रसुवा बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा क्षति
जलसरोकार
काठमाडौं : रसुवामा बुधबार आएको भीषण बाढीले नेपाल विद्युत् प्राधिकरणका विभिन्न जलविद्युत् केन्द्र तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा क्षति पुगेको छ। यस्तै, त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनमा समेत बाढीले क्षति पुर्याएको छ।
बाढीका कारण त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचनासमेत प्रभावित भएका छन्। विद्युत् उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गर्दै विद्युत् आपूर्ति यथाशीघ्र नियमित गर्न आवश्यक काम अघि बढाइरहेको जनाएको छ। आपूर्ति नियमित नहुन्जेल उपभोक्तालाई धैर्य गर्नसमेत आग्रह गरिएको छ।
बाढीले विद्युत् संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ। क्षतिको विस्तृत विवरण भने सङ्कलन भइरहेको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ। बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
त्यसैगरी, प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
रसुवामा यसअघि पनि बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको थियो। पछिल्लो बाढीले पुनः ऊर्जा पूर्वाधारमा असर पारेपछि विद्युत् उत्पादनदेखि प्रसारण र वितरण प्रणालीसम्म प्रभावित हुने जोखिम बढेको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य