काठमाडौँ– नेपालले लगानी सम्मेलनको आयोजना गरेको होटल सोल्टीको मञ्चमा आइतबार प्रमुख अतिथिका रुपमा उपस्थित थिए प्रधानमन्त्री पुष्पकमल दाहाल र उनीसँगै बसेका संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा । मञ्चमै थिए मुलुकको अर्थतन्त्रको इन्जिनका रुपमा रहेको निजी क्षेत्रका प्रतिनिधि पनि । अनि हालमा उपस्थित थिए सबै राजनीतिक दलका नेता, ५० भन्दा बढी देश तथा दातृ निकाय एवं राष्ट्रका सहभागी । यी सहभागी र प्रतिनिधिबीच नेपालको एउटै आवाज आयो, ‘नेपालमा लगानीको राम्रो वातावरण छ, लगानीका लागि नेपाल उचित गन्तव्य हो । आउनूहोस्, लगानी गर्नूहोस् र मुनाफा लैजानूहोस् ।’
विश्व समुदायमाझ यसरी राष्ट्रको एउटै आवाज र उद्देश्य मुखरित भएको थियो ।
आइतबारको यस सम्मेलनमा सक्रिय रुपमा सहभागी थिए हाम्रा छिमेकी मुलुक भारत र चीन तथा अमेरिकाकी सरकारका प्रतिनिधिहरु । अर्थतन्त्रको क्षेत्रका विश्वका ५० भन्दा बढी देशका दुई हजारभन्दा बढी व्यक्ति उपस्थित यस मञ्चबाट नेपाल लगानीका लागि उचित गन्तव्य हो भन्ने एउटै राष्ट्रिय आवाज र सन्देश विश्वव्यापी पुगेको छ । यतिमात्र नभएर यही मञ्चबाटै विश्व बैङ्क, एसियाली विकास बैङ्कबाट समेत नेपालमा लगानीका प्रशस्त सम्भावना रहेका र यहाँ लगानी गरेर प्रतिफल लिन सकिने आशयको अपिल सार्वजनिक हुनु पनि यस कार्यक्रमको अर्को सकारात्मक सन्देश हो ।
मुलुकको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले चैतको अन्तिम साता यही स्थानमा आयोजना गरेको वार्षिक साधारणसभामा सबै राजनीतिक दलका नेताहरु आमन्त्रित थिए । पूर्वप्रधानमन्त्रीहरु र प्रायः सबै राजनीतिक दलका नेताहरु सो कार्यक्रममा उपस्थित थिए । सो कार्यक्रमको ‘थिम’ थियो, ‘मुलुकको अर्थतन्त्र सङ्कटबाट बाहिर ननिस्किसकेकाले यसलाई उकास्नका लागि आवश्यक पर्ने आर्थिक ‘एजेन्डा’ तथा नीतिमा देशका सबैै राजनीतिक दलको राष्ट्रिय सहमति आवश्यक छ । आफ्ना राजनीतिक एजेन्डा तथा नीति र घोषणापत्रहरु आफ्नै एवं अलग रहे पनि आर्थिक एजेन्डा सबै दलको एउटै होस्, आर्थिक विकासको उद्देश्यमा सबैको साझा आवाज होस् ।’
त्यो आशय र आग्रह आइतबार नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा थप मुखरित हुन पुगेको छ ।
नेपालमा लगानी भित्र्याई अर्थतन्त्रलाई थप सबलीकरण गर्ने सवालमा आइतबार नेपालको एउटै आवाज थियो । प्रधानमन्त्री, संसद्मा प्रतिपक्षी दलका नेता र निजी क्षेत्रका प्रतिनिधिहिरुले नेपालमा लगानीको वातावरण रहेको र यहाँ लगानी गर्न आउने विदेशी समुदायलाई नेपालले सक्दो सहजीकरण गर्ने बताएबाट विश्वमै नेपालको एउटै आवाजसहितको सकारात्मक सन्देश गएको छ । यो राष्ट्रिय एकताले विदेशी समुदायलाई नेपालमा रहेका लगानीका असीमित सम्भावनाहरुप्रति आकर्षित गराउन पक्कै पनि सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।
आइतबार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा रहेका अपार सम्भावना र अवसरका केन्द्रमा रहेर यहाँ लगानी गर्न स्वदेश र विदेशका लगानीकर्तालाई आह्वान गरे । उनले यहाँ लगानीको वातावरण रहेको सुनिश्चतता दर्शाउँदै भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीरहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो । सरकार लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा लागेको छ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला रहेका स्पष्ट गर्दै भने, ‘नेपालका पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिमा बढी सम्भावना रहेको छ । यहाँ लगानीको वातावरण र उचित प्रतिफल लिन सकिने अवस्था छ ।’
नेपालको समग्र निजी क्षेत्रले यस पटकको लगानी सम्मेलनमा राम्रैसँग होस्टेमा हैँसे गर्यो । निजी क्षेत्र यो सम्मेलनको सहआयोजकका रुपमा रहेको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले विगतमा नेपालको निजी क्षेत्र मुलुकको अर्थतन्त्र सञ्चालन गर्ने इञ्जिन भएको दाबी गर्दै आएकामा यो सम्मेलनले यस धारणाको पुष्टि गरेको र नेपालको अथतन्त्रको इञ्जिन मुलुकको निजी क्षेत्र हो भन्ने कुरा स्थापित भएको बताए ।
विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गर्दै उनले भने, ‘नेपालमा लगानीका अपार सम्भावना छन् । म त नेपालमा सम्भावना नै सम्भावना देख्छु । आउनूहोस्, लगानीमा साझेदारी र सहकार्यका लागि हामी तयार छौँ ।’
वास्तवमा विश्वका ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिका कारण पनि यहाँको लगानीले बजारको समस्या त्यति झेल्नुपर्दैन । नेपालमा कामदारकै अवस्थाको खोजी गर्ने हो भने पनि यहाँ काम गर्ने उमेरको जनशक्ति धरै छ, त्यसैले पनि सजिलो छ । दुई ठूला छिमेकीको बजारबाट पनि नेपालको बजार, पर्यटन र श्रम बजार क्षेत्रले राम्रो फाइदा लिन सक्छ ।
मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपालले यो तेस्रो पटक लगानी सम्मेलनको आयोजना गरेको हो । यस सम्मेलनमा विभिन्न क्षेत्रका करिब डेढ सय परियोजना प्रस्तुत गरिएको थियो । सम्मेलनमा प्रस्तुत यी परियोजनामा अहिले नै कुनै परिणाम ननिस्केको भए पनि लगानीकर्ताका सम्भावना खुलै रहेकाले यसमाथि आगामी दिनमा विचार विमर्श भइनै रहन्छ ।
‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट–२०२४’ नाम दिइएको यस सम्मेलनमा विदेशी सहभागीको सङ्ख्या उल्लेख्य रह्यो । करिब आठ सय विदेशी र चार सय नेपाली लगानीकर्ताले यस सम्मेलनमा सहभागिता जनाउनुले आगामी दिनमा लगानीका थप सम्भावनाहरु उजागर हुनसक्ने आशा भने बढाएको छ ।
सरकारले सम्मेलनको मुखमै अध्यादेशमार्फत नै कानुनमा सुधार तथा संशोधन गरेको छ । यसबाट पनि विदेशी तथा स्वदेशी लगानीकर्तालाई वातावरण निर्माणका लागि सरकार सहजीकरण गर्न प्रयत्नशील रहेको सन्देश गएको छ । यस अवसरमा नेपालमा लगानीका क्षेत्रहरुको पहिचान, यसका लागि आवश्यक पर्ने वातावरणको मूल्याङ्कन र अपेक्षित मुनाफाका लागि बजार पहिचानका प्रयत्नहरु पनि राम्रैसँग उजागर हुन सकेका छन् ।
यति हुँदाहुँदै पनि यो समय भनेको विगतलाई फर्केर हेर्ने अवसर पनि हो । यो तेस्रो सम्मेलनमा भइरहँदा पहिलो र दोस्रो लगानी सम्मेलनका उद्देश्य, अपेक्षित लाभ र अपेक्षाकृत लाभ लिन नसक्नुका कारणको खोजी पनि यसै अवसरमा गर्नु राम्रो हुन्छ । विगतको यो पाटोको समीक्षाले भोलिको बाटो तय गर्न सघाउ पुग्नेछ । यथोचित समीक्षा गर्दा राम्रै हुन्छ । हिजो पनि खर्बौं रुपैयाँका लगानीका आश्वासन आएका थिए । त्यसबमोजिम नेपालमा लगानी आएको देखिएको नदेखिएकाले त्यसका कारण खोजेर निराकरण गर्न सकिएमा यतिखेरका प्रतिबद्धताहरु खेर नजालान् ।
वास्तवमा नेपालमा लगानीका लागि उचित वातावरण नभएको होइन तर कागजी रुपमा रहेका व्यवस्थाहरुलाई सरलीकृत गरेर लगानीमैत्री बनाउनुपर्छ । नीति, नियम र कानुनमा सरकार सदैव निजी क्षेत्रकै साथमा देखिन्छ तर निजी क्षेत्र भने सधैँ सरकारी नीतिमा रहेका प्रावधानको कार्यान्वयन हुन नसकेको, सरकारी निकायहरुकै बीचमा आवश्यक तालमेल र समन्वय नुहँदा एउटै कामका लागि कैयौँ फाइल बोकेर कैयौँ सरकारी निकायको ढोकामा पुग्नुपरेको तथा अहिले महामारीले थला पारेको अर्थतन्त्रलाई आडभरोसा दिन सम्बद्ध निकाय सहयोगी बन्न नसकेको गुनासो गरिरहेको हुन्छ ।
यस्ता विषयवस्तुहरुलाई पनि कसरी सहजीकरण गर्ने भन्ने बारेमा यतिखेर समीक्षा गर्दा फलदायी नै हुनेछ । निजी क्षेत्र त्यसैले पनि नीति हुनु र वातावरण हुनुमा फरक देख्दछ । यी दुई बीचको खाडल घटाउने र अवाश्यकताअनुरुप पुर्ने काम पनि यसैबेला गर्दा राम्रो हुनेछ ।
अहिले मुलुकको अर्थतन्त्र सङ्कुचनमा परेको अवस्था छ । कोभिड महामारीपछि विश्वकै अर्थतन्त्रमा लागेको कालो बादल विस्तारै हट्दै त छ तर आकाश खुलिसकेको भने छैन । अघिकै लयमा फर्किसकेको अवस्था भने छैन । अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट उकास्न सरकार र निजी क्षेत्र मिलेर थालेका प्रयासहरुको केही सकारात्मक परिणाम देखिएका कारण आर्थिक अवस्थाको सुधारका आशा पलाएका पनि छन् ।
देशका विभिन्न क्षेत्रमा सटर बन्द भइरहेका, व्यवसायीहरु पलायन भइरहेका समाचार आइरहँदा अहिले निजी क्षेत्रलाई हौसला चाहिएको अवस्था छ । यस्तो अवस्थामा आयोजित यो लगानी सम्मेलनले देशभित्र उद्यमशीलताको विकास गर्न तथा स्वदेशी र विदेशी लगानीका प्रतिबद्धता र सुनिश्चितताले आर्थिक गतिविधिलाई थोरै भए पनि चलायनमान बनाउन सक्छ । लगानी सम्मेलनले दिएको यो पनि एउटा सकारात्मक सन्देश हो ।
मुख्य कुरा त यस सम्मेलनका सहभागी लगानीकर्ता, सरोकारवाला र देशको निजी क्षेत्रले पहिचान गरी किटानीसाथ व्यक्त गरेका लगानीका अवरोधहरुलाई हटाउन र सहजीकरणको मार्ग प्रशस्त गर्न सरकारका सम्बद्ध निकायहरु नै लाग्नुपर्छ । यसबाट आगामी दिनमा अघि बढ्न सहज हुनेछ र यसैगरी आयोजना हुने लगानी सम्मेलनमा अपेक्षित लगानी भित्र्याउन सजिलो पर्नेछ । रासस
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का