जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

वीरेन्द्र तालमा हिउँ पहिरो गयो वा ताल फुट्यो !

बूढीगण्डकी नदी आसपास सतर्कता अपनाउन आग्रह

जलसरोकार
आइतबार, वैशाख ०९, २०८१ | १५:५३:४० बजे

 

काठमाडौँ : गोरखाको वीरेन्द्र तालमा आइतबार बिहानदेखि अचानक अत्यधिक पानी थपिँदै गएपछि तालको निकास बिन्दुबाट पानी बाहिर बगिरहेको छ। अत्यधिक मात्रामा बाहिर बगेको पानी बुढीगण्डकी नदीमा पसेपछि सतह बढेको छ। दुर्घटनाको आशङ्कामा नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्क गराइएको छ।

हिमताल विशेषज्ञ र जलवायुको प्रवृत्तिबारे जानकारहरूले वीरेन्द्र तालमा पानीको मात्र बढ्नुको कारण हिम पहिरो झरेको मानिरहेका छन्। उनीहरूको प्रारम्भिक विश्लेषण अनुसार, पहिलादेखि नै रहेका हिमताल र हिउँ पग्लेपछि बन्ने गरेका तालको प्रकृति फरक हुन्छ। 

 

 

वीरेन्द्र ताल हिमताल हो। आइतबार यसमा थपिएको अत्यधिक पानी हिउँ पग्लेर थपिएको हो। यो मौसम हिउँ पग्लिने मौसम भएकाले यसलाई अस्वाभाविक मान्न नसकिने भए पनि हिउँ कसरी पग्लियो भन्ने पक्ष भने विश्लेषण हुनुपर्ने उनीहरूको भनाइ छ ।

हिम पहिरो विज्ञ सुदीप सिंह ठकुरीले वीरेन्द्र ताललाई हिमताल नै भएको  बताउँदै ताल क्षेत्र वरिपरिको भिरालो जमिन र खोँचमा सतहभित्र पानी पसेर हिउँ जमेर बसेको जमिनको ठुलो ढिक्का तालमा खसेको हुनसक्ने अड्कल काटे। 

यतिबेला सुर्खेत पुगेका ठकुरीले आफू पनि जिज्ञासापूर्वक वीरेन्द्र तालको घटनाको थप विवरण जान्न आतुर रहेको बताए। ठकुरीका अनुसार, तापक्रम बढ्दै जाने मौसम भएकाले हिउँ पग्लिनु अनौठो नभए पनि हिउँ जमेर बसेको जमिनको ठुलो हिस्सा नै खसेको हो भने यो फरक विषय भएको बताए। 

जलवायु विशेषज्ञ ङमीन्द्र दाहाल जलवायु परिवर्तनपछि तापक्रमको नियमित सन्तुलन खलबलिएकाले हिउँ पग्लिने प्रवृत्ति फेरिएको बताउँछन्।  

हिमताल र हिउँ झरेपछि जमेर बनेको ताल फरक हो भन्दै दाहाल ताल फुटको नभएर अचानक थपिएको पानी भरिएर बाहिर बगेको हुनसक्ने बताउँछन्।

बूढीगण्डकी नदी आसपास सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालमा हिम पहिरो गएपछि बूढीगण्डकी नदी किनार र आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा आज जारी सूचनामा २४ घण्टासम्म नदीमा पानीको बहावको जोखिम कायम रहनसक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।​ 

चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ को सामागाउँस्थित मनास्लु हिमालमा बिहान ९ बजेको आसपासमा हिम पहिरो वीरेन्द्र तालमा झरेको थियो । त्यसपछि ताल फुटेपछि नदीमा पानीको बहाव बढेको थियो ।
‘हिमालबाट अचानक झरेको हिम पहिरोले तालको पानी विस्थापन हुन गई नदीमा पानीको बहाव बढ्न गएको छ', जारी सूचनामा भनिएको छ,’यो क्रम २४ घण्टासम्म रहनसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिन्छ ' 

नदीमा पानीको बहाव बढेपछि चुमनुब्री गाउँपालिका विभिन्न स्थानसहित धार्चे गाउँपालिकाको तातोपानी, माछीखोला बजार, आरुघाट गाउँपालिकाको सोती बजार, आरुघाट बजार, भीमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकाको केही क्षेत्रहरू बाढीको जोखिम बढेको हो ।

याे पनि: हिमपहिरोले फुट्यो वीरेन्द्र ताल, बूढीगण्डकीमा बाढीको चेतावनी

यसरी राखियो नाम

गोरखाको उत्तरमा अवस्थित छ वीरेन्द्र ताल । पदयात्रामा जाँदा मनास्लु क्षेत्रमा पर्ने यो ताल आन्तरिक र विदेशी पर्यटकको रोजाइमा पर्ने गन्तव्य पनि हो । यही मार्गको सामागाउँ नजिक छ वीरेन्द्र ताल । समुद्र सतहबाट ३ हजार ६ सय ९१ मिटर उचाइमा रहेको यो ताल विसं २०३४ सालमा तत्कालीन राजा वीरेन्द्रको सवारीपछि गाउँलेले उनकै सम्मानमा तालको नामकरण गरिदिए, ‘वीरेन्द्र ताल’ । यसअघि यो तालको नाम थियो ‘यमछो’ । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा यो क्षेत्रको अवलोकनमा गएका थिए, गाउँलेले उनको मानखातिर स्थानीय पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ भनेर नामै राखिदिए ।

प्रकाशित मिति : आइतबार, वैशाख ०९, २०८१ | १५:५३:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया