सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चार दिनको गिरावटपछि नेप्सेमा सुधार, बिहीबार ८.९७ अंकले उकालो

जलसरोकार
बिहीबार, माघ २९, २०८२ | १६:०१:१९ बजे

 

काठमाडौं : साताको सुरुवातदेखि लगातार ओरालो लागेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकको गिरावट बिहीबार रोकिएको छ । लगातार चार कारोबार दिन घटेको नेप्से सूचक बिहीबार ८.९७ अंकले बढेर २६७१.०७ बिन्दुमा पुगेको छ ।

बिहीबार कारोबार सुरु हुँदा २६६२.१० अंकमा रहेको सूचक दिनभरको उतारचढावपछि सकारात्मक हुँदै बन्द भएको हो ।  यसअघि आइतबार १०.२४ अंक, सोमबार २६.०५ अंक, मंगलबार १०.२५ अंक र बुधबार ०.०४ अंकले नेप्से घटेको थियो ।

नेप्सेका अनुसार बिहीबार सूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार आएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार मार्जिन कारोबार सुविधा निर्देशिका जारी गरेपछि लगानीकर्ताको मनोबलमा सुधार आएको देखिन्छ । मार्जिन कारोबार सुविधा कार्यान्वयनसँगै बैंकबाट कर्जा लिएर ब्रोकरलाई भुक्तानी गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। यसले बजारमा तरलता बढ्ने तथा लगानी विस्तार हुने विश्वास लगानीकर्तामा देखिएको छ ।

धेरै कम्पनीको सेयर मूल्यमा वृद्धि

बिहीबार नेप्सेमा कारोबार भएका ३ सय ३७ कम्पनीमध्ये १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै १ सय १५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जलविद्युत् क्षेत्रका धेरै कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ।

समूहगत सूचकतर्फ जलविद्युत् समूह ३४.६५ अंकले बढेको छ। त्यसैगरी बैंकिङ ४.७५, विकास बैंक ६६.८०, वित्त ८.५९, लगानी ०.६५, जीवन बीमा ६३.२२, उत्पादनमूलक ५५.०४ र सामूहिक लगानी कोष ०.०४ अंकले उकालो लागेको छ।

तर होटल समूह १२१.३४ अंक, लघुवित्त ०.६९, निर्जीवन बीमा १६.२७, अन्य ६.२१ र व्यापार समूह ३.५७ अंकले घटेका छन् ।

कारोबार रकम ११ अर्ब नाघ्यो

बिहीबार नेप्सेमा १ लाख ६ हजार कारोबारबाट २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर ११ अर्ब १० करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम बुधबारको तुलनामा उल्लेखनीय रूपमा बढी हो। बुधबार ३ सय २९ कम्पनीको ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको थियो ।

चार दिनको लगातार गिरावटपछि बिहीबार आएको सुधारले बजारमा सकारात्मक संकेत दिएको छ । विश्लेषकहरूका अनुसार मार्जिन कारोबार सुविधा कार्यान्वयनले आगामी दिनमा बजारमा थप सक्रियता ल्याउन सक्ने देखिन्छ ।

प्रकाशित मिति : बिहीबार, माघ २९, २०८२ | १६:०१:१९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया