डेढ दशकपछि परीक्षण उत्पादनमा पुग्यो राहुघाट जलविद्युत् आयोजना
जलसरोकार
म्याग्दी : निर्माण सुरु भएको करिब डेढ दशकपछि म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनको चरणमा पुगेको छ। ठेकेदारको समस्या, ठेक्का रद्द, आयोजना पुनःसंरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण लामो समयदेखि अल्झिएको ४० मेगावाट क्षमताको आयोजना अब विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको हो।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाका दुवै युनिटको परीक्षण सफल भएको छ। आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार २०–२० मेगावाट क्षमताका दुईवटै युनिटलाई पूर्ण क्षमतामा सञ्चालन गरी केन्द्रीय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति सुरु गरिएको छ।
“दुई वटै युनिटलाई पूर्ण क्षमतामा चलाएर केन्द्रीय प्रसारण लाइनमा जोडेका छौँ,” केसीले भन्नुभयो, “विद्युत् प्राधिकरणसँग भएको सम्झौताअनुसार १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु हुन्छ।”
आयोजनाबाट वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाले २०७५ चैतमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झीँको फेदीमा आयोजनाको बाँध निर्माण गरिएको छ। बाँधदेखि विद्युत्गृहसम्म छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्र्याउने पोखरी निर्माण भएका छन्। कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको छेउमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा विद्युत्गृह निर्माण गरिएको छ।
तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट र बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ। राहुघाटमा एउटा बेलिब्रिजसमेत निर्माण गरिएको आयोजना प्रमुख राजबहादुर बिष्टले जानकारी दिए ।
विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माण गर्नुका साथै कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न आवश्यक संरचना निर्माण गरिएको छ।
आइभिआरसिएलसँग सुरु भएको यात्रा
राहुघाट जलविद्युत् आयोजना निर्माणको यात्रा भने सहज रहेन। नेपाल विद्युत् प्राधिकरणले भारतीय निर्माण कम्पनी आइभिआरसिएलसँग २०६७ कात्तिक १८ गते दुई अर्ब ५० करोड रुपैयाँमा सिभिल निर्माणको ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार काम अघि बढेको भए आयोजनाले २०७० मै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य थियो।
तर कमजोर आर्थिक अवस्थाका कारण आइभिआरसिएलले अपेक्षाअनुसार काम गर्न सकेन। त्यसपछि प्राधिकरणले २०७२ मा उक्त कम्पनीसँगको ठेक्का रद्द गर्यो। ठेक्का रद्द हुँदासम्म पाँच वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति १२ प्रतिशतमा मात्रै सीमित थियो।
ठेक्का रद्दसँगै प्राधिकरणले आयोजनाको पुनःसंरचना गर्यो। सुरुमा ३२ मेगावाट क्षमतामा अघि बढाइएको आयोजनाको क्षमता बढाएर ४० मेगावाट पुर्याउने र कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरियो। आइभिआरसिएलसँगको ठेक्का रद्द गर्ने प्रक्रिया र त्यसपछिको कानुनी विवादले आयोजना निर्माणलाई थप समय लागे पनि यही निर्णय राहुघाटको निर्माण यात्राको महत्वपूर्ण मोड बन्यो।
कम्पनी मोडेलमा नयाँ सुरुआत
आइभिआरसिएलको ठेक्का रद्द भएपछि प्राधिकरणले २०७३ मा आफ्नो सहायक कम्पनीका रूपमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी आयोजना अघि बढायो। भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारूपमा आयोजना निर्माण अघि बढाइएको हो।
नयाँ प्रक्रियाबाट सिभिल निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मङ्सिर ६ गते करिब छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
जेपीले २०७५ असारदेखि पहुँचमार्ग निर्माण र २०७६ असार ८ गतेदेखि पिप्लेमा रहेको तेस्रो नम्बरको अडिटबाट मुख्य सुरुङ निर्माण सुरु गरेको थियो। लामो प्रयासपछि २०८१ साउन १५ गते राहुघाटको मुख्य सुरुङ जोडिएको थियो।
सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका व्यवस्थापक एमएस गौरका अनुसार कोरोना महामारी, बाढीपहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको हो।
आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारत सरकारको स्वामित्वमा रहेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।
‘राहुघाट म्याग्दीको जलविद्युत् विकासको प्रवेशविन्दु’
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटलाई जिल्लामा जलविद्युत् विकासको प्रवेशविन्दुका रूपमा लिइएको बताउनुभयो। जिल्लामा सरकारी लगानीमा निर्माण सुरु भएको यो पहिलो ठूलो जलविद्युत् आयोजना हो।
“राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेका छन्,” उनले भने, “ढिलै भए पनि डेढ दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको चरणमा पुगेको खबरले उत्साही भएका छौँ।”
डेढ दशकअघि ३२ मेगावाट क्षमतामा अघि बढेको राहुघाट अहिले ४० मेगावाट क्षमतामा परीक्षण उत्पादनको चरणमा पुगेको छ। लामो समयको निर्माण यात्रा, ठेक्का विवाद र विभिन्न अवरोध पार गर्दै आयोजना अब १५ दिनको परीक्षण उत्पादनपछि व्यावसायिक विद्युत् उत्पादनतर्फ अघि बढ्ने भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम कारोबार दिन नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो
-
फोहरमैला व्यवस्थापन विधेयक कार्यान्वयनमुखी बनाउन सांसद न्यौपानेको जोड
-
बबई लिफ्टिङ आयोजना छिटो सक्न तुलसीपुरवासीको हारगुहार
-
४१० मेगावाट प्रणालीबाहिर, हिउँद व्यवस्थापनमा प्राधिकरणको तयारी
-
डेढ दशकपछि परीक्षण उत्पादनमा पुग्यो राहुघाट जलविद्युत् आयोजना
-
देशभर बदली, कोशीदेखि लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना