सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवा बाढीको असर शेयर बजारमा, जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट

जलसरोकार
बुधबार, भदौ १०, २०८३ | १६:३५:५७ बजे

 

काठमाडौं : रसुवामा आएको आकस्मिक बाढीको प्रभाव बुधबारको शेयर बजारमा देखिएको छ। बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको समाचार सार्वजनिक भएपछि नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीहरूको शेयरमूल्यमा उच्च गिरावट आएको हो।

यस दिन रसुवागढी हाइड्रोपावर कम्पनी र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य करिब १३ प्रतिशत घटेको छ।

बुधबार माथिल्लो मैलुङ खोला जलविद्युत्को शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ। बाढीबाट सम्बन्धित आयोजनाको भौतिक संरचनामा क्षति पुगेको समाचारले लगानीकर्तामा कम्पनीको उत्पादन, आम्दानी र भविष्यको वित्तीय अवस्थाबारे चिन्ता बढाएको देखिएको छ।

नेप्से ३५.९२ अंकले घट्यो

जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आउँदा समग्र नेप्से परिसूचकसमेत ३५.९२ अंकले घटेको छ। बुधबार नेप्से २५५८.३५ विन्दुमा झरेर बन्द भएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ६.०० अंक, फ्लोट इन्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०९ अंकले घटेका छन्।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब १० करोड ९७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ३४८ स्टकको ६१ हजार ४४२ पटकको कारोबारबाट ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यस दिन १ करोड ३५ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ।

सर्वोत्तम पेन्ट्समा सकारात्मक सर्किट

समग्र बजार तथा अधिकांश जलविद्युत् कम्पनीको शेयरमूल्य घटे पनि सर्वोत्तम पेन्ट्सको शेयर भने लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कम्पनीको शेयरमूल्य १५८ रुपैयाँ २० पैसा बढेर १ हजार २१२ रुपैयाँ ९० पैसा पुगेको छ। त्यस्तै, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि करिब साढे १० प्रतिशतले बढेको छ।

चिलिमेमा सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा बुधबार चिलिमे हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको २० करोड ५६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब १९ करोड ५० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने साहस ऊर्जाको कारोबार रकम १६ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

१३ वटै उपसमूह घटे

बुधबार नेप्सेका १३ वटै उपसमूहका परिसूचक घटेका छन्। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९० प्रतिशतले घटेको छ।

त्यस्तै, जलविद्युत् उपसमूहको परिसूचक करिब ३ प्रतिशतले घटेको छ। वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहका परिसूचकसमेत १ प्रतिशतभन्दा बढीले घटेका छन्।

रसुवामा आएको बाढीले जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेकाले प्रभावित कम्पनीहरूको उत्पादन तथा वित्तीय अवस्थामा पर्ने वास्तविक असर भने आगामी दिनमा थप स्पष्ट हुने देखिएको छ।

प्रकाशित मिति : बुधबार, भदौ १०, २०८३ | १६:३५:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया