विद्युत् प्राधिकरणका १५ कर्मचारी र १८ कार्यालय उत्कृष्ट घोषित, कसले के गरे?
४१औँ वार्षिकोत्सवमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान, प्रविधि, चुहावट नियन्त्रणदेखि प्रसारण पूर्वाधार निर्माणसम्म योगदान
जलसरोकार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४१औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने १५ जना कर्मचारीलाई प्रोत्साहन पुरस्कार तथा उत्कृष्ट कार्यसम्पादन गर्ने १८ वटा कार्यालयलाई कदरपत्र प्रदान गरेको छ।
अनुशासन, इमानदारी, दक्षता, क्षमता, योगदान र प्राप्त परिणामका आधारमा कर्मचारी छनोट गरिएको प्राधिकरणले जनाएको छ। उत्कृष्ट कर्मचारीलाई जनही रु. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको छ। पुरस्कार रकम सम्बन्धित कर्मचारीको बैंक खातामा उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।
कार्यालयतर्फ भने तोकिएको लक्ष्य प्राप्ति, विद्युत् महसूल सङ्कलन, विद्युत् चुहावट तथा चोरी नियन्त्रण, कार्यालय व्यवस्थापन, ग्राहक तथा अन्य निकायसँगको समन्वय, स्वचालन र पूर्वाधार निर्माणलगायतका कार्यप्रगतिका आधारमा १८ कार्यालय छनोट गरिएको हो।
स्वचालित मिटर प्रणालीबाट रु. ३० करोड बचत
विद्युत् प्रणाली सञ्चालन विभागका सहायक प्रबन्धक रामसमर शरण तिमल्सिना उत्कृष्ट कर्मचारी घोषित भएका छन्। उनले स्काडा प्रणालीबाट वास्तविक समयको तथ्याङ्क निकाल्ने कार्यका लागि प्राधिकरण तथा निजी ऊर्जा उत्पादकका उत्पादन केन्द्रमा जडित स्वचालित मिटर डाउनलोड प्रणाली विकास गरेका थिए। उक्त प्रणालीबाट रु. ३० करोड बचत भएको प्राधिकरणले जनाएको छ।
त्यस्तै विद्युत् व्यापार विभागका इन्जिनियर सञ्जय भट्टराईले विद्युत् खरिद-बिक्रीका आवेदनलगायत प्रक्रियाका लागि कागजात व्यवस्थापन प्रणाली लागू गर्न तथा सञ्चालनमा आएका आयोजनाका लागि सफ्टवेयरमा आधारित बिलिङ प्रणाली लागू गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।
कार्यकारी निर्देशकको सचिवालयका इन्जिनियर विजय बाबु खत्रीले विभिन्न निर्णय तथा निर्देशनको प्रगति विवरण सङ्कलन र नियमित अनुगमन गर्दै दैनिक कार्यसम्पादनलाई गतिशील तथा परिणाममुखी बनाउन योगदान पुर्याएका छन्।
वातावरणीय नीति र आयोजना तयारीमा योगदान
वातावरण तथा सामाजिक अध्ययन विभागका सहनिर्देशक भोजराज भट्टराईले प्राधिकरणको ईएसएमएस/ईएनएस नीति तयार गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। उनले इन्जिनियरिङ सेवाको कार्यविधि मस्यौदा तयार गर्ने काममा समेत योगदान दिएका छन् भने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गत पहुँच मार्गहरूको पुनर्स्थापना योजना तयार गरेका छन्।
संस्थागत वित्तीय विभागका लेखा अधिकृत चेतनाथ खतिवडाले आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणका विभिन्न कार्यालयबाट सिफारिस भई आएका करिब ६०० वटा टिप्पणी फाइल व्यवस्थापन गर्नुका साथै राय तथा सिफारिसका मस्यौदा तोकिएको समयभन्दा अगावै तयार गरेका थिए।
केन्द्रीय कर्मचारी अभिलेख शाखाका सहायक कम्प्युटर अधिकृत दिपेन्द्र राज भण्डारीले अवकाशप्राप्त कर्मचारीको तलब, औषधोपचार, बिदालगायत विवरण यकिन गरी वास्तविक रकम हिसाब तथा पेन्सनपट्टा तयार गर्ने काम शीघ्र सम्पन्न गरेका थिए।
पुराना संरचना सुधारदेखि प्रसारण प्रणालीको सुरक्षासम्म
दुहबी ग्रिड महाशाखाका सुपरभाइजर आशाराम चौधरीले दुवै सबस्टेसनको पुरानो जीर्ण तार हटाएर डीसी प्रणाली, डीसीडीबी प्यानल तथा नयाँ केबल तार जडान गर्ने काम गरेका छन्।
त्रिशूली जलविद्युत् केन्द्रका सुपरभाइजर झकबहादुर भट्टराईले विद्युत् केन्द्रको सुदृढीकरण, प्रणालीको अतिभार हटाउने, चट्याङरोधी अर्थिङ प्रणाली जडान, वैकल्पिक एक्साइटेसन सञ्चालन तथा गेट र क्रेनलाई दूरनियन्त्रण प्रविधिमा स्तरोन्नति गर्ने काममा योगदान दिएका छन्।
वीरगञ्ज वितरण केन्द्रका सुपरभाइजर मिलन राईले जीआईएस नक्साङ्कन तथा तथ्याङ्क अद्यावधिक, विद्युत् अवरोध र मर्मतसम्बन्धी समस्या फिल्डमै समाधान तथा चुहावट नियन्त्रणमा योगदान दिएका छन्। ग्राहकको गुनासो तत्काल सम्बोधन गर्ने कार्यशैलीका कारण पनि उनी सम्मानित भएका हुन्।
सुर्खेत वितरण केन्द्रका सुपरभाइजर बासुकी कुमार यादवले मर्मतसम्भार, ट्रान्सफर्मर स्तरोन्नति, फेज सन्तुलन तथा लाइन पुनःसञ्चालनका काम प्रभावकारी रूपमा सम्पन्न गरेका छन्।
लुम्बिनी प्रादेशिक कार्यालयकी सुपरभाइजर चम्पा कार्कीले मिटर परीक्षण प्रयोगशालाको नेतृत्व गर्दै मिटर तथा रिले परीक्षण समयमै सम्पन्न गर्नुका साथै चुहावट नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेकी छन्।
बुटवल ग्रिड महाशाखाअन्तर्गत मैनिहवा सबस्टेसनका सुपरभाइजर मनिष न्यौपानेले ड्रोन प्रयोग गरी प्रसारण लाइन निरीक्षण तथा त्रुटि पहिचानमा योगदान दिएका छन्। उनले १३२ केभी प्रसारण लाइनको ड्रोनबाट निरीक्षण गरी प्रणालीलाई चुस्त राख्ने काम गरेका छन्।
फिल्डमा खटिने कर्मचारी पनि सम्मानित
कालीगण्डकी जलविद्युत् केन्द्रका फोरम्यान जितबहादुर मुक्तान लामो समयदेखि विद्युत् गृहको मर्मतसम्भारमा खटिँदै आएका छन्। जुनसुकै क्षेत्र वा कार्यालयमा खटाउँदा पनि अनुशासन, कर्तव्यनिष्ठा र इमानदारीपूर्वक जिम्मेवारी पूरा गरेको आधारमा उनलाई सम्मान गरिएको हो।
सिन्धुली वितरण केन्द्रकी फोरम्यान संगीता थापा मगरले फूर्कोट फ्युज सेवाको जिम्मेवारी सम्हाल्दै विद्युतीय सुरक्षालाई प्राथमिकता दिएर मर्मतसम्भारमा योगदान गरेकी छन्। उनले आय सङ्कलन, कालोसूची तथा ग्राहक गुनासो व्यवस्थापनमा समेत काम गरेकी छन्।
नेपालगञ्ज वितरण केन्द्रका इलेक्ट्रिसियन छविबहादुर मगरले जुनसुकै समयमा लाइनमा देखिएको समस्या समाधान गर्दै विद्युत् सेवाको विश्वसनीयता सुधारमा योगदान दिएका छन्। चुहावट नियन्त्रण तथा विद्युतीय सुरक्षामा समेत उनले उल्लेखनीय काम गरेका छन्।
यसरी प्राधिकरणले व्यवस्थापन, वित्त, सूचना प्रविधि र वातावरणीय अध्ययनदेखि उत्पादन, प्रसारण तथा वितरणको प्रत्यक्ष फिल्डमा काम गर्ने कर्मचारीलाई उत्कृष्टताको आधारमा छनोट गरेको छ।
१८ कार्यालय पनि उत्कृष्ट
प्राधिकरणले कर्मचारीसँगै विभिन्न क्षेत्रका १८ कार्यालय तथा आयोजनालाई पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा कदरपत्र प्रदान गरेको छ।
सूचना प्रविधि विभाग : एआई प्रणालीदेखि डिजिटल सेवा
सूचना प्रविधि विभागले प्राधिकरणको सूचना प्रविधि पूर्वाधार तथा डिजिटल प्रणालीको विकास, सञ्चालन र व्यवस्थापन गर्दै सेवा प्रवाहलाई चुस्त बनाएको छ। विभागले नवीन प्रविधिमा आधारित एआई साथी (एआई च्याटबोट) समेत सञ्चालनमा ल्याएको छ।
बुटवल ग्रिड : विद्युत् आपूर्ति नरोकी प्रसारण संरचना सुधार
बुटवल ग्रिड महाशाखाले बुटवल-मोतीपुर १३२ केभी प्रसारण लाइनको कालिका नगरमा रहेका चारवटा लेटिस टावरलाई मोनोपोलले प्रतिस्थापन गर्ने काम विद्युत् आपूर्ति अवरुद्ध नगरी सम्पन्न गरेको छ। न्यु बुटवल-कुस्मा २२० केभी प्रसारण लाइनमा न्यून ग्राउन्ड क्लियरेन्सका कारण हुने प्रणाली ट्रिपिङसमेत पहिचान गरी जमिन कटानमार्फत न्यूनीकरण गरेको छ।
प्रसारण निर्देशनालय : रु. ६५ अर्ब २४ करोड पुँजीकरण
प्रसारण निर्देशनालयअन्तर्गतको अर्थ महाशाखाले लामो समयदेखि सम्पन्न हुन नसकेको बोलपत्रसम्बन्धी कामबाट आर्थिक वर्ष २०८२/८३ सम्म रु. ६५ अर्ब २४ करोड पुँजीकरण गरेको छ। निर्देशनालय र काठमाडौं ग्रिड महाशाखाबीच लामो समयदेखि मिलान हुन नसकेको रु. ४ अर्ब २७ करोड अन्तरइकाई हिसाबमध्ये सोही आर्थिक वर्षमा रु. ४ अर्ब १५ करोड मिलान गरिएको छ।
केन्द्रीय लेखा महाशाखा : बेरुजु सुधारदेखि रु. ७५ अर्ब पुँजीकरण
केन्द्रीय लेखा महाशाखाले महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा लेखापरीक्षणका कैफियत सुधारका लागि पहिलोपटक अडिट इस्यु इम्प्रुभमेन्ट एक्सन प्लान तयार गरी कार्यान्वयनमा सहजीकरण गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा करिब रु. ७५ अर्ब बराबरको सम्पत्ति पुँजीकरण कार्यमा समेत योगदान गरेको छ।
गण्डकी : ९९.१५ प्रतिशत महसूल सङ्कलन
गण्डकी प्रादेशिक कार्यालय, पोखराले विद्युत् चुहावट लक्ष्यभन्दा कम राख्दै ९९.१५ प्रतिशत महसूल सङ्कलन गरेको छ। औसत सङ्कलन अवधि २६ दिनमा कायम गर्नुका साथै ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट रु. १३ करोड प्राप्त गर्न सफल भएको छ।
लुम्बिनी : चुहावट ८.६१ बाट ८.०३ प्रतिशतमा
लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलले विद्युत् चुहावट ८.६१ प्रतिशतबाट घटाएर ८.०३ प्रतिशतमा झारेको छ। अनलाइन महसूल सङ्कलनलाई प्राथमिकता दिनुका साथै ३३ केभी तथा ११ केभी लाइनको जीआईएस नक्साङ्कन पूरा गरी वितरण प्रणालीको डिजिटल अभिलेख तयार गरेको छ।
सुदूरपश्चिम : करिब २ प्रतिशत चुहावट घट्यो
सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियाले धनगढी र बेलौरीमा पावर ट्रान्सफर्मर व्यवस्थापन गरी भार तथा भोल्टेज सुधारमा योगदान गरेको छ। प्रभावकारी भार तथा फिडर व्यवस्थापनबाट करिब २ प्रतिशत चुहावट घटाएको तथा विभिन्न ३३ केभी लाइन निर्माणलाई तीव्रता दिएको छ।
अमुवा : स्मार्ट मिटर र जीपीएस नक्साङ्कन
अमुवा वितरण केन्द्रले वितरण ट्रान्सफर्मरमा स्मार्ट मिटर जडान गरी नियमित अनुगमन तथा विश्लेषणको व्यवस्था गरेको छ। सबै पोलको जीपीएस नक्साङ्कन गरी विद्युत् विवरण अद्यावधिक गर्नुका साथै चुहावट, आय सङ्कलन र औसत सङ्कलन अवधिको निर्धारित लक्ष्य हासिल गरेको छ।
बेलबारी : पुराना सामग्रीबाट सबस्टेसन सञ्चालन
बेलबारी वितरण केन्द्रले विभिन्न वितरण केन्द्रसँग समन्वय गरी उपलब्ध पुराना सामग्रीको सदुपयोग गर्दै ८ एमभीए ३३/११ केभी रुङ्ग पुनर्वास सबस्टेसन छोटो समयमै सञ्चालनमा ल्याएको छ। केन्द्रले निर्धारित लक्ष्यभन्दा बढी महसूल सङ्कलन गर्दै १०३.४४ प्रतिशत हासिल गरेको छ।
भद्रपुर : चुहावट २.६१ प्रतिशत बिन्दुले घट्यो
भद्रपुर वितरण केन्द्रले फिडर अवस्था तथा ग्राहक पहिचानका लागि आफ्नै पहलमा एन्ड्रोइड मोबाइल एप सञ्चालनमा ल्याएको छ। प्रभावकारी भार व्यवस्थापनमार्फत ३३ तथा ११ केभी फिडरको अतिभार समस्या समाधान गर्नुका साथै विद्युत् चुहावट २.६१ प्रतिशत बिन्दुले घटाएको छ।
मेलम्ची : १३.८ प्रतिशतमा झर्यो चुहावट
मेलम्ची वितरण केन्द्रले विद्युत् चुहावटको लक्ष्य १८.१० प्रतिशतबाट घटाएर १३.८ प्रतिशत कायम गरेको छ। महसूल सङ्कलनसमेत १०१.०३ प्रतिशत पुर्याएको छ।
बेलबारी : ३३ केभी सबस्टेसन सञ्चालनमा सहयोग
बेलबारी वितरण केन्द्रअन्तर्गत पङ्कज कुमार गोइतको योगदानमा स्थानीय रूपमा आवश्यक रहेको लेटार ३३/११ केभी सबस्टेसन सञ्चालनका लागि विराटचोक सबस्टेसनबाट ३३ केभी वैकल्पिक विद्युत् आपूर्ति व्यवस्था गरिएको थियो। विद्युत् चुहावट १६.५५ प्रतिशतबाट १४.५२ प्रतिशतमा घटाउनुका साथै फिडर ट्रिपिङसमेत न्यूनीकरण गरिएको छ।
उत्पादन र प्रसारण आयोजनामा पनि उल्लेखनीय उपलब्धि
मर्स्याङ्दी जलविद्युत् केन्द्रले बाँधस्थलको अपस्ट्रीम राइट बैंक संरक्षणका लागि प्लान्ट बन्द गरेर निर्धारित समयमै टर्बाइन ओभरहलिङसहित मर्मत कार्य सम्पन्न गरेको छ। नदीमुनि लामो समयदेखि गाडिएको अन्डरस्लुइस स्टप लग हटाई जलाशयको डेब्रिज निकास सहज बनाइएको छ।
सेती-फेवा जलविद्युत् केन्द्रले सेती जलविद्युत् गृह परिसरमा आन्तरिक यान्त्रिक कार्यशाला निर्माण गरी टर्बाइन, जेनेरेटरलगायत उपकरणको मर्मतसम्भारमा आन्तरिक क्षमता विकास गरेको छ। सेती जलविद्युत् गृहबाट ४० वर्षयताकै सर्वाधिक विद्युत् उत्पादनसमेत गरेको छ।
बुर्तिबाङ-पौदीअमराई-तम्घास-सन्धिखर्क-गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाले तम्घासदेखि बुर्तिबाङसम्म करिब ३३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन तथा तम्घास-पौदीअमराई-बुर्तिबाङ १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न गरेको छ।
प्रसौनी-वीरगञ्ज १३२ केभी भूमिगत प्रसारण लाइन आयोजनाले प्रसौनी सबस्टेसनलाई नो-लोडमा चार्ज गर्नुका साथै प्रसौनी-वीरगञ्ज १३२ केभी भूमिगत प्रसारण लाइन र वीरगञ्ज १३२/६६ केभी सबस्टेसन निर्माण सम्पन्न गरी चार्ज गरेको छ।
कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाले कोहलपुरदेखि सुर्खेत सबस्टेसनसम्म करिब ५२ किलोमिटर १३२ केभी प्रसारण लाइन निर्माण गरी लाइन तथा सबस्टेसन चार्ज गरेको छ। यसबाट कर्णाली प्रदेशमा १३२ केभी प्रसारण लाइनको पहुँच विस्तार भएको छ।
कुलेखानीमा ‘मानवरहित’ जलविद्युत् गृह सञ्चालनको अभ्यास
यस वर्ष सम्मानित कार्यालयमध्ये जलविद्युत् केन्द्र सञ्चालन आयोजनाले भने विशेष प्राविधिक उपलब्धि हासिल गरेको छ।
आयोजनाले स्वीकृत बन्द अवधिभित्रै कुलेखानी प्रथम र कुलेखानी दोस्रो जलविद्युत् गृहमा स्वचालन, सुरक्षा तथा नियन्त्रण प्रणालीसम्बन्धी सम्पूर्ण काम सम्पन्न गरेको छ। कुलेखानी प्रथमको सञ्चालन अवस्था तथा वास्तविक समयको तथ्याङ्कका आधारमा कुलेखानी दोस्रो सञ्चालन गर्न सकिने संयुक्त सञ्चालन संयन्त्र विकास गरी सफल परीक्षण तथा कार्यान्वयन गरिएको छ।
प्राधिकरणका अनुसार यसले नेपालमै पहिलोपटक मानवीय उपस्थिति आवश्यक नपर्ने स्वचालित जलविद्युत् उत्पादन केन्द्रको अवधारणालाई व्यवहारमा उतार्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
उत्कृष्टतामा व्यवस्थापनदेखि मैदानसम्म
प्राधिकरणको ४१औँ वार्षिकोत्सवमा सम्मानित कर्मचारी र कार्यालयको विवरण हेर्दा यस वर्षको उत्कृष्टता केवल विद्युत् उत्पादनमा सीमित देखिँदैन। सूचना प्रविधि र स्वचालन, वित्तीय व्यवस्थापन, चुहावट नियन्त्रण, महसूल सङ्कलन, वितरण प्रणालीको डिजिटल अभिलेख, प्रसारण पूर्वाधार, जलविद्युत् गृहको आधुनिकीकरण र ग्राहक सेवासम्म फैलिएको छ।
विशेषगरी रु. ३० करोड बचत गराउने स्वचालित मिटर प्रणाली, ४० वर्षयताकै उच्च विद्युत् उत्पादन, अर्बौँ रुपैयाँको सम्पत्ति पुँजीकरण, प्रसारण लाइन निर्माण तथा कुलेखानीलाई स्वचालित सञ्चालनतर्फ लैजाने प्रयासले प्राधिकरणभित्र भइरहेको प्राविधिक तथा व्यवस्थापकीय रूपान्तरणलाई समेत देखाउँछ।
प्राधिकरणले उत्कृष्ट कर्मचारी तथा कार्यालयलाई सम्मान गर्दै आगामी दिनमा संस्थाको उद्देश्य प्राप्तिका लागि अझ प्रभावकारी कार्यसम्पादनको अपेक्षा गरेको छ।
१. प्रोत्साहन पुरस्कार पाउने १५ कर्मचारी
| क्र.सं. | कर्मचारी | पद | कार्यालय/विभाग |
|---|---|---|---|
| १ | भोजराज भट्टराई | सहनिर्देशक | वातावरण तथा सामाजिक अध्ययन विभाग |
| २ | रामसमर शरण तिमल्सिना | सहायक प्रबन्धक | विद्युत् प्रणाली सञ्चालन विभाग |
| ३ | विजय बाबु खत्री | इन्जिनियर | कार्यकारी निर्देशकको सचिवालय |
| ४ | सञ्जय भट्टराई | इन्जिनियर | विद्युत् व्यापार विभाग |
| ५ | चेतनाथ खतिवडा | लेखाअधिकृत | संस्थागत वित्तीय विभाग |
| ६ | दिपेन्द्र राज भण्डारी | सहायक कम्प्युटर अधिकृत | केन्द्रीय कर्मचारी अभिलेख शाखा |
| ७ | आशाराम चौधरी | सुपरभाइजर | दुहबी ग्रिड महाशाखा |
| ८ | झकबहादुर भट्टराई | सुपरभाइजर | त्रिशूली जलविद्युत् केन्द्र |
| ९ | मिलन राई | सुपरभाइजर | वीरगञ्ज वितरण केन्द्र |
| १० | बासुकी कुमार यादव | सुपरभाइजर | सुर्खेत वितरण केन्द्र |
| ११ | चम्पा कार्की | सुपरभाइजर | लुम्बिनी प्रादेशिक कार्यालय |
| १२ | मनिष न्यौपाने | सुपरभाइजर | मैनिहवा सबस्टेसन, बुटवल ग्रिड महाशाखा |
| १३ | जितबहादुर मुक्तान् | फोरम्यान | कालीगण्डकी जलविद्युत् केन्द्र |
| १४ | संगीता थापा मगर | फोरम्यान | सिन्धुली वितरण केन्द्र |
| १५ | छविबहादुर मगर | इलेक्ट्रिसियन | नेपालगञ्ज वितरण केन्द्र |
२. उत्कृष्ट कार्यसम्पादनका लागि कदरपत्र पाउने १८ कार्यालय/आयोजना
| क्र.सं. | कार्यालय/आयोजना | प्रतिनिधि/प्रमुख |
|---|---|---|
| १ | सूचना प्रविधि विभाग | सुजन कुमार श्रेष्ठ |
| २ | बुटवल ग्रिड महाशाखा | अनिल बन्जाडे |
| ३ | अर्थ महाशाखा, प्रसारण निर्देशनालय | वसन्त कुमार ढुंगाना |
| ४ | केन्द्रीय लेखा महाशाखा | तीर्थराज न्यौपाने |
| ५ | गण्डकी प्रादेशिक कार्यालय, पोखरा | विक्रम कुमार अमात्य |
| ६ | लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल | मनोज कुमार यादव |
| ७ | सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया | हरि प्रसाद पाण्डेय |
| ८ | अमुवा वितरण केन्द्र | गौरव पाण्डे |
| ९ | बेलवारी वितरण केन्द्र | हिमत बीसी |
| १० | भद्रपुर वितरण केन्द्र | धिरेन्द्र बजगाई |
| ११ | मेलम्ची वितरण केन्द्र | तोयनाथ रेग्मी |
| १२ | बेलवारी वितरण केन्द्र | पङ्कज कुमार गोइत |
| १३ | मर्स्याङ्दी जलविद्युत् केन्द्र | कपिलदेव मानन्जन |
| १४ | सेती फेवा जलविद्युत् केन्द्र | असेस बाबु तिमल्सिना |
| १५ | बुर्तिबाङ-पौदी अमराई-तम्घास-सन्धीखर्क-गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना | मनोज कुमार चौधरी |
| १६ | प्रसौनी-वीरगञ्ज १३२ केभी भूमिगत प्रसारण लाइन आयोजना | सुमित श्रेष्ठ |
| १७ | कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजना | रवि कुमार चौधरी |
| १८ | जलविद्युत् केन्द्र सञ्चालन आयोजना | उमङ्ग कार्की |
प्रतिक्रिया
भर्खरै
-
७० अर्ब लगानीमा बन्दैछ ४२० मेगावाटको तिला–२, कर्णालीको ऊर्जा नक्सामा अर्को ठूलो आयोजना
-
विद्युत् प्राधिकरणका १५ कर्मचारी र १८ कार्यालय उत्कृष्ट घोषित, कसले के गरे?
-
पीपीए रोक्ने होइन, विद्युत् क्षेत्रमा निजी क्षेत्रको गति अझ बढाउनुपर्छ : महासंघ अध्यक्ष श्रेष्ठ
-
लोडसेडिङपछि अब प्राधिकरणको परीक्षा गुणस्तरीय सेवामा : ऊर्जा सचिव दवाडी
-
विद्युत् बजारको जोखिम प्राधिकरणले मात्रै लिन हुँदैन : डा. धिताल
-
प्राधिकरणले निजी उत्पादकबाट १०,८२५ गिगावाट घण्टा बिजुली किन्यो, ६७ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी