सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको माटो थुपार्दा नदी कटान र पहिरो बढेको स्थानीयको गुनासो

जलसरोकार
शुक्रबार, असार २६, २०८३ | ११:०५:०७ बजे

 

म्याग्दी : धवलागिरि गाउँपालिका–७ स्यानखण्ड क्षेत्रमा म्याग्दी नदीको कटान र पहिरोको समस्या बढ्दै गएको भन्दै स्थानीयवासीले अपर म्याग्दी–१ जलविद्युत् आयोजनालाई जिम्मेवार ठहर गरेका छन्। ५३.५ मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत्‌गृह निर्माणस्थलबाट निकालिएको माटो तथा सुरुङ उत्खननबाट निस्किएको मकिङ (गेगर) नदी किनारमा थुपारिएकाले नदीले धार परिवर्तन गरी खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको स्थानीयको आरोप छ।

विद्युत्‌गृह निर्माणस्थल म्याग्दी नदीको दायाँ किनारमा मालिका गाउँपालिका–७ को क्षेत्रमा पर्दछ। स्थानीय जग्गाधनी गजबहादुर थापाका अनुसार आयोजनाले पूर्वसहमति र अनुमति बिना नदी किनारमा माटो तथा मकिङ थुपारेपछि नदीको बहाव परिवर्तन भई बायाँ किनारमा रहेको करिब १८ रोपनी जमिन पहिरो र कटानको चपेटामा परेको छ।

थापाले केराको बगैँचा र पाखोबारीमा ठूलो क्षति पुगेको बताउँदै आयोजनालाई लामो समयदेखि जथाभावी माटो नफाल्न आग्रह गरे पनि बेवास्ता गरिएको गुनासो गरे। उनका अनुसार बर्खायाममा नदीको सतह बढ्न थालेसँगै कटान र पहिरोको समस्या थप जटिल बनेको छ।

स्थानीयवासीका अनुसार जगबहादुर र यामबहादुर थापाको स्वामित्वमा रहेको केराखेती तथा उत्तिसको निजी वन नदी कटानका कारण बगिसकेको छ। भारवाङका थमन जुग्जालीले आयोजनाले वातावरणीय मापदण्डको पालना नगरी नदीमा माटो तथा मकिङ फाल्ने गरेकाले बाढीको आयतन बढेर तटीय क्षेत्रमा जोखिम बढेको बताए । 

उनले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएका माटो तथा मकिङको सुरक्षित व्यवस्थापनसम्बन्धी शर्तहरू कार्यान्वयन नभएको दाबी गर्नुभयो। सुरुङ उत्खननबाट निस्किएको बारुदयुक्त मकिङका कारण म्याग्दी नदीका माछालगायत जलचरसमेत प्रभावित भएको स्थानीयको भनाइ छ।

भारवाङका दलबहादुर जुग्जालीले सुरुङ र पहुँचमार्गबाट बगेर आएको लेदोसहितको पानी खेतीयोग्य जमिनमा पस्दा बाली नष्ट भएको गुनासो गर्नुभयो। स्थानीयवासीले वातावरणीय तथा सामाजिक असर न्यूनीकरण, सडक स्तरोन्नति, धुलो र हिलो व्यवस्थापनलगायत विषयमा पटकपटक ध्यानाकर्षण गराए पनि प्रभावकारी सुनुवाइ नभएको बताएका छन्।

यता आयोजनाले भने प्रभावित क्षेत्रका जग्गाधनीसँग क्षतिपूर्ति तथा संरक्षणका विषयमा छलफल भइरहेको जनाएको छ। आयोजना प्रमुख ज्योतिकुमार केसीले आयोजनास्थल नजिक भएका कारण केही असर परेको स्वीकार गर्दै सम्पूर्ण क्षति आयोजनाकै कारण भएको निष्कर्षमा पुग्न नसकिने बताए । 

“कटानको जोखिम भएका स्थानमा संरक्षण गर्ने र क्षति पुगेका जग्गाका विषयमा जग्गाधनीसँग सहमतिको प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा क्षति नहोस् भन्नेमा आयोजना संवेदनशील छ।”

प्रवर्द्धक कम्पनी अपर म्याग्दी हाइड्रोपावरका वरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले वातावरणीय प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए । उनका अनुसार स्थानीय तहको समन्वयमा सञ्चालन हुने सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि ६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

घलेले म्याग्दी नदीमा अन्य जलविद्युत् आयोजना पनि सञ्चालन तथा निर्माणको क्रममा रहेकाले बाढीको आयतन वृद्धि हुनुमा अपर म्याग्दी–१ आयोजना मात्र जिम्मेवार नरहेको दाबी गर्नुभयो। सडक मर्मत, धुलो तथा हिलो व्यवस्थापनजस्ता विषयमा अन्य आयोजनासँग समेत सहकार्य आवश्यक रहेको उनकाे भनाइ छ।

विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माणाधीन उक्त आयोजना ११ अर्ब २३ करोड २७ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको छ। धवलागिरि गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीमा १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ भने तीनवटा पानी थिग्र्याउने पोखरी पनि निर्माणाधीन छन्।

आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ। आयोजनाबाट वार्षिक औसत ३१५.१ गिगावाट घण्टा विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : शुक्रबार, असार २६, २०८३ | ११:०५:०७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया