सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

६ दिनको गिरावटपछि नेप्सेमा हरियाली, ९.२४ अंकले बढ्यो

जलसरोकार
मंगलबार, भदौ १६, २०८३ | १५:२९:५३ बजे

 

काठमाडौं : लगातार ६ कारोबार दिनको गिरावटपछि नेप्से परिसूचकले मंगलबार पुनः सकारात्मक लय समातेको छ। यस दिन नेप्से ९.२४ अंक बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको हो।

नेप्से बढे पनि बजारमा कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँको कारोबार भएकोमा मंगलबार ३४१ स्टकको ४८ हजार ३४१ पटकको कारोबारमा २ अर्ब ९० करोड ६९ लाख रुपैयाँ बराबरको ७६ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक, फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।

जलविद्युत् समूहमा उछाल

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढ्दा एक उपसमूह मात्रै घटेको छ। जलविद्युत् उपसमूहमा लगानीकर्ताको आकर्षण देखिँदा यसको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ।

यसको विपरीत उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशत घटेको छ।

माथिल्लो मैलुङ खोला सर्वाधिक बढ्यो

मंगलबार माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ७.१५ प्रतिशत बढेर सर्वाधिक वृद्धि हुने कम्पनी बनेको छ। एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ६ प्रतिशत तथा इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।

उता उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.४८ प्रतिशत घटेर सर्वाधिक गिरावट आएको छ।

सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको १३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्टको साढे १३ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा आँखुखोला जलविद्युत् कम्पनीको कारोबार रकम पनि १० करोड रुपैयाँ नाघेको छ।

छ दिनको लगातार गिरावटपछि नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम ३ अर्बभन्दा तल झर्नुले बजारमा लगानीकर्ताको सक्रियता अझै कमजोर रहेको संकेत गरेको छ।

 

 

प्रकाशित मिति : मंगलबार, भदौ १६, २०८३ | १५:२९:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया