के देशभरका एलपी ग्यासलाई बिजुलीले विस्थापन गर्न सम्भव छ ?
विकास थापा
जनगणना, २०२१ अनुसार काठमाडौं उपत्यकाको कुल जनसंख्या २९ लाख ९६ हजार ३ सय ४१ छ । घरधुरीमा रहेका व्यक्तिको औसत संख्या काठमाडौंमा ३.७५, ललितपुरमा ३.८९ र भक्तपुरमा ३.९७ छ । उपत्यकामा कुल अनुमानित घरधुरी करिब ७ लाख ८७ हजार छ । अब उपत्यकामा यो जनसंख्यालाई बिहान–बेलुकी विद्युतीय चुल्होमा खाना पकाउँदा कति बिजुली लाग्छ र कति एलपी ग्यास विस्थापन हुन्छ, यो तथ्यांक हेरौं ।
एक सिलिण्डर घरायसी एलपी ग्यास सिलिण्डर १४.२ केजीको हुन्छ । मुख्य ‘कुकिङ फ्यूल’ को रुपमा चलाउँदा एउटा सिलिण्डर औसतमा ६ सातामा सकिन्छ । यसअनुसार प्रतिघरधुरी प्रतिदिन एलपी ग्यास ०.३३८ केजी खपत हुन्छ । उपत्यकाका कुल ७ लाख ८७ हजार घरधुरीका लागि प्रतिदिन २ लाख ६६ हजार एलपी ग्यास खपत हुन्छ । यो भनेको उपत्यकामा मात्रै प्रतिदिन २६६ टन अर्थात् १८ हजार ७ सय सिलिण्डर खपत हुन्छ । यो तथ्यांकचाहिं केवल ‘खाना पकाउन’ मात्र हो ।
यसमा दिउँसोको खाना÷चिया, स्न्याक्स, तातोपानी लगायत पूर्ण कुकिङ भन्दा कम हो । जनगणनाअनुसार शहरी क्षेत्रमा एलपी ग्यास प्रयोग गर्ने घरधुरी ५३.३ प्रतिशत छ । त्यही अनुपातमा उपत्यकामा लागू भयो र एलपी ग्यास प्रयोग गर्नेले नियमित पकाउँछन्ं भनेर मोटामोटी मान्दा पूर्ण कुकिङका आधारमा प्रतिदिन २६६ टन र त्यसको ५३.३ प्रतिशत घरधुरीले ग्यास प्रयोग गर्छन् भने प्रतिदिन ९५ टन भयो । अर्थात् काठमाडौं उपत्यकामा बिहान–बेलुकी खाना पकाउन मात्र एलपी ग्यास खपत प्रतिदिन करिब १७७ टनदेखि २६६ टन (१२ हजार ५ सय सिलिण्डरदेखि १८ हजार ७ सय सिलिण्डरसम्म) लाग्ने देखिन्छ ।
अब यो एलपी ग्यासलाई बिजुलीमा रुपान्तरण गर्ने हो भने कति बिजुली आवश्यक पर्छ, त्यो हेरौं ।
एक सिलिण्डरको तौल १४.२ केजी हुँदा यसको औसत ऊष्मा मान (क्यालोरिफिक भ्यालु्) ५६ मेगाजुल प्रतिकेजी हुन्छ । एक युनिट (किलोवाट घण्टा) बिजुली बराबर ३.६ मेगाजुल हुन्छ । यसअनुसार ऊर्जामा रुपान्तरण गर्दा एक केजी ग्यासमा १२.८ युनिट (४६÷१२.८) बराबरको बिजुली हुन्छ । एक सिलिण्डर ग्यासमा १८२ युनिट (१४.२ह्१२.८) हुन्छ । अब १८ हजार ७ सय सिलिण्डरमा ३४ लाख ३ हजार ४ युनिट (१८,७००ह्१८२) बिजुली हुन्छ । अर्थात् प्रतिदिन ३.४ गिगावाट घण्टा बिजुली खपत हुन्छ ।
अब यसलाई मेगावाटमा रुपान्तरण गर्ने हो भने १४२ मेगावाट (३,४०३,४००÷२४) हुन्छ । यहाँ एउटा महत्वपूर्ण पक्ष के छ भने एलपी ग्यास चुलोको ऊर्जात्मक दक्षता (इफिसेन्सी फ्याक्टर) ५५ देखि ६० प्रतिशत मात्रै हुन्छ भने विद्युतीय चुलो (इण्डक्शन) को यस्तो दक्षता ८५ देखि ९० प्रतिशत हुन्छ । त्यसैले विद्युतीय चुलोको उच्च दक्षताका कारण दैनिक १२० मेगावाटदेखि १२५ मेगावाटसम्म विद्युत् आवश्यक पर्छ ।
बिजुलीले एलपी ग्यास आयात कति घटाउँछ ?
दैनिक १८ हजार ७ सय सिलिण्डरलाई विद्युतीय चुलोले विस्थापित ग¥यो भने प्रतिदिन २६५.५ टन एलपी ग्यास विस्थापन हुन्छ । वार्षिक रुपमा भन्ने हो भने ९६ हजार ९ सय टन हुन्छ । गत साउनदेखि पुस महिनासम्म २७ करोड ४८ लाख केजी ग्यास आयात भएको रहेछ । यो भनेको २७ अर्ब ४ करोड रुपैयाँ बराबरको हो । अर्थात् एक केजी ग्यासको मूल्य ९८.४ रुपैयाँ परेको रहेछ । अघिल्लो वर्षको पहिलो आठ महिनाको तथ्यांक (वीरगञ्ज भन्सारबाट) हेर्दा २१ करोड केजी (यसको कुल लागत २४ अर्ब ५ करोड रुपैयाँ) आयात भएको रहेछ । यसको प्रतिकेजी लागत ११४.५ रुपैयाँ पर्दाेरहेछ । अब यो एलपी ग्यासलाई बिजुलीले विस्थापन गर्ने हो भने आयात बचत प्रतिकेजी लागत ९८.४ रुपैयाँका हिसाबले वार्षिक ९ अर्ब ५४ करोड रुपैयाँ र प्रतिकेजी लागत ११४.५ रुपैयाँका हिसालबे वार्षिक ११ अर्ब १० करोड रुपैयाँ हुने रहेछ । यो केवल आयात मूल्यको मात्र हिसाब हो ।
अब देशैभर कति ग्यास खपत हुन्छ ?
आर्थिक वर्ष २०८१÷८२ को पहिलो ११ महिना नेपालमा ५ लाख ६ हजार ६ सय ७९ टन (५० करोड ६६ लाख केजी) आयात गरेको देखिन्छ । वार्षिक आयात अनुमान भने ५ लाख ५० हजार टन हुनेछ रहेछ । अब ११ महिनाको आयात हेर्दा ३ करोड ५७ लाख (५०६,६७९,००केजी÷१४.२ केजी प्रतिसिलिण्डर) सिलिण्डर आयात भएछ । ११ महिनालाई ३ सय ३५ दिन मान्दा प्रतिदिन १ लाख ७ हजार सिलिण्डर (३ करोड ५७ लाख सिलिण्डर÷१४.२ केजी प्रतिसिलिण्डर) हुन्छ । अर्थात् नेपालभरि अहिले प्रतिदिन औसत १ लाख घरेलु सिलिण्डर बराबरको ग्यास खपत भइरहेको देखिन्छ ।
यदि देशभर प्रयोग हुने घरेलु सिलिण्डरलाई जलविद्युत्ले विस्थापित गर्ने हो भने वार्षिक ५४ अर्ब देखि ६३ अर्ब रुपैयाँ बराबरको विदेशी मुदा जोगिने रहेछ । यसलाई बिजुलीमा रुपान्तरण ग¥यो भने वार्षिक ७ अर्ब ६ करोड युनिट बिजुली खपत हुने रहेछ । यो भनेको करिब ६ सय मेगावाट बराबरको बिजुली हो । दैनिक रुपमा हेर्दा एक करोड १० लाख युनिट (बिजुली) देखि १ करोड ५० लाख युनिटसम्म खपत हुने रहेछ ।
६ सय मेगावाट बिजुली वर्षैभरि उपलब्ध गराउन विशेष गरी नदी प्रवाही (आरओआर) वाला आयोजनाका हकमा कति मेगावाटको जडित क्षमता हुनुपर्छ, त्यो हेरौं ।
वर्षायाममा त ६ सय मेगावाटको विद्युत् गृह छ भने त्यति नै बिजुली उत्पादन हुन्छ । तर तनावको कुरा के छ भने हिउँदयाममा ६ सय मेगावाटको प्लान्टले ३३ देखि ३४ प्रतिशत मात्र बिजुली उत्पादन गर्छन् । ३३ प्रतिशत मात्र बिजुली उत्पादन हुन्छ भन्ने हो १८१८ मेगावाट बिजुली चाहिन्छ । अब यदि हिउँदयाममा पनि ५० प्रतिशत बिजुली उत्पादन हुन्छ भनियो भने जम्मा १२ सय मेगावाटको जडित क्षमता भए पुग्छ । तर अहिले मौसम परिवर्तनका कारण २५ प्रतिशतभन्दा बढी बिजुली उत्पादन हुँदैन । त्यस आधारमा हेर्ने हो भने अनवरत रुपमा बिजुलीमा भात पकाउन २४ सय मेगावाट बिजुली चाहिन्छ ।
विद्युत् प्राधिकरणको प्रणालीले धान्दैन
एकछिनलाई मानौं । हामीले देशभर खाना पकाउने घरायसी ग्यास विस्थापन गर्न चौबीसै घण्टा ६ सय मेगावाट बिजुली तयार ग¥यौं । प्राधिकरणको केन्द्रीय प्रसारण (उत्पादन र प्रसारण) भन्दा मुख्य समस्या (बोटलनेक) वितरणको हो ।
कुरा सुरु गरौं, काठमाडौं उपत्याकाबाट । माथि नै भनिसकियो कि उपत्यकामा कुकिङ लोड १२० देखि १४० मेगावाट छ (तर कुकिङ बेस लोड होइन) । बिहान ६ देखि ९ र बेलुकी पनि ६ देखि ९ मै भात पकाउने अर्थात् पिक लोड हुन्छ । सबैले एकसाथ विद्युतीय चुलो बाले भने अतिरिक्त पिक लोड २५० मेगावाटदेखि ३ सय मेगावाटसम्म पुग्छ । अब असली समस्या कहाँनेर छ भने ११ केभी÷४०० भोल्ट को वितरण लाइनमा । अधिकांश घरमा ५ देखि १० एम्पियरका सिंगल फेज छन् । तिनका कन्ट्र्याक्टेड लोड (स्वीकृत भार क्षमता) १ देखि २ किलोवाट छ । तर विद्युतीय चुल्होको मात्रै १.८ देखि २.२ किलोवाट बिजुली खपत हुन्छ । साथमा राइस कुकर, केट्ली, हिटर, फ्रिज, वाशिङ मेसिन आदि । यस्तोमा घरभित्रै ओभरलोड हुन्छ र एमसीभी झर्छ (फ्यूज जान्छ) ।
अर्काेतर्फ, ट्रान्सफर्मरको क्षमता हेरौं । शहरी ट्रान्सफर्मर १०० देखि २०० केभीएका छन् । ती ट्रान्सफर्मरहरुले ४० लेखि ७० घरसम्म धानिरहेका छन् । यदि ५ घरलाई २ किलोवाट कुकिङ लोड चाहिन्छ भने सय किलोवाटको क्षमता हुनुपर्छ । बेलुकी अझ बत्तीसमेत बाल्दा थप ४० देखि ६० किलोवाट चाहिन्छ । यसबाट ट्रान्सफर्मर ओभर लोडेड हुन्छ र धमाधम पड्कन थाल्छन् (भारतले लगाएको नाकाबन्दीताका पड्केजस्तो) ।
अनि अर्काे समस्या छ— ‘लो भोल्टेज नेटवर्क’ । पुराना तार (आल्मुनियम), भोल्टेज ड्रप, ओभर हिटिङ, प्राविधिक चुहावट बढ्ने र लगातार फ््यूज झर्ने ।
यदि, स्वीकृत लोड क्षमता बढाउने (प्रतिघर न्यूनतम ३ देखि ५ किलोवाटसम्म खपत गर्न सक्ने), ट्रान्सफर्मरको क्षमता बढाउने (एक सय केभीएको छ भने २५० केभीए बनाउने), प्रतिघर ट्रा्रन्सफर्मर संख्या घटाउने, ११ केभीको फिडरलाई अलग तुल्याउने, स्मार्ट मिटर राख्ने र अनिवार्य रुपमा उच्च दक्षता भएका विद्युतीय चुलो मात्र प्रयोग गर्न दिने गरियो भने असम्भव छैन । तर आजको प्राधिकरणसँग भएको पूर्वाधारले धान्दैन । यसका लागि प्राधिकरणसँग अहिले नै ‘बिजुली उत्पादन’ र ‘उच्च भोल्टेज प्रसारण’ क्षमता छ भने मात्र सम्भव होला । तर काठमाडौं उपत्यकाका सबै घरमा एकैचोटि विद्युतीय चुलोमा भात पकाउने उपक्रम लागू गर्न वर्तमान वितरण प्रणाली पर्याप्त छैन । यो सम्भव हुनका लागि ५ देखि ७ वर्षको योजनाबद्ध ‘विद्युत् वितरण पूर्वाधार स्तरोन्नति’ अनिवार्य हुन्छ । यसका लागि फेरि पनि चाहिन्छ उही अर्थात् पैसो । जसका अभावले नै नेपाल गरिब छ ।
अब समस्या अर्काे पनि छ
एलपी ग्यास विस्थापन गर्न बिजुलीको जोहो गरियो भने हिउँदयाममा २४ सय मेगावाट बिजुली ‘स्ट्याण्ड बाइ’ राख्नुपर्ने रहेछ । तर भान्छामा त चौबीसी घण्टा खपत हुँदैन । अरु बेलामा त्यो बिजुली कहाँ खपत गराउने ? त्यही भएर विद्युतको प्रणालीमा पिकिङ अर्थात् जलाशययुक्त आयोजना चाहिन्छ भन्नुको कारण यही हो । सबैले एकसाथ (बिहान–बेलुका) भात पकाउने भएकाले पिकिङ इनर्जी चाहिन्छ । भान्छाबाहेक पनि बिजुली खपत (उद्योगधन्दा आदि) गराउन सकियो भने ६ सय मेगावाटका लागि २४ सय मेगावाटको जडित क्षमता स्थापना गरेको औचित्पूर्ण हुन्छ । अब बिजुली उत्पादन गर्ने र यही खपत गर्ने हो भने मात्र देश विकास हुन्छ भनेर त्यसै भनिएको होइन । यहाँ त उत्पादन पनि छैन (हिउँदयाममा) खपत पनि छैन । वर्षायाममा खेर फाल्नु परेको छ । यसको सीधा अर्थ हुन्छ राज्य आर्थिक मामिलामा पूर्णतः फेल छ । बिजुली उत्पादन र खपत गराउन राजनीतिक दलका नेताका नियत सफा हुनुपर्छ । ‘डेलिभर’ गर्न सक्ने हुनुपर्छ ।
आशा यति मात्र गर्न सकिन्छ, आगामी निर्वाचन मार्फत देशले गतिलो नेता पायो भने यी कुरा असम्भव भने छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री श्रेष्ठले सार्वजनिक गरे ऊर्जा क्षेत्रको संरचनात्मक सुधारका लागि ३२ बुँदे सुधार योजना
-
मनसुनपूर्व तयारी : बाढी–जोखिम न्यूनीकरणका लागि २४ सै घण्टा पूर्वसूचना प्रणाली सक्रिय
-
सेयर बजारमा गिरावट, नेप्से ३३ अंकले घट्यो
-
नारायणी सिँचाइ : जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
-
ऊर्जा क्षेत्र सुधारका लागि चारवटा विधेयक बनाउँदै ऊर्जा मन्त्रालय
-
सुनचाँदीको मूल्यमा निरन्तर उकालो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?