रसुवाको बाढीपछि ऊर्जा मन्त्रालय सक्रिय, उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकता
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन गरी उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
बुधबार बिहान बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्री श्रेष्ठले मन्त्रालयमा वरिष्ठ व्यवस्थापन समूह (एसएमटी)को बैठक बोलाएर घटनाको प्रारम्भिक अवस्थाबारे जानकारी लिएका थिए । बैठकमा उनले विपद्मा परेका कर्मचारी, मजदुर तथा स्थानीय बासिन्दाको उद्धार तथा पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।
मन्त्री श्रेष्ठले गृह मन्त्रालयलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल संयन्त्र परिचालन गर्नसमेत निर्देशन दिएका छन् । उनले विपद्सम्बन्धी सूचना व्यवस्थित र शीघ्र प्रवाह गर्न मन्त्रालय सक्रिय रहनुपर्ने बताउँदै ऊर्जा तथा अन्य भौतिक पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी पुनःस्थापनाका काम अघि बढाउन निर्देशन दिएका हुन् ।
काठमाडौं उपत्यकासहित देशभर विद्युत् आपूर्तिलाई नियमित, सुरक्षित र दिगो बनाइराख्न आवश्यक वैकल्पिक तथा आकस्मिक व्यवस्थाका लागि तयारी गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
कर्मचारी र स्थानीयको उद्धारमा समन्वय
बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा स्थानीय बासिन्दाको अवस्था पहिचान गरी उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले उद्धार कार्यका लागि सात वटा सवारीसाधन प्रभावित क्षेत्रमा पठाइसकेको छ भने थप १४ वटा सवारीसाधन तयारी अवस्थामा राखिएको छ। हवाई उद्धारका लागि समेत आवश्यक समन्वय भइरहेको प्राधिकरणले जनाएको छ।
उद्धार तथा समन्वयका लागि मन्त्रालयका सहसचिवसमेत प्रभावित क्षेत्रमा खटिनुभएको छ।
रसुवाका आठ जलविद्युत् आयोजना प्रभावित
मन्त्रालयका अनुसार बाढीका कारण रसुवामा सञ्चालनमा रहेका पाँच तथा निर्माणाधीन तीन गरी आठ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।
प्रभावित आयोजनाको विवरण यस्तो छ :
| क्र.सं. | आयोजना | अवस्था | क्षमता |
|---|---|---|---|
| १ | माथिल्लो त्रिशूली–१ | सञ्चालनमा | — |
| २ | रसुवागढी | सञ्चालनमा | — |
| ३ | रसुवा–भोटेकोशी | सञ्चालनमा | — |
| ४ | साञ्जेन खोला | सञ्चालनमा | — |
| ५ | माथिल्लो मैलुङ ‘ए’ | सञ्चालनमा | — |
| ६ | मैलुङ खोला | निर्माणाधीन | — |
| ७ | लाङटाङ खोला | निर्माणाधीन | — |
| ८ | चिलिमे | निर्माणाधीन | — |
सञ्चालनमा रहेका पाँच आयोजनाको कुल क्षमता २३६ मेगावाट र निर्माणाधीन तीन आयोजनाको कुल क्षमता ३४२.४२ मेगावाट रहेको मन्त्रालयले जनाएको छ।
नुवाकोटका छ आयोजना पनि प्रभावित
बाढीको असर नुवाकोटका जलविद्युत् आयोजनामा समेत परेको छ। नुवाकोटमा सञ्चालनमा रहेका चार तथा निर्माणाधीन दुई गरी छ वटा आयोजना प्रभावित भएका छन्।
सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १२३ मेगावाट र निर्माणाधीन आयोजनाको कुल क्षमता ५२.६ मेगावाट रहेको छ।
| क्र.सं. | आयोजना | अवस्था | क्षमता |
| १ | त्रिशूली | सञ्चालनमा | २४ मेगावाट |
| २ | देवीघाट | सञ्चालनमा | १४.१ मेगावाट |
| ३ | माथिल्लो त्रिशूली–३ ‘ए’ | सञ्चालनमा | ६० मेगावाट |
| ४ | २५ मेगावाट सौर्य आयोजना | सञ्चालनमा | २५ मेगावाट |
| ५ | माथिल्लो त्रिशूली–३ ‘बी’ | निर्माणाधीन | ३७ मेगावाट |
| ६ | मिडल त्रिशूली गङ्गा | निर्माणाधीन | १५.६ मेगावाट |
विद्युत् आपूर्ति नियमित गर्न प्राविधिक टोली परिचालन
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत् प्राधिकरणले प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ। प्रभावित संरचनाको अवस्था मूल्याङ्कन गर्दै सम्भव भएसम्म विद्युत् सेवा तत्काल पुनःस्थापना गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकासहित देशभर विद्युत् आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक तथा आकस्मिक व्यवस्थासमेत तयारी अवस्थामा राखिएको छ।
दुई लाखभन्दा बढी एसएमएस अलर्ट
बाढीको जोखिमबारे तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना उपलब्ध गराउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाएको छ।
यद्यपि, बाढीका कारण केन्द्रले जडान गरेका गेज स्टेसनलगायत केही संरचनामा समेत क्षति पुगेकाले थप जोखिमसम्बन्धी सूचना प्रवाहमा कठिनाइ उत्पन्न भएको मन्त्रालयले जनाएको छ।
निजी जलविद्युत् आयोजनाको क्षतिको विवरण सङ्कलन हुँदै
मन्त्रालयले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)सँग समेत छलफल गरी बाढीबाट जलविद्युत् आयोजनामा भएको क्षति, प्रभावित जनशक्तिको उद्धार तथा आयोजना पुनःस्थापनाबारे जानकारी लिएको छ।
छलफलमा निजी क्षेत्रका आयोजनाको क्षतिको विवरण शीघ्र सङ्कलन गर्ने तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय अघि बढाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रभावित आयोजनाको विस्तृत क्षति विवरण सङ्कलन तथा प्राविधिक मूल्याङ्कन सम्बन्धित निकायबाट भइरहेको छ। क्षतिको यथार्थ विवरण प्राप्त भएपछि पुनःस्थापनाका लागि आवश्यक कार्ययोजना सार्वजनिक गरी अघि बढाइनेछ।
क्षतिको समग्र विवरण सङ्कलन तथा मूल्याङ्कनका लागि योजना महाशाखाका सहसचिवको संयोजकत्वमा समिति समेत गठन गरिएको मन्त्रालयले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह
-
रसुवाको बाढीपछि ऊर्जा मन्त्रालय सक्रिय, उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकता
-
रसुवा बाढीको असर शेयर बजारमा, जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट
-
भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति
-
रसुवामा भीषण बाढीको असर १३ जलविद्युत् आयोजनामा, ७४८ मेगावाट क्षमता प्रभावित
-
तिब्बतबाट आएको भोटेकोशी बाढीले विद्युत् प्रणालीमा ठूलो धक्का, ४३० मेगावाट बिजुली विच्छेद