सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विद्युत् बिक्री १८ प्रतिशत बढ्दा पनि प्राधिकरणको नाफा ५९ प्रतिशत घट्यो

जलसरोकार
सोमबार, भदौ ०१, २०८३ | १५:३९:०७ बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको विद्युत् बिक्री आम्दानी उल्लेख्य रूपमा बढे पनि आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको करअघिको नाफा भने ५८.६० प्रतिशतले घटेको छ। 

प्राधिकरणले आज आयोजना गरेको ४१ औं वार्षिकोत्सव कार्यक्रममा कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार विद्युत् बिक्रीबाट प्राप्त कुल आम्दानी १८.२० प्रतिशतले बढेर रु. १४८ अर्ब ६२ करोड ५० लाख पुगेको छ। तर करअघिको नाफा अघिल्लो वर्षको रु. १२ अर्ब १७ करोडबाट घटेर रु. ५ अर्ब ४ करोडमा सीमित भएको छ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विद्युत् बिक्रीबाट रु. १२५ अर्ब ७४ करोड १० लाख आम्दानी भएको थियो। एक वर्षमा बिक्री आम्दानी रु. २२ अर्ब ८८ करोड ५० लाखले बढे पनि करअघिको नाफा भने रु. ७ अर्ब १३ करोडले घटेको हो।

प्रतिवेदनले नाफामा आएको गिरावटको प्रमुख कारण बढ्दो विदेशी विनिमय घाटा, वित्तीय खर्च तथा सञ्चालन लागतलाई देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको विदेशी विनिमय घाटा रु. ११ अर्ब ५१ करोड ७० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा रु. ३ अर्ब ८ करोड ९० लाख थियो। एक वर्षमै विदेशी विनिमय घाटा २७२.८६ प्रतिशतले बढेको हो।

त्यस्तै, प्राधिकरणको वित्तीय खर्च पनि २० प्रतिशतले बढेर रु. ७ अर्ब ५९ करोड ७० लाख पुगेको छ। अघिल्लो वर्ष वित्तीय खर्च रु. ६ अर्ब ३३ करोड १० लाख थियो।

सञ्चालन नाफा भने बढ्यो

अन्तिम नाफा घटे पनि प्राधिकरणको मूल विद्युत् कारोबारबाट हुने सञ्चालन नाफा भने बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन नाफा रु. २४ अर्ब ८१ करोड २० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो नाफा रु. २३ अर्ब १२ करोड ८० लाख थियो। अर्थात् सञ्चालन नाफा रु. १ अर्ब ६८ करोड ४० लाखले बढेको छ।

कुल बिक्री आम्दानी बढेसँगै कुल बिक्री लागत पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा विद्युत् खरिद, उत्पादन, प्रसारण, वितरणलगायतका खर्चसहित कुल बिक्री लागत रु. ११७ अर्ब ३८ करोड ७० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो लागत रु. ९८ अर्ब १३ करोड ८० लाख थियो।

विद्युत् खरिदमा मात्रै प्राधिकरणले रु. ९६ अर्ब १० करोड ४ लाख खर्च गरेको छ। यसमध्ये निजी क्षेत्रका उत्पादकबाट विद्युत् खरिदमा रु. ६७ अर्ब ६८ करोड ३० लाख, प्राधिकरणका सहायक कम्पनीबाट रु. १७ अर्ब ८६ करोड १० लाख र भारतबाट विद्युत् खरिदमा रु. १० अर्ब ५६ करोड खर्च भएको छ।

निर्यातबाट रु. २९ अर्ब ३१ करोड आम्दानी

आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट भारततर्फ विद्युत् निर्यात उल्लेख्य रूपमा बढेको छ। प्राधिकरणले निर्यातबाट रु. २९ अर्ब ३१ करोड ४० लाख आम्दानी गरेको छ। अघिल्लो वर्ष निर्यातबाट रु. १७ अर्ब ४५ करोड ९० लाख आम्दानी भएको थियो। निर्यात आम्दानी ६७.९ प्रतिशतले बढेको हो।

कुल विद्युत् बिक्रीमध्ये आन्तरिक बिक्रीबाट रु. ११९ अर्ब ३१ करोड १० लाख र निर्यातबाट रु. २९ अर्ब ३१ करोड ४० लाख आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ।

ऊर्जाको परिमाणतर्फ पनि निर्यात ६६.६ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३,९६५ गिगावाट घण्टा विद्युत् निर्यात गरेको छ। अघिल्लो वर्ष निर्यात २,३८० गिगावाट घण्टा थियो।

यस अवधिमा भारतबाट हुने विद्युत् आयात भने ३०.३७ प्रतिशतले घटेर १,१७१ गिगावाट घण्टामा सीमित भएको छ।

विद्युत् उपलब्धता र खपत बढ्यो

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल उपलब्ध विद्युत् ऊर्जा १८,६२४ गिगावाट घण्टा पुगेको छ। अघिल्लो वर्ष १५,६४१ गिगावाट घण्टा रहेको कुल उपलब्ध ऊर्जा १९.०७ प्रतिशतले बढेको हो।

कुल उपलब्ध ऊर्जामध्ये प्राधिकरणको आफ्नै उत्पादन २,८०३ गिगावाट घण्टा रहेको छ भने सहायक कम्पनीबाट ३,८२६ गिगावाट घण्टा र निजी क्षेत्रका उत्पादकबाट १०,८२५ गिगावाट घण्टा विद्युत् खरिद गरिएको छ।

आन्तरिक बिक्री तथा उपयोग १२,३९४ गिगावाट घण्टा पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ९.२६ प्रतिशत बढी हो।

यस अवधिमा प्राधिकरणको औसत विद्युत् खरिद दर प्रतियुनिट रु. ६.०७ रहेको छ। अघिल्लो वर्ष यस्तो दर रु. ६.११ थियो।

प्राधिकरणको प्रणालीगत विद्युत् चुहावट पनि घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको प्रणालीगत चुहावट आर्थिक वर्ष २०८२/८३ मा १२.१६ प्रतिशतमा झरेको छ।

प्रतिवेदनमा उल्लिखित आर्थिक वर्ष २०८२/८३ का तथ्यांकहरू लेखापरीक्षण हुन बाँकी प्रारम्भिक तथ्यांक हुन्।

प्रकाशित मिति : सोमबार, भदौ ०१, २०८३ | १५:३९:०७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया