भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिन सरकार र सुरक्षा निकायसँग आग्रह गरेको छ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बुधबार जारी गरेको विज्ञप्तिमा बाढीले मानव बस्ती, जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको उल्लेख छ। बाढीबाट प्रभावित तथा बेपत्ता सर्वसाधारण, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र विद्युत् आयोजनामा कार्यरत कामदारको तत्काल खोजी तथा उद्धार गर्न इप्पानले आग्रह गरेको छ।
इप्पानले उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक सङ्घसंस्था तथा सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै विपद्को यस घडीमा ऊर्जा उत्पादकहरूको संस्था प्रभावित समुदाय तथा विद्युत् क्षेत्रसँगै रहेको जनाएको छ।
९०० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित
इप्पानका अनुसार प्रारम्भिक विवरणमा त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जनौँ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ।
विशेषगरी नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवर्क्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्री तथा अन्य भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको इप्पानले जनाएको छ।
| जिल्ला | अवस्था | प्रभावित आयोजना | कुल क्षमता |
|---|---|---|---|
| रसुवा | सञ्चालनमा | ५ | २३६ मेगावाट |
| रसुवा | निर्माणाधीन | ३ | ३४२.४२ मेगावाट |
| नुवाकोट | सञ्चालनमा | ४ | १२३ मेगावाट |
| नुवाकोट | निर्माणाधीन | २ | ५२.६ मेगावाट |
| जम्मा | — | १४ | ७५४.०२ मेगावाट |
इप्पानका अनुसार रसुवामा सञ्चालनमा रहेका पाँच जलविद्युत् आयोजनाको कुल क्षमता करिब २३६ मेगावाट र निर्माणाधीन तीन आयोजनाको क्षमता करिब ३४२.४२ मेगावाट छ। त्यस्तै नुवाकोटमा सञ्चालनमा रहेका चार आयोजनाको क्षमता करिब १२३ मेगावाट तथा निर्माणाधीन दुई आयोजनाको क्षमता करिब ५२.६ मेगावाट रहेको छ।
सबस्टेसनमा क्षति हुँदा अन्य आयोजना पनि प्रसारणबाट विच्छेद
बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा समेत क्षति पुगेको इप्पानले जनाएको छ। सबस्टेसनमा भएको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय आयोजना पनि राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन्।
इप्पानले प्रभावित आयोजनामा कार्यरत तथा बाढीका कारण फसेका सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेको छ।
त्यस्तै प्रभावित आयोजनाका प्रवद्र्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण तथा साधनसहित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुन इप्पानले अनुरोध गरेको छ।
पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकता दिन आग्रह
बाढीबाट क्षतिग्रस्त विद्युत् आयोजना तथा प्रसारण संरचनाको यथाशीघ्र क्षति मूल्याङ्कन, पुनर्निर्माण र विद्युत् प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन इप्पानले सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ।
क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण र प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नसमेत इप्पानले माग गरेको छ।
इप्पानले निजी क्षेत्रका छाता सङ्गठन, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई प्रभावित नागरिक तथा विद्युत् आयोजनाको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न आह्वान गरेको छ।
क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने
इप्पानले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको क्षतिको विस्तृत विवरण सङ्कलन तथा अभिलेखीकरणको कामसमेत अघि बढाउने जनाएको छ।
विपद्को तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा सबै सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको इप्पानको भनाइ छ।
इप्पानले बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बेपत्ता नागरिक तथा कामदारको शीघ्र सकुशल उद्धार र घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह
-
रसुवाको बाढीपछि ऊर्जा मन्त्रालय सक्रिय, उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकता
-
रसुवा बाढीको असर शेयर बजारमा, जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट
-
भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति
-
रसुवामा भीषण बाढीको असर १३ जलविद्युत् आयोजनामा, ७४८ मेगावाट क्षमता प्रभावित
-
तिब्बतबाट आएको भोटेकोशी बाढीले विद्युत् प्रणालीमा ठूलो धक्का, ४३० मेगावाट बिजुली विच्छेद