नेप्से २६ अंकले घट्यो, कारोबार रकम भने ६ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौं : मंगलबार सेयर बजार परिसूचक नेप्से २६.१६ अंकले घटेर २७७० अंकमा झरेको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको बजार पुनः ओरालो लाग्दा लगानीकर्तामा निराशा देखिएको छ ।
यद्यपि बजार घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ६ अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिन सकेन ।
सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूको नाफा र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ । लोन लस प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) केही घटेको र धेरै संस्थाहरू लाभांश दिन सक्ने अवस्थामा देखिए पनि नउठेको ब्याज तथा साँवा असुलीमा चुनौती यथावत् रहेको विश्लेषण गरिएको छ ।
यसैबीच उद्योगी व्यवसायीमाथि भएको धरपकडको असर पनि बजारमा निरन्तर देखिँदै आएको छ । पछिल्ला दिनमा केही साना सुधार देखिए पनि समग्र प्रवृत्ति भने घट्दो नै रहेको छ ।
मंगलबार जम्मा ४२ कम्पनीको शेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत सूचकतर्फ अधिकांश समूह घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह २.४६ प्रतिशतले घटेको छ ।
त्यसैगरी बैंकिङ ०.८४, विकास बैंक १.२२, हाइड्रोपावर १.७४, लगानी ०.४७, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.३९ र व्यापार समूह ०.३९ प्रतिशतले घटेका छन् । अन्य समूह भने ०.७३ प्रतिशतले बढेको छ ।
कम्पनीगत रूपमा हेर्दा मंगलबार कुनै पनि कम्पनीको मूल्य दोहोरो अंकले बढ्न सकेन । हिमालयन बैंक डिबेन्चर ८६ को मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढ्दा साइन रेसुङ्गा विकास बैंक डिबेन्चर ३.४० प्रतिशत र सानिमा डिबेन्चर २०८९ को मूल्य ३.१७ प्रतिशतले बढेको छ ।
यता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घटेको छ । त्यस्तै रिजलाइन इनर्जी १०.२७, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ९.९४, सिटी होटल ९.२५ र भुजुङ हाइड्रोपावर ८.५६ प्रतिशतले घटेका छन् ।
मंगलबार सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र कुमारी बैंक रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा ३३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
-
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन
-
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्दै
-
सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुग्यो, चाँदी पनि महँगियो
-
नेपालमा विद्युत् उत्पादन बढ्दा भारतबाट आयात शून्य, २२ हजार मेगावाट घण्टाभन्दा बढी निर्यात
-
आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना