सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

लोडसेडिङपछि अब प्राधिकरणको परीक्षा गुणस्तरीय सेवामा : ऊर्जा सचिव दवाडी

उत्पादन बढेसँगै प्रसारण र वितरण पूर्वाधार विस्तार गर्नुपर्ने, आन्तरिक खपत र अन्तरदेशीय विद्युत् व्यापारलाई प्राथमिकता दिनुपर्ने

जलसरोकार
सोमबार, भदौ ०१, २०८३ | १६:५९:४० बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव एवं नेपाल विद्युत्‌ प्राधिकरण सञ्चालक समिति सदस्य सरिता दवाडीले विद्युत्‌ उत्पादन र वितरण क्षमता विस्तारलाई मात्र प्राधिकरणको उपलब्धिको आधार मान्न नहुने बताएकी छन्। अब प्राधिकरणको मुख्य ध्यान गुणस्तरीय, भरपर्दो र सुरक्षित विद्युत्‌ सेवा, समयबद्ध पूर्वाधार विकास, आन्तरिक खपत वृद्धि र अन्तरदेशीय विद्युत्‌ व्यापार विस्तारमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

नेपाल विद्युत्‌ प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै दवाडीले चार दशकअघिको विद्युत्‌ अभाव र लामो लोडसेडिङबाट अहिले उत्पादन विस्तार, प्रणाली सुदृढीकरण तथा अन्तरदेशीय विद्युत्‌ व्यापारको चरणमा प्रवेश गर्नु ठूलो रूपान्तरण भएको बताइन्।

उनले यो परिवर्तन आफैँ नभएको भन्दै त्यसका पछाडि प्राधिकरणका हजारौँ कर्मचारी, इन्जिनियर तथा व्यवस्थापकको मेहेनतसँगै सरकारको नीतिगत मार्गदर्शन, निजी क्षेत्रको लगानी र विकास साझेदारको सहयोग रहेको बताइन्।

‘प्राधिकरण प्रत्येक नेपालीको जीवनसँग जोडिएको संस्था हो’

दवाडीले नेपाल विद्युत्‌ प्राधिकरणलाई विद्युत्‌ उत्पादन र वितरण गर्ने संस्था मात्र नभई प्रत्येक नेपालीको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील सार्वजनिक सेवा प्रदायकका रूपमा व्याख्या गरिन्।

दुर्गम क्षेत्रका सामान्य घरपरिवारदेखि साना तथा मझौला व्यवसाय, ठूला उद्योग र सरकारी कार्यालयसम्म विद्युत्‌ आवश्यक पर्ने सबैको पहिलो प्रत्यक्ष सम्पर्क प्राधिकरणसँग हुने उनको भनाइ छ।

त्यसैले प्राधिकरणको सफलता अब कति विद्युत्‌ उत्पादन भयो वा कति वितरण भयो भन्नेबाट मात्र मापन गर्न नहुने उनले बताइन्।

उपभोक्ताले कति भरपर्दो र सुरक्षित सेवा पाए, विद्युत्‌ जडान प्रक्रिया कति सहज भयो, प्राविधिक समस्या तथा गुनासो कति छिटो सम्बोधन भयो र विद्युत्‌ आपूर्तिको गुणस्तर कस्तो छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुने दवाडीले बताइन्।

उत्पादनसँगै प्रसारण र वितरण विस्तार आवश्यक

नेपालको विद्युत्‌ उत्पादन क्षमता निरन्तर बढिरहेको र जलविद्युत्‌सँगै सौर्य ऊर्जासमेत राष्ट्रिय प्रणालीमा थपिँदै गएको उल्लेख गर्दै दवाडीले उत्पादित विद्युत्‌ उपभोक्ता र बजारसम्म पुर्‍याउन प्रसारण लाइन, सबस्टेसन तथा वितरण प्रणाली पनि सोही गतिमा विस्तार गर्नुपर्ने बताइन्।

उत्पादन आयोजना तयार हुने तर प्रसारण लाइनको अभावमा विद्युत्‌ खेर जाने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ। उत्पादन, प्रसारण, वितरण र विद्युत्‌ मागबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने उनले बताइन्।

आन्तरिक खपत बढाउन विद्युत्‌ उपयोगको क्षेत्र विस्तार गर्नुपर्ने

दवाडीले आगामी दिनमा उत्पादित विद्युत्‌को आन्तरिक खपत बढाउनु प्रमुख रणनीति हुनुपर्ने उल्लेख गरिन्। उद्योग, कृषि तथा सिँचाइ, विद्युतीय यातायात तथा घरायसी क्षेत्रमा इन्डक्सनलगायत विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ। विद्युत्‌को खपत बढाउन सके मुलुकको व्यापार घाटा घटाउन र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन सकिने उनको धारणा थियो।

भारत र बंगलादेशको बजारमा विद्युत्‌ व्यापार विस्तारको अवसर

नेपालको विद्युत्‌ क्षेत्र अब राष्ट्रिय सीमाभित्र मात्र सीमित नरहेको दवाडीको भनाइ थियो। भारतसँग विद्युत्‌ व्यापार निरन्तर विस्तार भइरहेको र बंगलादेशसँग पनि विद्युत्‌ व्यापारको नयाँ अध्याय सुरु भइसकेको उल्लेख गर्दै उनले नेपालको जलविद्युत्‌लाई दक्षिण एसियाली स्वच्छ ऊर्जा बजारसँग जोड्ने ऐतिहासिक अवसर सिर्जना भएको बताइन्।

यसका लागि अन्तरदेशीय प्रसारण संरचनाको सुदृढीकरण, विद्युत्‌ प्रणालीको विश्वसनीयता, व्यापारिक क्षमता वृद्धि तथा नियामकीय समन्वयलाई थप बलियो बनाउनुपर्ने उनको भनाइ छ।

‘अब प्राधिकरणको संरचना पनि समयअनुकूल बदलिनुपर्छ’

ऊर्जा क्षेत्रको आकार बढ्दै गएको, निजी तथा वैदेशिक लगानी विस्तार भइरहेको र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा प्राधिकरणको संरचना र कार्यप्रणालीमा पनि समयअनुकूल सुधार आवश्यक रहेको दवाडीले बताइन्। विगतका उपलब्धिलाई संरक्षण गर्दै भविष्यमा विकसित हुने प्रतिस्पर्धी विद्युत्‌ बजारका जटिल चुनौती सामना गर्न प्राधिकरणलाई थप ‘व्यवस्थापकीय, विशिष्टीकृत, पारदर्शी र कार्यसम्पादनमा आधारित संस्था’ बनाउनुपर्ने उनले बताइन्।

सुशासन र संस्थागत अनुशासनमा सम्झौता नगर्न आग्रह

दवाडीले प्राधिकरणका कर्मचारीलाई सुशासन र संस्थागत अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन्। नागरिकलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्न तथा उपभोक्ताका गुनासो यथाशीघ्र सम्बोधन गर्न कुनै किसिमको सम्झौता नगर्न उनले आग्रह गरिन्। उनले आगामी दिनका लागि प्राधिकरणका प्राथमिकता पनि स्पष्ट रहेको बताइन्।

उनका अनुसार गुणस्तरीय सेवा, समयबद्ध पूर्वाधार विकास, प्रणालीको विश्वसनीयता, आन्तरिक विद्युत्‌ खपत वृद्धि, छिमेकी मुलुकमा विद्युत्‌ व्यापार विस्तार, सुशासन, पारदर्शिता, वित्तीय दिगोपना तथा प्रविधिमैत्री र दक्ष जनशक्ति विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ।

दवाडीले प्राधिकरणको चार दशक लामो यात्रामा योगदान पुर्‍याउने पूर्व तथा वर्तमान नेतृत्व, सञ्चालक समिति, इन्जिनियर, प्राविधिक तथा कर्मचारीप्रति सम्मान व्यक्त गर्दै आगामी यात्रा अझ व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने बताइन्।

प्रकाशित मिति : सोमबार, भदौ ०१, २०८३ | १६:५९:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया