सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बबई लिफ्टिङ आयोजना छिटो सक्न तुलसीपुरवासीको हारगुहार

जलसरोकार
बिहीबार, असोज ०८, २०८३ | १५:२५:५९ बजे

 

तुलसीपुर : तुलसीपुरवासीलाई गुणस्तरीय र शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले साढे तीन वर्षअघि सुरु गरिएको बबई लिफ्टिङ खानेपानी आयोजना अझै सम्पन्न हुन सकेको छैन। आयोजना समयमा पूरा नहुँदा तुलसीपुरका उपभोक्ता आधारभूत खानेपानी पाउने अधिकारबाटै वञ्चित हुनुपरेको छ।

तुलसीपुर उपमहानगरपालिका–६ की सुशीला भट्टराई एक वर्षदेखि घरको धारामा पानी नआउँदा समस्या भोग्दै आएको बताउनुहुन्छ। गुणस्तरीय खानेपानी पाउने कुरा त परै जाओस्, नियमित पानीसमेत उपलब्ध नहुँदा दैनिक जीवन प्रभावित भएको उनकाे गुनासो छ।

उपभोक्ता तथा सरसफाइ संस्थाको सहलगानीमा अघि बढाइएको बबई लिफ्टिङ खानेपानी आयोजना लामो समयदेखि अल्झिएपछि स्थानीयवासीले पटक–पटक खानेपानी संस्थामा पुगेर आयोजना छिटो सम्पन्न गर्न आग्रह गर्दै आएका छन्। तर, संस्थाबाट बबई लिफ्टिङ आयोजना सम्पन्न भएपछि मात्रै तुलसीपुरको खानेपानी समस्या समाधान हुने जवाफ पाउने गरेको भट्टराई बताउछन् । 

“गर्मीयाममा संस्थाले ट्याङ्करबाट निःशुल्क पानी वितरण गरे पनि साउनदेखि छिमेकी गाउँबाट पानी ल्याएर पिउनुपरेको छ,” उनले भने, “आयोजना समयमा पूरा नहुँदा घरमा सरसफाइ, शौचालय तथा अन्य कामका लागि आवश्यक पानी महँगो शुल्क तिरेर ट्याङ्करबाट ल्याउन बाध्य छौँ।”

यो समस्या सुशीलाको परिवारको मात्रै होइन। उहाँ बसोबास गर्ने टोलका करिब २५ घरपरिवार लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका छन्।

खानेपानी संस्थाको सहलगानीमा अघि बढिरहेको आयोजनामा पाइप जडान र एक दर्जनभन्दा बढी ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको छ। तर विद्युत् जडानलगायत केही महत्वपूर्ण काम अझै बाँकी रहेको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार बाँकी काम तीव्र गतिमा अघि बढे आगामी मङ्सिरको पहिलो सातासम्म आयोजना सम्पन्न गर्ने लक्ष्य छ।

२०७९ सालबाट सुरु गरिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। निर्धारित समयमा काम पूरा हुन नसकेपछि पुनः एक वर्ष म्याद थप गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

नेपाल सरकारको ७० प्रतिशत र खानेपानी उपभोक्ताको ३० प्रतिशत लगानी रहने गरी कुल ५६ करोड ८० लाख २४ हजार रुपैयाँको लागतमा आयोजना अघि बढाइएको हो।

आयोजना सम्पन्न भएपछि प्रतिसेकेन्ड एक सय लिटर पानी आपूर्ति हुने अध्यक्ष भण्डारीले बताउनुभयो। उहाँका अनुसार तुलसीपुरस्थित नयाँ बसपार्क, रानीजरुवा नगरपालिका–६ को रजौरालगायतका बस्तीमा बबईको पानी आपूर्ति गरिनेछ। आयोजना सञ्चालनमा आएपछि लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, खानेपानी संस्थाले पानीका मुहान संरक्षणमा समेत पहल थालेको जनाएको छ। संस्थाका उपाध्यक्ष नारायणप्रसाद शर्माका अनुसार मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरे क्षेत्रमा भइरहेको अनधिकृत प्राकृतिक स्रोत उत्खनन रोक्न तथा पानीका मुहान संरक्षण गर्न पहल भइरहेको छ।

 

प्रकाशित मिति : बिहीबार, असोज ०८, २०८३ | १५:२५:५९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया