सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

फोहरमैला व्यवस्थापन विधेयक कार्यान्वयनमुखी बनाउन सांसद न्यौपानेको जोड

जलसरोकार
बिहीबार, असोज ०८, २०८३ | १५:३३:३७ बजे

काठमाडौं : सांसद इन्जिनियर श्रीराम न्यौपानेले फोहरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषयका रूपमा नभई जनस्वास्थ्य, वातावरण संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा फोहरमैला व्यवस्थापन विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा बोल्दै न्यौपानेले बढ्दो शहरीकरण र जनसंख्या वृद्धिसँगै फोहरको मात्रा बढिरहेको भए पनि त्यसअनुसार व्यवस्थापन प्रणाली प्रभावकारी बन्न नसकेको बताए।

जथाभावी फालिएको फोहरले मानव स्वास्थ्य, खानेपानीका स्रोत, वातावरण र प्राकृतिक सम्पदामा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै उनले स्रोतबाटै फोहर छुट्याउने, पुनः प्रयोग गर्ने र वैज्ञानिक रूपमा व्यवस्थापन गर्ने प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। “हामी नीति निर्माणमा जति सक्रिय छौँ, कार्यान्वयनमा त्यति नै प्रभावकारी हुन आवश्यक छ,” उनले भने। विधेयकलाई कार्यान्वयन र व्यवहारिक परिणामलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने उनको सुझाव थियो।

प्रस्तावित विधेयकमा पुरस्कार तथा जरिवानासहित दण्डको व्यवस्था गरिनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै न्यौपानेले जरिवाना प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताए।

डम्पिङ साइट होइन, प्रशोधन केन्द्र

न्यौपानेले परम्परागत रूपमा फोहर थुपार्ने प्रणालीबाट बाहिर निस्केर आधुनिक प्रविधिमा आधारित स्यानिटरी ल्याण्डफिल साइट, फोहर प्रशोधन केन्द्र, कम्पोस्ट तथा बायोग्यास प्लान्ट, फोहरबाट ऊर्जा उत्पादन, ढल व्यवस्थापन र डिजिटल व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने बताए।

स्थानीय तहलाई फोहर संकलन, प्रशोधन, ऊर्जा उत्पादन, ल्याण्डफिल साइट तथा आवश्यक पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार र स्थानीय तहसँगै नागरिक, समुदाय, निजी क्षेत्र तथा सहकारीको सहकार्य आवश्यक रहेको बताए।

घरबाटै कुहिने र नकुहिने फोहर छुट्याउने, सार्वजनिक स्थानमा फोहर नफाल्ने र प्लास्टिकको प्रयोग घटाउनेजस्ता व्यवहारिक अभ्यासलाई नागरिकको दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा उनले जोड दिए।

“सफा गाउँ, सुन्दर शहर केवल रहर होइन, राष्ट्रिय पहिचानको आधार हो,” उनले भने।

सफा वातावरणले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, लगानी आकर्षण र आर्थिक विकासमा योगदान पुर्‍याउने उनको भनाइ थियो।

डम्पिङ साइटलाई केवल फोहर थुपार्ने स्थानका रूपमा नभई फोहर छुट्याउने, प्रशोधन गर्ने र पुनः प्रयोग गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै न्यौपानेले फोहरलाई बोझ नभई अवसरका रूपमा लिनुपर्ने बताए।

उनले “फोहरलाई सही व्यवस्थापन गरौँ, फोहरबाट मोहर कमाऔँ” भन्ने अवधारणासहित सफा सडक, सफा बस्ती र सफा नदी निर्माणको अभियानमा फोहरमैला व्यवस्थापन विधेयक प्रभावकारी माध्यम बन्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : बिहीबार, असोज ०८, २०८३ | १५:३३:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया