सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

डलर पीपीएमा चम्किएको खिम्ती, अहिले १ करोड ३२ लाख रुपैयाँ घाटामा

खिम्तीको प्रतियुनिट खुद नाफा मात्रै ९.८१ रुपैयाँ र स्वपुँजी प्रतिफल (RoE) ४९ प्रतिशतसम्म थियो ।

जलसरोकार
आइतबार, चैत ०१, २०८२ | १४:३८:११ बजे

काठमाडौं : एमाले र नेपाली का‌ंग्रेस मिलेर अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गराइएको  खिम्ती-१ जलविद्युत् (६० मेगावाट) काे प्रवर्द्धक हिमाल पावर कम्पनीकाे नाफा हरेक वर्ष करिब साढे तीन अर्ब रुपैयाँ हुने गर्थ्यो । यस हिसाबमा खिम्तीका लगानीकर्ताहरुकाे स्वपुँजी प्रतिफल (रिटर्न अन इक्वीटी) ४९ प्रतिशतसम्म हुन्थ्यो । 

सन् २०१८/१९ तिर हिमाल पावरले करिब ३५ करोड युनिट वार्षिक उत्पादनबाट ३४३.२७ करोड रुपैयाँ खुद नाफा कमाएको देखिँदा, औसत खुद नाफा प्रतियुनिट झण्डै ९.८१ रुपैयाँ पर्न जान्थ्यो । यस्तो प्रतिफल दर विश्वमै छैन ।

हिमाल पावरमा जम्मा १६.६८ प्रतिशत शेयर लगानी गरेको बीपीसीले उक्त वर्ष ५५ करोड ६५ लाख रुपैयाँ लाभांश प्राप्त गरेको थियो । 

बुटवल पावर कम्पनी (बीपीसी) को सन् २०१९ को वार्षिक प्रतिवेदनमा हिमाल पावरले रु ३ अर्ब ४३ करोड २७ लाख खुद नाफा कमाएको, प्रति शेयर आम्दानी (ईपीएस/EPS) रु १९४.६ रहेको र प्रति शेयर किताबी मूल्य (बुक भ्यालु/Book Value) रु ३९४.५ पुगेको देखिन्छ। 

तर खिम्तीको डलर पीपीए ११ जुलाई २०२० मा समाप्त भयो। त्यसपछि परियोजना नेपाली रुपैयाँमा आधारित नयाँ/अन्तरिम दर व्यवस्थातर्फ गयो, तर स्थायी नयाँ पीपीए दरबारे एनईए र प्रवर्द्धकबीच सहमति लामो समयसम्म जुटेन।

यसपछि अहिले त्यही खिम्ती-१ (६० मेगावाट) बाट घाटामा झरेको तस्वीरमा देखिएको छ।  बीपीसीकै पछिल्लो प्रतिवेदनमा यही कम्पनी १ करोड ३२ लाख ७० हजार रुपैयाँ घाटामा, ईपीएस ऋणात्मक ०.७५ रुपैयाँ मा र प्रतिशेयर खुद सम्पत्ति २४७.९९ रुपैयाँमा खुम्चिएको छ। डलर पीपीएमा चम्किएको कम्पनी डलर सुविधा हराएपछि र प्रतियुनिट २ रुपैयाँको अन्तरिम पीपीए दरमा सीमित हुँदा खिम्तीको वित्तीय चमक कति तीव्र रूपमा फिका पर्न सक्छ भन्ने संकेत यो तुलना आफैंले दिएको छ।

खिम्ती-१ नेपालकै निजी क्षेत्रबाट विकसित पहिलो जलविद्युत् आयोजनामध्ये एक हो। हिमाल पावरको वेबसाइटअनुसार यो आयोजना बुट-ओन-अपरेट-ट्रान्सफर (BOOT) मोडलमा बनाइएको हो, कम्पनी सन् १९९३ मा स्थापना गरिएको थियो, निर्माण १९९६ मा सुरु भयो र आयोजना ११ जुलाई २००० देखि व्यावसायिक सञ्चालनमा गयो। यही आयोजना नेपालमा निजी क्षेत्र र विदेशी लगानीको जलविद्युत् मोडलको एउटा प्रतीक पनि बनेको थियो। हिमाल पावरले खिम्ती-१ लाई आफ्नै स्वामित्व तथा सञ्चालनमा राख्दै नेपाल विद्युत् प्राधिकरणलाई बिजुली बिक्री गर्दै आएको हो।

खिम्तीको वित्तीय यात्राको मोड बुझ्न यसको पुरानो पीपीए संरचना बुझ्नैपर्छ। प्राधिकरण र हिमाल पावरबीचको पीपीए १५ जनवरी १९९६ मा भएको थियो र त्यसको अवधि ११ जुलाई २०२० मा सकिएको थियो। खिम्तीको डलर पीपीए भएका कारण  विदेशी मुद्रा विनिमयको सम्पूर्ण जोखिम प्राधिकरणको थाप्लामा हालिएको थियो । 

बीपीसीको सन् २०१९ को वार्षिक प्रतिवेदन अंशले ‘त्यो सुनौलो चरण’ झल्काउँछ। त्यतिबेला हिमाल पावरको खुद नाफा ३ अर्ब ४३ करोड २७ लाख रुपैयाँ थियो, खुद सम्पत्ति (नेट वर्थ) ६ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ थियो र प्रतिशेयर आम्दानी (ईपीएस)  १९४.६ रुपैयाँ पुगेको थियो। अहिलेको विवरणमा भने खुद नाफा सिधै १ करोड ३२ लाख ७० हजार रुपैयाँ घाटामा पुगेको छ, खुद सम्पत्ति ४ अर्ब ३७ करोड ४९ लाख ३० हजार रुपैयाँमा झरेको छ। उपलब्ध दुई प्रतिवेदन अंशको तुलनाले देखाउँछ कि हिमाल पावरको खुद सम्पत्ति करिब ३७ प्रतिशतले घटेको छ, जबकि नाफा असाधारण उचाइबाट प्रत्यक्ष घाटामा पल्टिएको छ। यसले खिम्तीको पुरानो आम्दानी मोडल र अहिलेको अन्तरिम व्यवस्थाबीचको अन्तर कति ठूलो छ भन्ने देखाउँछ।

खिम्तीको अर्को मूल गाँठो भने पीपीएपछिको संरचना हो। खिम्ती-१ को ५० प्रतिशत स्वामित्व सन् २०२० जुलाई ११ देखि प्राधिकरणमा जानुपर्ने थियो, तर नयाँ विद्युत् खरिददरमा सहमति नजुट्दा त्यो हस्तान्तरण अझै टुंगोमा पुगेको छैन। प्राधिकरण र प्रवर्द्धक पक्ष नयाँ दरमा सहमत हुन नसक्दा पाँच वर्षभन्दा बढी समयसम्म पनि हस्तान्तरण रोकिएको छ। अर्थात्, खिम्तीले पुरानो डलर पीपीए गुमायो, तर त्यसपछिको स्थिर र व्यवसायिक रूपमा व्यवहार्य मोडल पनि समयमै पाएन। यही संक्रमणले वित्तीय परिणाममा सीधा असर पारेको देखिन्छ।

पीपीए समाप्तिपछिको विकल्प खोज्न हिमाल पावरले परियोजना टोली बनाएको थियो ।  यसले २०२० पछि खिम्तीको प्रश्न केवल “उत्पादन” को मात्र नभई “नयाँ दरमा नयाँ ढाँचा” को रहेको पुष्टि गर्छ। पुरानो डलर-आधारित संरचना सकिएपछि आयोजना कसरी चल्ने, कस्तो दरमा बिजुली बेच्ने, र स्वामित्व कसरी पुनर्संरचना गर्ने भन्ने प्रश्न लामो समयदेखि अनिर्णित रहँदा खिम्तीको वित्तीय प्रदर्शन कमजोर हुन गएको देखिन्छ।

पछिल्ला वर्षका कर्पोरेट घटनाक्रमले पनि यो परियोजना अझै पुनर्संरचनाकै चरणमा रहेको देखाउँछन्। स्ट्याटक्राफ्ट (Statkraft) ले सेप्टेम्बर २०२५ मा जारी गरेको विज्ञप्तिमा आफ्नो ५७ प्रतिशत र इभिनी (Eviny) को २६ प्रतिशत हिस्सा बुटवल पावरलाई बेच्ने सहमति भएको उल्लेख गरेको छ। उक्त कारोबार पूरा भए बुटवल पावर हिमाल पावरको १०० प्रतिशत मालिक बन्ने बताइएको थियो। यसले देखाउँछ, खिम्ती केवल पीपीए र दर विवादमै होइन, स्वामित्व पुनर्संरचनाको ठूलो प्रक्रियामै थियो।

 

प्रकाशित मिति : आइतबार, चैत ०१, २०८२ | १४:३८:११ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया