सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पीपीए रोक्ने होइन, विद्युत् क्षेत्रमा निजी क्षेत्रको गति अझ बढाउनुपर्छ : महासंघ अध्यक्ष श्रेष्ठ

अध्यक्ष श्रेष्ठ भन्छन्– विद्युत् व्यापार र प्रसारणमा निजी क्षेत्रलाई तत्काल अनुमति दिऔँ, अहिलेको अवसर गुमायौँ भने भोलि पछुताउनुपर्छ

जलसरोकार
सोमबार, भदौ ०१, २०८३ | १७:१२:२३ बजे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले विद्युत्‌ क्षेत्रको विकासलाई तीव्र बनाउन निजी क्षेत्र र नेपाल विद्युत्‌ प्राधिकरणबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले विद्युत्‌ उत्पादनमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको अवस्थामा पीपीए रोक्ने, प्रसारण पूर्वाधारको अभावमा उत्पादित विद्युत्‌ थन्क्याउने र विद्युत्‌ व्यापारमा निजी क्षेत्रलाई प्रवेश नदिने अवस्था अन्त्य गर्नुपर्ने बताए।

नेपाल विद्युत्‌ प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालले ऊर्जा विकासमा ढिला गरिसकेको भन्दै अब उपलब्ध अवसर गुमाउन नहुने बताए।

उनका अनुसार नेपालमा ठूलो जलविद्युत्‌ सम्भावना हुँदाहुँदै हालसम्म करिब ४ हजार १२० मेगावाट जडित क्षमता पुगेको छ। सुरुवात ढिलो भए पनि अब ऊर्जा विकासको गति तीव्र बनाउनुपर्ने उनको भनाइ छ।

श्रेष्ठले नेपालले अहिले ऊर्जा विकासका लागि महत्वपूर्ण अवसर पाएको तर यो अवसर सधैँ कायम नरहन सक्ने बताए। उनले जनसांख्यिक लाभ र ऊर्जा क्षेत्रमा भइरहेको प्रविधिको विकासलाई सँगसँगै उपयोग गर्नुपर्ने बताए। युवा जनशक्तिको अहिलेको लाभ आगामी दशकमा उस्तै नरहने भएकाले त्यसलाई आर्थिक विकासमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

ऊर्जा क्षेत्रमा पनि नयाँ–नयाँ प्रविधि विकास भइरहेकाले नेपालले समयमै निर्णय गरेर अघि बढ्नुपर्ने श्रेष्ठले बताए। भारतका ऊर्जा उत्पादक तथा भारतका ऊर्जा सचिवसँग भएका भेटमा समेत ऊर्जा विकासको विषयमा आएका संकेतले नेपालले अब समय गुमाउन नहुने देखाएको उनले बताए।

‘हामीले नै गर्नुपर्छ, अरू आएर गरिदिन्छन् भनेर सपना देखेर बस्ने दिन छोड्नुपर्छ,’ श्रेष्ठले भने, ‘समस्याहरूलाई चिरेर समाधान गर्ने हामी नेपालीले नै हो।’

‘पीपीएको समस्या चाँडो समाधान गरौँ’

श्रेष्ठले निजी क्षेत्रले ऊर्जा उत्पादनका लागि लगानी गरिसकेको अवस्थामा लामो समयसम्म पीपीए रोकिराख्नु उचित नहुने बताए। निजी क्षेत्रले ठूला आयोजना निर्माण गर्न अघि बढिरहेको उल्लेख गर्दै उनले अहिले २०० देखि ४०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने तयारीमा उत्पादकहरू रहेको बताए। ‘यो ऊर्जा बढेको समयमा ऊर्जालाई घटाउने काम गर्नु हुँदैन,’ उनले भने, ‘पीपीएको समस्यालाई चाँडोभन्दा चाँडो समाधान गरेर ऊर्जा लिएर बसिरहेका उद्यमी, व्यवसायी र लगानीकर्तालाई थप लगानी गर्ने वातावरण बनाउनुपर्छ।’

श्रेष्ठले विद्युत्‌ व्यापारको अनुमति र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने विषय तत्काल अघि बढाउनुपर्ने बताए।

कतिपय आयोजना निर्माण सम्पन्न भएर पनि प्रसारण तथा विद्युत्‌ निकासीको व्यवस्था नहुँदा रोकिएको अवस्था रहेको भन्दै उनले प्रसारण पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने बताए।

त्यस्तै विद्युत्‌ व्यापारको अनुमति निजी क्षेत्रलाई दिएमा यसले ऊर्जा क्षेत्रमा नयाँ परिवर्तन ल्याउन सक्ने उनको भनाइ छ।

‘विलिङ शुल्कले उद्योगलाई पनि विद्युत्‌मा लगानी गर्न उत्प्रेरित गर्छ’

श्रेष्ठले प्रसारण शुल्क तथा विद्युत्‌ व्यापारको व्यवस्थाले औद्योगिक क्षेत्रलाई समेत ऊर्जा क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सक्ने बताए। आफ्नो व्यावसायिक समूहले ठूलो परिमाणमा विद्युत्‌ खपत गरिरहेको उदाहरण दिँदै उनले विद्युत्‌को लागत र प्रसारणसम्बन्धी व्यवस्थाले उद्योगीलाई विद्युत्‌मा लगानी गर्नसमेत उत्प्रेरित गर्न सक्ने बताए। ‘म पनि उत्पादक नभए पनि करिब ५० मेगावाट जति विद्युत्‌ खपत गर्छु,’ उनले भने, ‘भोलि यसले मलाई पनि विद्युत्‌मा लगानी गर्न उत्प्रेरित गर्न सक्छ।’

त्यसैले प्रसारण शुल्क, प्रसारण लाइन र विद्युत्‌ व्यापारको अनुमति दिने विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए।

प्राधिकरणको विज्ञता निजी क्षेत्रसँग जोड्न आग्रह

श्रेष्ठले नेपाल विद्युत्‌ प्राधिकरणसँग रहेको प्राविधिक ज्ञान र विज्ञतालाई निजी क्षेत्रको क्षमता र लगानीसँग जोड्नुपर्ने बताए। प्राधिकरण विद्युत्‌ क्षेत्रको ठूलो विज्ञताको भण्डार रहेको भन्दै उनले त्यसलाई निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्ने दिशामा प्रयोग गर्न आग्रह गरे। ‘प्राधिकरणका प्राविधिक विज्ञता र निजी क्षेत्रको क्षमता दुवैलाई जोडेर अघि बढ्नुपर्छ,’ उनले भने।

उनले ऊर्जा क्षेत्रलाई नेपालको ऊर्जा सुरक्षा र ऊर्जा सार्वभौमिकताको आधारका रूपमा विकास गर्नुपर्ने बताए। ऊर्जा क्षेत्रले नेपालको आर्थिक कायापलट गर्न सक्ने भन्दै श्रेष्ठले सरकार, प्राधिकरण र निजी क्षेत्र मिलेर यसलाई अघि बढाउनुपर्नेमा जोड दिए। ‘यो नेपालको उन्नति र प्रगतिको एउटा प्रमुख क्षेत्र हो, जसले नेपालको कायापलट गर्न सक्छ,’ उनले भने, ‘त्यसैले यो क्षेत्रलाई अगाडि बढाउन सबै मिलेर काम गर्नुपर्छ।’

प्रकाशित मिति : सोमबार, भदौ ०१, २०८३ | १७:१२:२३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया