलीले घट्टेखोला र आसपासमा जमिनबाट खोजी गरेको र आठ जनाको शव भेटिएको जानकारी कम्पनीले प्राप्त गरेको थियो। तर कम्पनीले फोटो तथा भिडियो माग्दा प्राप्त हुन नसकेको जनाएको छ।
विद्युत्गृह बाहिरबाट सम्पर्कविहीन भएकाको खोजीका लागि कम्पनीले आफ्नै पहलमा दक्ष पर्वतारोहण तथा रक क्लाइम्बर परिचालन गर्न हिमालय समिट क्लब प्रालिसँग सम्झौता गरी चार दिनका लागि विशेष खोजी टोली परिचालन गर्ने निर्णय गरेको थियो।
भदौ १८ : एमआई-१७ अवतरण गर्न नसक्दा उपकरण ढुवानीमा अवरोध
भदौ १८ गते नेपाली सेनाको उद्धार टोलीले भारी उपकरणसहित पावरहाउस पुग्न सम्भाव्यता अध्ययन गरेको थियो। तर पावरहाउस अगाडिको क्षेत्रमा नदीले थप कटान गरेकाले एमआई-१७ हेलिकोप्टर अवतरण गर्न नसकिने जानकारी आएको कम्पनीले जनाएको छ।
त्यसपछि कम तौलका जेनेरेटर, सबमर्सिबल पम्प र अन्य सामग्री साना हेलिकोप्टरबाट पठाउने पहल गरिएको थियो। तर दिनभर मौसम प्रतिकूल हुँदा सामग्री पठाउन नसकिएको कम्पनीको विवरणमा उल्लेख छ।
यसैबीच हिमालय समिट क्लबको टोलीले टिमुरे क्षेत्रमा पुगेर सम्भावित स्थानको खोजी सुरु गरेको थियो। नेपाली सेनाको आग्रहअनुसार ट्रान्सफर्मर क्याभर्न, विद्युत्गृह र त्यसतर्फ जाने बाटोको थप फोटो, भिडियो र नक्सासमेत उपलब्ध गराइएको थियो।
भदौ १९ : ९३ जना सम्पर्कविहीन, खोजीका लागि उपकरण अझै बाटोमै
भदौ १९ गतेसम्म कम्पनीले आफ्ना ५१ जना नियमित कर्मचारी, एक जना सञ्चालक, दुई जना दैनिक ज्यालादारी कामदार र तीन ठेकेदार कम्पनीका ३९ जना गरी ९३ जना सम्पर्कविहीन रहेको जनाएको थियो।
विद्युत्गृहभित्रको लेदो हटाउन आवश्यक उपकरण अघिल्लै दिन धुन्चे हुँदै आयोजनास्थल पठाउने तयारी गरिएको भए पनि एमआई-१७ अवतरण गर्न नसक्दा समस्या भएको कम्पनीले जनाएको छ।
पछि साना हेलिकोप्टरबाट कम तौलका उपकरण पठाउन पहल गरिएको भए पनि मौसमका कारण ढुवानीमा पुनः अवरोध आएको थियो। कम्पनीका अनुसार विशेष रक क्लाइम्बर टोलीले टिमुरे र त्यसपछि घट्टेखोला क्षेत्रमा खोजी सुरु गरेको थियो।
नेपाली सेनाको विशेष उद्धार टोली पनि मौसम अनुकूल भएपछि आवश्यक उपकरणसहित विद्युत्गृह जाने तयारीमा रहेको कम्पनीले जनाएको थियो।
भदौ २० : पावरहाउसको भित्री भागसम्म पुग्यो टोली, तर कर्मचारी भेटिएनन्
भदौ २० गते बिहान नेपाली सेनाको उद्धार टोलीले आयोजनास्थलको रेकीपछि खोजी सुरु गरेको कम्पनीले जनाएको छ। चार वटा हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा कम्पनीका पूर्वकर्मचारी तथा वरिष्ठ भूगर्भविद्सहित उद्धार टोली पावरहाउसतर्फ गएको थियो।
टोलीले भग्नावशेष हटाउँदै ट्रान्सफर्मर क्याभर्न हुँदै विद्युत्गृहभित्रको कन्ट्रोल रुमभन्दा माथिसम्म पुगेर खोजी गरेको थियो। कम्पनीका अनुसार कन्ट्रोल रुम पूर्ण रूपमा पुरिएको अवस्थामा थियो। टोलीले ट्रान्सफर्मर क्याभर्न र विद्युत्गृहका विभिन्न भागमा खोजी गर्दा कुनै पनि कर्मचारी फेला परेनन्।
यसैबीच पावरहाउस बाहिर सम्पर्कविहीन भएकाको खोजीका लागि घट्टेखोला क्षेत्रमा परिचालित विशेष टोलीले पनि साँझसम्म कुनै कर्मचारीको अवस्था पत्ता लगाउन नसकेको कम्पनीले जनाएको छ।
११ दिनको प्रयासपछि पनि ठोस उपलब्धि नभएको कम्पनीको निष्कर्ष
रसुवागढी हाइड्रोपावर कम्पनीले बाढी आएको दिनदेखि भदौ २० गतेसम्म विभिन्न निकाय, नेपाली सेना, प्राविधिक, विशेष खोजी टोली तथा आवश्यक उपकरण परिचालनका लागि निरन्तर प्रयास गरेको जनाएको छ।
तर कम्पनीको आफ्नै विवरणअनुसार ११ दिनको निरन्तर खोजी तथा उद्धार प्रयासका बाबजुद सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे कुनै ठोस उपलब्धि वा सकारात्मक जानकारी प्राप्त हुन सकेको थिएन।
भदौ १२ गते बालुवा थिग्राउने पोखरीको सञ्चालन सुरुङबाट चार जना दैनिक ज्यालादारी कामदारको सकुशल उद्धार भएको थियो। तर भदौ १९ गतेसम्म कम्पनीको विवरणअनुसार ९३ जना अझै सम्पर्कविहीन थिए।
कम्पनीले सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले दुई जलविद्युत् आयोजना बगायाे
-
सुनको मूल्य तीन हजार एक सय र चाँदी ४० रुपैयाँले घट्यो
-
एक वर्षमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान
-
भोटेकोशी बाढी : ६४ करोडका ५५ खानेपानी आयोजनामा क्षति
-
बाढीपछि ११ दिन : रसुवागढीमा खोजी, उद्धार र ९३ जना सम्पर्कविहीनको घटनाक्रम
-
रसुवागढी हाइड्रोपावरका ९३ जना अझै सम्पर्कविहीन, को-को छन् सूचीमा?