सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवामा भीषण बाढीको असर १३ जलविद्युत् आयोजनामा, ७४८ मेगावाट क्षमता प्रभावित

जलसरोकार
बुधबार, भदौ १०, २०८३ | १४:०६:०७ बजे

 

काठमाडौं : रसुवामा बुधबार आएको भीषण बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १३ वटा विद्युत् आयोजना प्रभावित भएका छन्। नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनामध्ये आठ वटा सञ्चालनमा रहेका र पाँच वटा निर्माणाधीन अवस्थामा छन्।

प्राधिकरणका अनुसार बाढीबाट प्रभावित सञ्चालनमा रहेका आठ आयोजनाको कुल क्षमता ३५४ मेगावाट छ। त्यस्तै निर्माणाधीन पाँच आयोजनाको कुल क्षमता ३९४ मेगावाट रहेको छ। यसरी बाढीबाट प्रभावित विद्युत् आयोजनाको कुल क्षमता ७४८ मेगावाट पुगेको छ।

रसुवा जिल्लामा सञ्चालनमा रहेका प्रमुख आयोजनामध्ये २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा–भोटेकोशी, ६.४२ मेगावाटको माथिल्लो मेलुङ–ए, ७८ मेगावाटको सान्जेन खोला, २० मेगावाटको लाङटाङ खोला र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्।

बाढीको प्रभाव छिमेकी नुवाकोट जिल्लाका जलविद्युत् आयोजनामा समेत परेको छ। नुवाकोटमा सञ्चालनमा रहेका प्रमुख आयोजनामा २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’, १५.६ मेगावाटको मिडल त्रिशूली गङ्गा तथा २५ मेगावाटको सौर्य आयोजना रहेका छन्।

प्राप्त विवरणअनुसार नुवाकोटमा सञ्चालनमा रहेका चार जलविद्युत् आयोजनाको कुल क्षमता १२३ मेगावाट रहेको छ। त्यस्तै माथिल्लो त्रिशूली–३ ‘बी’ को ३७ मेगावाट र मिडल त्रिशूली गङ्गाको १५.६ मेगावाट आयोजना निर्माणाधीन अवस्थामा छन्। यी दुई आयोजनाको कुल क्षमता ५२.६ मेगावाट रहेको छ।

बाढीका कारण विद्युत् आयोजनाका बाँध, विद्युत्गृह, पहुँचमार्ग, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। केही आयोजनाको उत्पादन तथा प्रसारणसमेत प्रभावित भएको प्राधिकरणले जनाएको छ।

यद्यपि, प्राधिकरणले सार्वजनिक गरेको विवरण प्रारम्भिक भएकाले बाढीबाट भएको वास्तविक क्षतिको पूर्ण विवरण भने स्थलगत अध्ययनपछि मात्रै यकिन हुने जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै विद्युत् पूर्वाधारको अवस्थाबारे समेत अध्ययन भइरहेको छ।

रसुवामा आएको बाढीले विद्युत् उत्पादनदेखि प्रसारणसम्मका महत्वपूर्ण संरचनामा क्षति पुर्‍याएपछि त्यसको असर राष्ट्रिय विद्युत् प्रणालीमा समेत पर्न सक्ने देखिएको छ। क्षतिग्रस्त संरचनाको अवस्था तथा पुनःस्थापनाका लागि लाग्ने समयबारे विस्तृत अध्ययनपछि मात्रै यकिन हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : बुधबार, भदौ १०, २०८३ | १४:०६:०७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया